कोरोनाका कारण म्यानपावर कम्पनीलाई राहत

 चैत २३, २०७६ आइतबार १८:१५:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – म्यानपावर कम्पनीले आफ्नो लाइसेन्स नवीकरण गर्न वर्षमा एक सय जनालाई वैदेशिक रोजगारीमा पठाएकै हुनुपर्ने प्रावधान संशोधन हुने भएको छ । 

यही चैत १६ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाका कारण असर परेका विभिन्न क्षेत्रलाई राहत दिने भनेर गरेको निर्णयमा यो विषय पनि समेटिएको हो ।
चालू ऐन अनुसार वर्षमा एक सयजना भन्दा बढी कामदार पठाउन नसक्ने म्यानपावरको लाइसेन्स नवीकरण हुदैन । मन्त्रिपरिषदको यो निर्णयपछि भने सरकारले एक सयभन्दा कम कामदार पठाउने म्यानपावरको पनि लाइसेन्स नवीकरण गर्ने तयारी गरेको छ ।

गएको वर्ष फागुन १९ गते तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टको कार्यकालमा कामदार पठाउन नसक्दा म्यानपावरको ठगी बढीरहेको भन्दै न्यूनतम एकसय कामदार पठाउनुपर्ने गरी ऐन संशोधन भएको थियो ।

कोरोना सङ्क्रमणका कारण कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्दा धेरै म्यानपावर कम्पनीहरु संकटमा पर्ने देखिएपछि यस्तो निर्णय गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठ बताउनुहुन्छ ।

त्योभन्दा पहिले दुईवर्ष लगातार एक सय कामदार पठाएको हुनुपर्ने व्यवस्थालाई परिमार्जन गरी प्रत्येक वर्ष एक सय जना कामदार पठाउनैपर्ने भन्ने प्रावधानले म्यानपावर व्यवसायीलाई समस्या भएको महासचिव सुजित श्रेष्ठको भनाइ छ ।

‘यो प्रावधान संसोधन भएपछि ८० भन्दा बढी म्यानपावरले राहत पाउनेछन्’, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा सानातिना म्यानपावरहरुले वर्षमा एकसय कामदार कसरी पठाउन सक्छन् ? उहाँहरुको लागि यो निर्णयले निकै राहत पुर्याएको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे भने सरकारले राहत दिने सन्दर्भमा अहिलेको परिस्थितिलाई हेरेर यो निर्णय गरेको बताउनुहुन्छ । तर निर्णय भए पनि आर्थिक लगायतका विविध पक्षहरुको अध्ययनपछि मात्र प्रावधान संशोधन हुने उहाँको भनाइ छ  ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया