दुबईमा सामान किन्न बाहिर निस्कँदै हुनुहुन्छ ? बिल साथैमा राख्नुहोस्

 चैत २३, २०७६ आइतबार १८:२५:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ दुबईमा अत्यावश्यक सामान किन्न निस्कँदै हुनुहुन्छ भने सामान किनेको बिल साथैमा राख्नुहोला । दुबईमा कोरोना रोकथामका लागि दुई हप्तासम्म २४ घण्टे लकडाउन गरेकाले यो समयमा कसैलाई पनि बाहिर निस्कन रोक लगाइएको छ ।

त्यसैले यो समयमा बाहिर निस्कने प्रत्येक व्यक्तिलाई प्रहरीले निगरानीमा राख्ने भएकाले प्रहरीले मागेमा बाहिर निस्कनुको कारण बताउनुपर्ने हुन्छ । त्यसका लागि अत्यावश्यक सामान किनेको प्रमाण प्रहरीलाई देखाउनुपर्छ ।

अत्यावश्यक सामान किन्न पनि परिवारको एक जना सदस्य मात्र निस्कन प्रहरीले अनुरोध गरेको छ । दुई हप्तासम्म प्रहरीले दुबईका रोडमा निस्कने हरेक गाडीको जानकारी राख्नेछ ।

दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले उल्लेख गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सञ्चालन भएको राष्ट्रिय अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान सञ्चालन गरिनेछ। स्वास्थ्य संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना लगायत अत्यावश्यक क्षेत्र भने खुला नै रहनेछन् ।

बाहिर निस्कँदा सबैलाई मास्क लगाएर सामाजिक दूरी कायम राख्न आग्रह गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया