भजन र लोकभाका गाएर डिप्रेसन भगाउँदै भारतीय क्वरेण्टीनमा रहेका नेपाली

 बैशाख ९, २०७७ मंगलबार १७:१८:३२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको बिहिबार एक महिना पुग्दैछ । तर कञ्चनपुरमा बुधबार नै ‘लकडाउन’को एक महिना पुरा हुँदैछ । यसबीच रोजगारीका लागि घरबाहिर रहेका नेपालीहरु स्वदेशमा मात्रै होइन, विदेशी भूमिमा समेत अलपत्र परेका छन् । 

डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना महामारी अहिले विश्वका २ सय १५ देशमा फैलिएको छ । यस महामारीबाट मङ्गलबार बिहानसम्म २४ लाख ४० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १ लाख ७० हजार ४ सय ३४ ले ज्यान गुमाइसकेका छन् । 

यसैबीच कोरोना रोकथामको लागि सर्वप्रथम चीनले २३ जनवरीमा वुहान प्राप्तमा लकडाउनको घोषणा गरेको थियो । भाइरस फैलिन सुरु भएको चार महिना नपुग्दै इटाली, स्पेन, फ्रान्स, बेलायत र भारतसँगै नेपाललगायत विश्वका धेरै देशमा लकडाउन गरिएको छ । 

नेपालमा लकडाउन

नेपाल सरकारले कोरोना रोकथामको लागि गएको चैत्र ११ गते देशभर लकडाउनको घोषणा गर्यो । यद्यपि त्यसअघि स्थानीय प्रशासनले कञ्चनपुर जिल्लालाई लकडाउन गरिसकेको थियो । भारतमा बढ्दै गएको कोरोना सङ्क्रमणको कारण नेपाल फर्किने नेपालीहरु भने सीमामा लामबद्ध थिए । जसलाई लकडाउनले रोक्न सकेन ।

सरकारले पहिलो चरणमा एक हप्ताको लागि चैत्र ११ गतेदेखि गरेको लकडाउन अहिले चौथो पटक थप गरी बैशाख १५ गतेसम्म पुर्याएको छ । पहिलो चरणमा चैत ११ गतेदेखि १८ गते, दोस्रो चैत १९ गतेदेखि २५ गते, तेस्रो चैत २६ गतेदेखि बैशाख ३ र चौथो चरणमा बैशाख ४ गतेदेखि बैशाख १५ गतेसम्मको लागि थप गरिएको छ । 

त्यसबीच लकडाउनकै बेला कञ्चनपुरका विभिन्न नाकाबाट झण्डै दुई हजार पाँच सय नेपाली स्वदेश फर्किएका छन् । जसमा रोजगारीको लागि भारत गएका विपन्न परिवारका मजदुर छन् । यद्यपि दोस्रो पटक लकडाउन थप गरिएपछि सीमामा आइपुगेका नेपालीलाई भारतीय सरकारसँगको समन्वयमा त्यहीँ क्वरेण्टीनमा राखिएको छ ।

घर हिँडेकाको बिचल्ली 

उता भारत सरकारले पनि देशभर लकडाउन गरेपछि काम छोडेर घर हिँडेका धेरै नेपाली भारतको राजधानी दिल्ली, मुम्बई, गुजरात र देहरादूनलगायतका सहरहरुमा अलपत्र परे । लकडाउनको कारण बजार तथा सवारीसाधन बन्द भएपछि काखमा ससाना बालबच्चा बोकेर हप्तौँसम्म हिँडेरै उनीहरु सीमानाकामा पुगे । तर सुदूरपश्चिम सरकारले चैत्र १७ गतेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिएको छैन ।

भारतीय प्रशासनको सहयोगमा अहिले २ सय ५१ जना नेपालीलाई कञ्चनपुरसँग सीमा जोडिएका चम्पावत र उद्यमसिंहनगरको बनबासा, टनकपुर र खटिमास्थित क्वरेण्टीनमा राखिएको छ । कञ्चनपुरसँग सीमा जोडिएको भारतीय जिल्ला चम्पावत प्रशासनको अनुसार अहिले त्यहाँको क्वरेण्टीनमा राखिएका नेपालीहरुमा डिप्रेसनको समस्या देखिन थालेको छ । 

हौसला बढाउँदै भारतीय प्रशासन

यसैबीच लकडाउनको कारण भारतीय क्वरेण्टीनमा बसेका नेपालीहरुको मनोबल बढाउन भारतीय प्रशासनले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । भारतमा क्वरेण्टीनमा बस्दा नेपालीहरुमा डिप्रेसनको समस्या देखिन थालेपछि चम्पावत प्रशासनले उनीहरुका लागि साक्षरता कक्षासँगै सङ्गीत कार्यक्रम सुरु गरेको छ । 
परिवारबाट टाढा रहेका नेपालीमा डिप्रेसनको समस्या देखिन थालेपछि उनीहरुका लागि साक्षरता कक्षासँगै साङ्गीतिक कार्यक्रम सुरु गरिएको चम्पावतका डिएम एसएन पाण्डेले जानकारी दिनुभयो । 

उहाँले क्वरेण्टीनमा रहेका नेपालीको हौसला बढाउन हरेक साँझ क्वरेण्टीनमै मनोरञ्जनात्मक कार्यक्रम गरिएको बताउनुभयो । चम्पावतका डीएम र एसपीलगायतका अधिकारी क्वरेण्टीनमा पुगेर ताली बजाउँदै नेपालीहरुको हौसला बढाउने गरेका छन् । साथै क्वरेटीनमा रहेका नेपालीहरुले पनि लोकभाका र भजनसँगै हिन्दी गीत गाएर मनोरञ्जन गरिरहेका छन् । 

फुर्सदिलो समयको सदुपयोग गर्दै भारतीय पक्षले नेपालीहरुका लागि साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको छ । जसले गर्दा भारतीय भूमिमा क्वरेण्टीनमा रहेका नेपालीहरु खुशी भएका छन् । पहिलो पटक आफ्नो नाम लेख्न सक्दा खुशी लागेको बनबासाको शारदा इन्टर कजेलको क्वरेण्टीनमा बस्नुभएका करण बोहराले बताउनुभयो । चम्पावत प्रशासनको अनुसार लकडाउन सकिएपछि साक्षरता कक्षामा सहभागी भएकाहरुलाई शिक्षा विभागबाट साक्षरता प्रमाणपत्र दिइने छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया