विराटनगरमा ५० शय्याको कोरोना अस्पताल (फोटोफिचर)

 चैत २१, २०७६ शुक्रबार १०:४:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ –  प्रदेश सरकारले निर्माण गरेको कोरोना अस्पतालको निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा ५० शय्या क्षमताको कोरोना अस्पताल निर्माण पूरा भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । 

पूरा भएको  कोरोना अस्पताल दुई तलाको छ । ल्याब, पोर्टेबल एक्स रे, कोरोनाको उपचारको लागि आएका सामानहरु तल्लो तलामा रहने छन्  । स्वास्थ्य अवस्था सामान्य भएकाहरुको लागि उपचारको लागि तल्लो तलाको प्रयोग हुने छ ।

माथिल्लो तलामा १० वटा भेन्टिलेटर र १० वटा आईसीयूको शय्या रहने कोरोना अस्पताल व्यवस्थापन समितिका संयोजक तथा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका बिरामीहरु माथिल्लो तलामा रहनेछन् ।  

भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामी निको हुँदै गर्दा बाहिर पनि ल्याएर उपचार गर्न सक्ने गरी  व्यवस्था मिलाइएको प्रसाईँले बताउनुभयो ।

२०२८ सालमा निर्माण भएको नेशनल ट्रेडिङको भवनमा निर्माण हुँदै गरेको अस्पतालमा हरेक बिरामी भएको ठाउँमा एउटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यही सीसीटीभी क्यामेराको निगरानीमा  बिरामीले औषधि खाए वा नखाएको थाहा हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना अस्पतालमा आएका बिरामीको उपचारमा संलग्न डाक्टर तथा नर्सहरुले सीसीटीभीबाट उनीहरुको निगरानी र आवश्यक परेमा  सुरक्षा सामाग्री सहित उपचारमा संलग्न हुने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

बाहिरै कार्यालय

कोरोना भाइरस (कोभिड १९) उपचार केन्द्रको रुपमा विकास गरिएको कोरोेना अस्पतालको लागि कोशी अस्पतालका चिकित्सकले सेवा दिनेछन्  । तर यो अस्पतालभित्र कोरोना सङ्क्रमित बिरामी र सम्बन्धित चिकित्सक बाहेक कसैले प्रवेश नपाउने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्यालयको दक्षिणतर्फ एक सय मिटर गएपछि पुगिन्छ नेशनल ट्रेडिङको पुरानो भवन, जहाँ कोरोना अस्पताल निर्माण गरिएको छ ।  यो कोरोना अस्पताल बनाउन १२ दिन अघिदेखि काम सुरु भएको हो । एक हप्तामा निर्माण पूरा गर्ने तयारीका साथ सुरु भएको कारोना अस्पताल  १३ औँ दिनको दिन शुक्रबारदेखि सुरु हुन लागेको हो । दुई वटा मुख्य द्वार रहेको यस अस्पतालको पश्चिम द्वारमा टेन्ट राखेर कार्यालय सञ्चालन हुने र उत्तर–पश्चिममा खाना खाने क्यान्टिनको व्यवस्था छ । त्यसको दक्षिणमा रहेको अर्को द्वारमा बिरामी ल्याउने र लैजाने व्यवस्था मिलाइएको छ ।

बीच भागमा अर्को टेन्ट टाँगिएको छ, जहाँ भित्रको लागि आवश्यक पर्ने सामग्रीहरु राखिने छन् । गम्भीर प्रकृतिका बिरामीलाई तत्काल आईसीयू वा भेन्टिलेटरमा राख्नु पर्ने अवस्थामा र्याम्पबाट माथि लाने व्यवस्था समेत मिलाइएको छ ।

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको लागि हरेक पाँच दिनमा ड्युटी परिवर्तन हुनेछ र ती स्वास्थ्यकर्मी अनिवार्य १४ दिनसम्म क्वरेण्टीनमा अनिवार्य बस्नुपर्नेछ । उनीहरुको लागि होटल वा घर नै भाडामा लिएर भए पनि क्वरेण्टीनको व्यवस्था गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।

प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्पतालको रुपमा विकास गर्न भनेपछि कोरोना अस्पताल निर्माणको काम सुरु भएको थियो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विराटनगर महानगरपालिका लगायतले संयुक्त रुपमा काम सुरु गरे ।

जङ्गल र झाडीलाई हटाएर काम सुरु गरेका थिए । यो क्रम १२ दिनसम्म दिनरात नभनि गर्दा १३ औँ दिनमा अस्पताल निर्माण भएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया