अन्यौलमा छन् इटालीमा रहेका नेपाली

 चैत १८, २०७६ मंगलबार १५:३७:३ | रासस
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटलीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्यौलमा छन् । 

श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकाल अन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । 

युरोपेली देश इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण अहिलेसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् । 

चीनबाट फैलिएको यो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको ज्यान जाँदा इटलीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको ज्यान गएको छ । 

वर्ल्ड ओमिटर्स डट इन्फोका अनुसार इटलीमा कुल एक लाख एक हजार ७२९ लाई सङ्क्रमण देखिएकामा इटलीमा सङ्क्रमितमध्ये १४ हजार ६२० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको  छ । 

इटलीमा सुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै ज्यान गइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् । 

इटलीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटलीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्नेमा पनि कोरोनाको संक्रमण भएको छ । पहिला अन्य रोग लागेकालाई अन्य देशमा झैँ बढी असरमा पारेको छ ।

इटली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्को पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४०० देखि तीन हजार युरोसम्म कारबाही तोकेको छ । त्यहाँ गउको ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटलीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् । 

स्थिति भयावह भए पनि इटलीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् ।

इटलीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् । इटलीको राजधानी रोमको एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको बताउनुयो ।

नुवाकोट घर भएका खकुरेलले भन्नुभयो, ‘यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णतः घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।’

गैरआवासीय नेपाली सङ्घ (एनआएनए)का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटलीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको बताउनुहुन्छ । 

त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिनुभयो । 

 एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् ।

मिलान शहरमा कार्यरत आएका नेपाली आशा लामा अहिलेसम्म कुनै नेपालीलाई सङ्क्रमण नभए पनि आफूहरु त्रसित अवस्थामा रहेको जनाउनुभयो । नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटलीमा रहेको नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया