‘लकडाउन’मा तितरवितर परिवार भन्छन् – फेरि भेट कसो नहोला र !

 चैत १५, २०७६ शनिबार १६:२०:४२ | दीपा तिमल्सिना
unn.prixa.net

काठामाण्डौ - आपत् विपद्मा सबैले सम्झने घर र परिवार नै हो । सँगै भए जसरी पनि बसौँला भन्दै काठामाण्डौ उपत्यकामा बसेका धेरै जना यो विपद्को बेला परिवार र घर सम्झँदै गाउँ  गएका छन् । तर यही बीचमा केही परिवार भने बिछोडिएका छन् । सरकारले घोषणा गरेको ‘लकडाउन‘मा उनीहरु ‘लक’ भएका छन् । 

कामको सिलसिला वा कुनै काम विशेषले घरपरिवारबाट टाढा पुगेकाहरु फर्किन पाएनन् । अप्ठ्यारो पर्यो, अब एक रात यतै बसेर जाउँला नि भन्दै आफन्तकोमा बसेकाहरु अझै घर फर्किन पाएका छैनन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढेपछि सरकारले गएको मङ्गलबारदेखि ‘लकडाउन’को घोषणा गर्यो । कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढिरहेकोले ‘लकडाउन’को समय थपिने सम्भावना छ । त्यसैले घरपरिवारबाट टाढा बस्नेहरुको मन थप कुँडिएको छ । 

हरेक दिनझैँ श्रीमान् र चार वर्षको छोरालाई भरे छिट्टै आउँछु है भन्दै घरबाट काममा आएकी काठामाण्डौ काभ्रेस्थलीकी रञ्जना घिमिरे चार दिनपछि बल्ल घर फर्किन सक्नुभयो । काठमाण्डौको माछापोखरीमा रहेको एउटा सुपरमार्केटमा काम गर्ने उहाँले सोमबार राति घर फर्किने गाडी पाउनु भएन । तर चक्रपथमा गाडी चलेको थियो । 

एकै रात त हो नि, भोलि बिहान सबैरै फर्किन्छु भन्दै घिमिरे चक्रपथको गाडी चढेर दाजुभाउजुको घर कलङ्की ढुङ्गेअड्डा जानुभयो । अबेरै भएपनि दाजुभाउजुको घर आइपुगे भन्दै उहाँ दङ्ग पर्नुभयो । तर केही क्षणमा नै निचोरिएको कागतीजस्तो उहाँको अनुहारको रङ्ग उड्यो । ‘बिहान सबेरै गाडी पाइहालिन्छ नि भनेर यता आएको बर्बाद भयो । अब कसरी घर जानु ?’ उहाँले भन्नुभयो  । 

‘लकडाउन’पछि कार्यालय बन्द भयो । तर चार वर्षीय छोराको आँखाले उहाँकै बाटो हेरिरह्यो । एक दिन, दुई दिन जसोतसो गरी बित्यो । छोरा र श्रीमान्लाई भेट्ने व्यग्रता झनै बढ्दै गयो । त्यसैले चार दिनपछि कलङ्कीदेखि चारघण्टाको दूरीमा रहेको घर उहाँले हिँडेरै फर्किनुभयो । 

मकवानपुर घर भई कामको सिलसिलामा धादिङ बस्ने शर्मिला कार्की भने अझै घर फर्किन पाउनुभएको छैन । छोरी भेट्न भनेर ललितपुरको हरिसिद्धी पुगेकी उहाँ त्यही ‘लक’ हुनुभयो । 

हरिसिद्धीदेखि धादिङसम्म हिडेर जाने आँट छैन । दैनिक ज्यालादारीमा काम गर्ने उहाँका श्रीमान् धादिङमा एक्लै छन् । ‘आफू त छोरीसँगै छु, उता बुढा एक्लै छन्, के खाए, कसरी बसिरहेका छन्, त्यही चिन्ताले सताएको छ,’ शर्मिलाले भन्नुभयो । 

स्कुल छुट्टी भएपछि दुःख दिई भन्दै सात वर्षकी छोरीलाई दिदीकोमा छोडेर आउनुभएकी नैकापकी अनिता भण्डारीको चिन्ता पनि उस्तै छ ।  ‘केही दिनको लागि भनेर छोरी छोडेर आएँ, फोन गरेर लिन आउँ भन्छिन्, कसरी जानु,’ उहाँ भन्नुहुन्छ ।

यि प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै जना अहिले परिवारसँग छुट्टिएका छन् । आफन्त र अरुको घरमा ‘लक’ भएका उनीहरु कोरोना भाइरससँग जोगिन आफू सचेत भएपनि परिवार कस्तो अवस्थामा होला भन्ने चिन्तामा छन् । 

काठमाण्डौ पनि कोरोनाको उच्च जोखिममा परेपछि अहिले यहाँ सबैजसो घरभित्रै छन् । आफन्त र परिवारका सदस्यको मायाले सताएपनि भइपरी आउने जोखिमले उनीहरु बाहिर निस्कन चाहँदैनन् । उनीहरु भन्छन्, ‘अहिले जहाँ छौँ, जस्तो अवस्थामा छौँ, परिवारलाई सम्झेर सुरक्षित बस्यौँ भने फेरि भेट कसो नहोला र !’

अन्तिम अपडेट: फागुन ३०, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया