‘लकडाउन’को मारमा गाईका बाच्छाबाच्छी र कुकुर

 चैत १६, २०७६ आइतबार २०:३५:१२ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसबाट बच्न घोषणा गरिएको ‘लकडाउन’का कारण मानव आश्रित प्राणीलाई पनि समस्या पर्न थालेका छन् ।

शहरी क्षेत्रमा आश्रय लिइरहेका बाँदर, कुकुर तथा बाच्छाबाच्छी चरम सङ्कटमा परेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । 

‘लकडाउन’का कारण मानिसको आवतजावत नहुँदा कसैले दाना नदिँदा पशुपति क्षेत्रलगायत ठाउँमा रहेका परेवा, बाँदर, सडकमा छाडा छोडिएका गाईका बाच्छाबाच्छी, कुकुर लगायत जीवजन्तु सङ्कटमा परेका हुन् ।

गोठाटारमा सडकमा छाडिएका गाईबाच्छा जम्मा गरेर संरक्षणको अभियान चलाइरहेका पुडासैनी, अबोध प्राणीलाई बचाउन पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो । 

‘लकडाउन’का कारण गोठाटारमा संरक्षण गरिएका गाईबाच्छाका लागि खाद्यान्न सङ्कट नपरोस् भनी वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले एकबोरा पिठो हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । 

बाच्छाबाच्छी संरक्षणका लागि गोठाटारका भरत सञ्जेलले पाँच हजार रुपैयाँ बराबरको दुई बोरा दाना र तीन बोरा भुसा प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कट चुलिंदै जाने सम्भावना देखिएकाले बाच्छाबाच्छी खान नपाएर सडकमै मर्नसक्ने देखिएकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मी पुडासैनीले माग गर्नुभएको छ । 

सडकमा ओत नपाएर जोखिममा रहेका बाच्छबाच्छीलाई संरक्षण स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन सुरक्षा निकायलगायत सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।असहाय बाच्छाबाच्छी ल्याउँदा तिनलाई केही दिन पुग्ने खाद्यान्नसमेत ल्याई सहयोग गर्न अभियानले आममानिसमा आह्वान गरेको छ ।

२०७६ साल जेठ १ गतेदेखि अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी भागको खाली चौरमा सडकमा छाडा छाडिएका ६५ गाईबाच्छालाई संरक्षण दिँदै आएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया