सुदूरपश्चिमका सीमा नाकामा सशस्त्र प्रहरीको चौबिसै घण्टा पहरा

 वैशाख ३, २०७७ बुधबार १३:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना कोरोना सङ्क्रमित भेटिएपछि सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीले पहरा दिन थालेको छ ।

तेस्रो मुलुकबाट आउने सम्भावना न्यून रहे पनि सुदूरपश्चिमका लागि भारतसँगको खुला सीमाना चुनौती देखिएका वेला शसस्त्र प्रहरीले सीमा नाकामा पहरा दिन थालेका हुन् । 

लकडाउनपछिको केही दिन, भारतबाट लुकीछिपी आउनेलाई रोक्न नसक्नुले पनि सुदूरपश्चिम जोखिममा परेपछि सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो । 
सुदूरपश्चिममा कोरोना भाइरसका बिरामीको संख्या बढ्न थालेपछि भारतसँग जोडिएको सीमानामा चौबिसै घण्टा पहरा दिने गरी ३९ वटा सशस्त्र प्रहरीका अस्थायी पोष्टहरु थपिएका छन् । 

यसअघि १५ वटा मात्रै स्थायी पोष्टहरु रहेकामा अब त्यो संख्या ५४ पुगेको छ । 

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरियाले त्यसले पनि नपुगेपछि एक दुई दिनमा थप ९ वटा पोष्ट राख्ने तयारी भइरहेको जनाएको छ । 

सिमानामा कडाइ गर्नु भन्ने निर्देशन भएपछि पहाडको जनशक्ति तराई झिकाएर पनि सीमानामा खटाउन थालिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले भारतमा पनि कोरोनाका बिरामी बढिरहेकाले सुदूरपश्चिम बढी खतरामा रहेकाले चौबिसै घण्टा पहरा दिने गरी सशस्त्र प्रहरी पोष्ट राखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म ५३३ किलोमिटरको खुला सिमाना छ । 

सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, डडेल्धुरा, बैतडी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्ला भारतसँग जोडिएका छन । अझ कैलाली र कञ्चनपुरमा त झण्डै दुई सय ३० किलोमिटरको खुला सीमाना छ । 

कञ्चनपुरको केही भाग भएर दार्चुलासम्मका जिल्लामा महाकाली नदीले सीमाना छुट्याएको छ । 

सशस्त्र प्रहरीले महाकाली नदी सीमाना भएका तर तर्न लायकका घाटहरुमा पनि प्रहरीको पोष्ट राखिएको जनाएको छ । 
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बैतडीका सम्भावित घाटहरुमा पनि सशस्त्रको अस्थायी पोष्ट राखिएको बताउनुभयो । 

बैतडीका ६ ठाउँ, शिवनाथको कुस्मौद घाट, पञ्चेश्वरको रोलघाट, पञ्चेश्वरको विनायक घाट, पञ्चेश्वर गाउँपालिकाको रोडीदेवल, दशरथचन्द नगरपालिकाको वडा नं १० बाराकोट र दशरथचन्द नगरपालिका वडा नं ६ को सेरामा सशस्त्र प्रहरी खटाइएको छ । 

यसअघि भारतको चम्पावतबाट लुकेर कञ्चनपुरको ब्रम्हदेवको बाटो आएका बेदकोटका ४१ वर्षका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । 
सशस्त्र प्रहरीले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै ३४ वटा अस्थायी पोष्ट थपेको छ । 

खुला सीमाना भएको स्थानबाट कोही पनि लुकेर प्रवेश नगरोस् भन्न कम्तिमा पनि दुई सय मिटरदेखि एक किलोमिटरसम्मको दूरीमा अस्थायी पोष्टहरु राखिएका छन् । 

एउटा पोष्टबाट पनि थप दुई तीन जनाको ग्रुप बनाएर चौबिसै घण्टा ड्यूटी लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया