अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

 बैशाख ९, २०७७ मंगलबार १४:४२:४३ | रासस
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भन्ने विषयमा अझै टुङ्गाे लाग्न सकेको छैन । 

वैशाख शुक्ल प्रतिपदा अर्थात् आउँदो वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भने गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।

पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने ठाउँसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

सरकारको निर्णय अनुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उहाँले बताउनुभयो । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आउँदो १२ गते रथारोहण गर्न सकिन्छ । उहाँले भन्नुभयो, ‘सङ्कटको समय भएकाले रथयात्रा पछि गराउन सकिन्छ ।’ 

झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएका कपिल बज्राचार्य ७० वर्षको हुनुभयो । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उहाँको मन दुखेको छ । उहाँ २२ र २३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । 

विगतमा पनि धेरै पटक अप्ठ्याराे अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उहाँको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । 

ललितपुर महानगरपालिका १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताउनुभयो । जात्राका लागि नभइ नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'जात्रा नै रोक्ने कुराले धेरैको मन दुखेको छ ।' 

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन जात्रा नियमित हुनुपर्ने भए पनि लकडाउनका कारण जात्रा सञ्चालन गर्न समस्या देखिएको बताउनुभयो ।

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताउनुभयो । रथ बनाउन धेरै जनशक्ति चाहिने हुँदा अहिले नै निर्माण गरिने सम्भव नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया