कोभिड १९: १५ जना विदेशी पर्यटकले सोलुखुम्बु छाड्न मानेन्

 चैत ३०, २०७६ आइतबार १६:२८:४१ | सुवास दर्नाल
unn.prixa.net

चैत्र ३० सोलुखुम्बु – कोरोना भाइरस (कोभिड १९) को जोखिमयुक्त देशका १५ जना विदेशी पर्यटक स्वइच्छाले सोलुखुम्बुमा बसेका पाइएको छ । स्थानीय प्रशासनको प्रत्यक्ष निगरानीमा उनीहरु सोलुखुम्बुमा नै शरण लिएर बसेका हुन् ।

कोरोना भाइरसको जोखिमका कारण देश लकडाउन भएसँगै सोलुखुम्बु भित्रिएका विदेशी पर्यटकहरुको उद्धार गर्ने क्रममा उनीहरु फर्किन नमानेको जिल्ला प्रशासन कार्यालय सोलुुखुम्बुले जनाएको छ । सोलुखुम्बुमै बस्न चाहने पर्यटकहरुमा जापान, फ्रान्स र क्यानडा लगायतका देशका नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो ।

जसमध्ये तीन जना सदरमुकाम सल्लेरीमा, ९ जना लुक्लामा र अन्य ३ जना नाम्चेमा बसिरहेको शाहीले बताउँनुभयो । लकडाउनअघि नै सोलुखुम्बुको भ्रमणमा रहेका पाँच सय २७ जना विदेशी पर्यटक, भरिया तथा गाइडहरुको उद्धार गरी काठमाण्डौ पठाइएको थियो ।

तर ती १५ जना विदेशीहरु भने यही नै सुरक्षित रहेको भन्दै फर्कन नमानेको प्रशासन कार्यालयले जनाएको छ । ती १५ जना नै प्रशासनको प्रत्यक्ष निगरानीमा रहेको शाहीको भनाइ छ । उनीहरूको भिसा अवधि बाँकी रहेको छ भने स्वास्थ्य स्थिति पनि सामान्य रहेकाले जिल्लामा बस्न अनुमति दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया