खाँदबारी नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने

 बैशाख ९, २०७७ मंगलबार १८:३१:२६ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता  वितरण गर्ने भएको छ । लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि नगरपालिकाले घरैमा पुगेर भत्ता बाँड्ने तयारी गरेको हो । 

यसअघि नगरपालिकाले खाँदबारीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमार्फत भत्ता वितरण गर्दै आएको थियो । दशैँ अगाडि पहिलो चौमासिक भत्ता वितरण गरे पनि नगरपालिकाको त्यसपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिरहेको थिएन ।

नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले लामो समयदेखि भत्ता वितरण नगर्दा एकल, अपाङ्ग, बिधवा र जेष्ठ नागरिकहरुलाई समस्या परेकाले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।  

सामाजिक सुरक्षा शाखा प्रमुख खेमराज निरौलाले नगरपालिकाभित्रका जेष्ठ नागरिक, दलित, अपाङ्ग, एकल महिला र विधुवा गरी कुल चार हजार ९ सय ६१ जनालाई  भत्ता वितरण गर्न लागिएको बताउनुभयो । 

भत्ता वितरणको लागि दुई करोड ५४ लाख ६० हजार रुपैयाँ खर्च हुने नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया