स्थानीयदेखि केन्द्रसम्म थरीथरीका ‘कोरोना मोबाइल एप’

 बैशाख १, २०७७ सोमबार १४:५:४५ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’को कारण व्यक्ति–व्यक्तिबीचको सम्पर्क टुटेको छ । या भनौँ भेटेरै गर्नुपर्ने धेरै कामहरु बन्द भएका छन् । एक सय १० भन्दा धेरै देशमा फैलिएको सङ्क्रमणले निम्त्याएको ‘लकडाउन’ले मानिसहरु घरघरमै सीमित छन् । तर प्रविधिको विकासले धेरै काम घरमै बसेर पनि भैरहेका छन् ।

सरकार, निजी क्षेत्र र नागरिकले प्रविधिको पहुँचमार्फत आफ्ना क्रियाकलापलाई अघि बढाइरहेका छन् । कोरोनाको परीक्षण, राहत वितरणका लागि वर्ग पहिचानदेखि अति आवश्यक वस्तु खरिदबिक्रीसम्म हातहातमा भएको मोबाइलले गरिरहेको छ । सरकारी संयन्त्रदेखि निजी क्षेत्रसम्मले आफ्ना क्रियाकलाप सहज ढङ्गबाट मोबाइल एप्समार्फत सञ्चालन गरिरहेका छन् ।

मन्त्रालयको ‘स्वास्थ्य’ एप

कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ सञ्चालनमा ल्याएको छ । त्यही एपमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हरेक दिन ‘अपडेट’ प्रस्तुत गर्नुहुन्छ । यो एप कोरोनाबाट सङ्क्रमित व्यक्तिको पहिचान गर्न र त्यस्ता व्यक्तिको नजिक रहेका अस्पताल खोज्न तयार पारिएको छ । मन्त्रालयका अनुसार एपबाट नमुना परीक्षण र त्यसको नतिजालगायतका जानकारी लिन सकिन्छ ।

व्यक्तिले आफूमा कोरोनाको सम्भावित लक्षण छ कि छैन भनेर एपमार्फत जाँच गर्न सक्छ । एपमा आफूलाई देखिएको लक्षण उल्लेख गरेर मूल्याङ्कन गर्न सकिने र सबै जानकारी मन्त्रालयको स्वास्थ्य आपत्कालीन केन्द्रबाट उपलब्ध गराइनेछ । एपमा प्राप्त जानकारीअनुसार मन्त्रालयले सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाउने गरिएको छ । https://play.google.com/store/apps/details?id=np.com.naxa.covid19 बाट मोबाइल डाउनलोड गर्न सकिन्छ । 

‘कोभिड–१९ साथी’ एप​

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘कोभिड—१९ साथी’ नामक मोबाइल एप सञ्चालनमा आएको छ । यो एपमार्फत सङ्क्रमणको आशङ्कामा क्वरेण्टीनमा रहेका व्यक्ति भागेमा तत्काल प्रहरीलाई खबर पुग्नेछ । क्वरेण्टीनमा रहेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको एप सञ्चालनमा ल्याइएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । जियो फेन्सिङ अर्थात अनुहार पहिचान प्रणाली भएको एपले क्वरेण्टीनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्नेछ ।

होम क्वरेण्टीन वा सार्वजनिक क्वरेण्टीनमा रहेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपत्कालीन केन्द्र, प्रहरी र अन्य आपत्कालीन निकायमा ‘अलर्ट’ बज्ने छ । क्वरेण्टीनमा आपत्कालीन अवस्थामा टेलिफोन सञ्चार नचलेमा एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सकिने ‘फिचर’ समावेश गरिएको छ । मोबाइल एपमा उनीहरुको दैनिक स्वास्थ्य स्थिति र ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा जानकारी पुर्याउने विशेषता पनि समावेश गरिएको छ । प्राधिकरणले कोरोनासम्बन्धी तथ्याङ्क र सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्नेगरी वेभसाइट सञ्चालन गरेको छ । यो एप https://covid19.ndrrma.gov.np/  बाट डाउनलोड गर्न सकिन्छ ।

‘नेपाल पुलिस’ एप

नेपाल प्रहरीले कोरोना भाइरसबारे जानकारी लिन मोबाइल एप ‘नेपाल पुलिस’ सञ्चालनमा ल्याएको छ । कोरोना महामारीको त्रास फैलिएसँगै हुनसक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले मोबाइल एप प्रयोगमा ल्याएको हो । यो एपमार्फत कोरोनाका सम्भावित सङ्क्रमित व्यक्ति र जोखिममा रहेका व्यक्तिबारे सूचना र जानकारी दिन वा लिन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘लकडाउन’ उल्लङ्घन, कालोबजारी नियन्त्रण र राहत अभाव भएको विषयमा पनि यो एपमार्पmत सूचना दिन सकिन्छ । यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे जानकारी लिन प्रयोगमा ल्याइएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो । यो एप गुगल प्ले स्टोर https://play.google.com/store/apps/details?id=com.pathway.nepalpolice र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । 

सेनाको मोबाइल एप

नेपाली सेनाले पनि मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोनाको रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन मोबाइल एप सुरु गरेको सेनाले जनाएको छ । सेनाको मोबाइल एपमा सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाइमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

विपद्को घडीमा विभिन्न किसिमका हल्ला फैलनबाट रोक्न र आफनो आधिकारिक सूचना प्रवाह गर्न एपले सहयोग गर्ने सेनाको भनाइ छ । सेनाको आधिकारिक वेभसाइट  बाट एप डाउनलोड गर्न सकिन्छ । यो एप एन्ड्रोइड मोबाइल फोनमा मात्रै उपलब्ध छ । केही दिनमै आइफोनको लागि पनि उपलब्ध हुने छ ।

प्रदेशको मोबाइल एप

कोरोना सङ्क्रमण न्युनीकरणका लागि प्रदेश सरकारहरुको भूमिका पनि महत्त्वपूर्ण भएको छ । त्यसका लागि विभिन्न प्रदेशले मोबाइल एप सञ्चालनमा ल्याएका छन् । प्रदेश ५ ले ‘कोभिड १९ ट्रयाकिङ इन्फर्मेसन सिस्टम’ नामक एप सञ्चालनमा ल्याएको छ । यो एपले कोरोनाको लक्षण देखिएका शङ्कास्पद व्यक्तिको विवरण र ‘लोकेसन’ सङ्कलन गर्नेछ । जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुनेछ ।

आफू र टोल छिमेकका कसैमा कोरोनासम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन सकिन्छ । यसरी पठाइने वा सङ्कलित विवरणहरु गोप्य रहने प्रदेश सरकारले जनाएको छ । विदेशबाट आएर क्वरेण्टीनमा नबस्ने र टोल छिमेकमा कोरोनाको शङ्कास्पद लक्षण देखिएका व्यक्तिको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन् । यो एप http://cm.p5.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ । यो प्लेस्टोर र एप स्टोर दुवैमा उपलब्ध छ ।

पालिकाको मोबाइल एप

कोरोना भाइरसबारे जानकारी आदान प्रदान गर्न र आवश्यक कामहरु सहज बनाउन स्थानीय सरकारहरुले मोबाइल एप सञ्चालनमा ल्याएका छन् ।  धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मोबाइल एपमा कारोनाका लक्षणहरू, यससँग सम्बन्धित जिज्ञासा, सावधानीका उपाय, उपमहानगरमा कोरोना रोकथाम, उपचार र तयारीबारे थाहा पाउन सकिन्छ । यस्तै अत्यावश्यक सेवा दिने  निकायसँग पनि यसैबाट सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोड आईटीवी धरान प्रिमियर नेपालसँगको सहकार्यमा उपमहानगरपालिकाले एप सञ्चालनमा ल्याएको छ । तत्काललाई धरान उपमहानगरपालिकाको वेभसाइट https://www.dharan.gov.np/?p=2538 बाट डाउनलोड गरी एन्ड्रोइड मोबाइलमा एप प्रयोग गर्न सकिने उपमेयर मञ्जु भण्डारीले उज्यालोलाई बताउनुभयो । यसलाई गुगल प्लेस्टोरबाट भने केही समयपछि डाउनलोड गर्न सकिने छ । 

दलको मोबाइल एप

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा मोबाइल एप सञ्चालनमा ल्याएको छ । काङ्ग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेभसाइट https://www.dharan.gov.np/?p=2538 मार्फत एप जारी गरेको छ । घरमै बसेर कोरोना सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण एपबाट गर्न सकिन्छ ।

निश्चित लक्षण पहिचान हुँदा आवश्यक सतर्कता र जरुरी पहलका लागि यसले परामर्श दिने काङ्ग्रेसको विश्वास छ । एपको चिकित्सकीय परामर्शकर्तामा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसियसनका उपाध्यक्ष अनिलविक्रम कार्की  र फोक्सो रोग विशेषज्ञ डा. अशेष ढुंगाना रहेका छन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया