‘बेलैमा ध्यान नपुर्याए पोलियो महामारी हुन सक्छ’

 बैशाख ११, २०७७ बिहिबार १७:११:२५ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - अहिले कोरोना भाइरसको महामारीको चपेटामा विश्व छ ।  यतिबेला सबैको ध्यान महामारीमा केन्द्रित छ । महामारीले अरु स्वास्थ्य समस्यालाई ओझेलमा पारेको छ । तर यतिवेला कोराना महामारीसँगै अरु स्वास्थ्य समस्यामा ध्यान नदिए अर्को महामारीको सङ्कट ननिम्तिएला भन्न सकिन्न । 

नेपाल कोरोनाको महामारीले अहिले लकडाउनमा छ । अति आवश्यक काम गर्नेबाहेक धेरै जना घरभित्रै छन् । अस्पताल, स्वास्थ्य संस्था खुला भएपनि पहिलेको जस्तो सेवा दिन सकिरहेका छैनन् । बालबालिकाले समयमा खोप पाएका छैनन् । दीर्घ रोगीले औषधि पाउन पनि उतिकै मुस्किल छ । 

हुन त सरकारले बालबालिकालाई दिइने नियमित खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बाल मृत्युदरको जोखिम बढ्न सक्ने भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । तर कोरोनाको जोखिमले अहिले विशेष अभियानहरु रोकिएका छन् । 

हरेक वर्ष बैशाख महिनामा हुँदै आएको बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान पनि रोकिएको छ । यस्तै, पोलियो थोपा खुवाउने र दादुराविरुद्धको विशेष खोप अभियान पनि स्थगित नै छ ।  बेलैमा यी अभियान नहुँदा बालबालिकामा पोलियो र दादुराको सङ्क्रमण बढ्ने जोखिम धेरै हुने स्वास्थ्य विज्ञ बताउँछन् । 

पोलियो देखियो भने नियन्त्रणमा समस्या

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै ज्यान समेत जान सक्छ । डाक्टर बाबुराम मरासिनीका अनुसार पोलियो रोगको भाइरस निकै सङ्क्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । 

पोलियो रोगीको दिसाबाट यसका भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् ।  दूषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा यो भाइरसले प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ ।

पोलियोको उपचार छैन । तर खोप लगाएर बालबालिकालाई पोलियो लाग्नबाट बचाउन सकिन्छ । तर यतिबेला कोरोना भाइरस र लकडाउनको कारण विशेष अभियान रोकिँदा पोलियो खोपबाट बालबालिका छुट्न सक्ने सम्भावना बढेको छ । एक जनालाई पनि पोलियो देखियो भने यो अर्को सङ्कट हुने डाक्टर मरासिनी बताउनुहुन्छ । 

विशेषगरी सरसफाइ कम हुने ठाउँ र शौचालय नभएका ठाउँमा यस्तो खतरा हुने उहाँको भनाइ छ । डाक्टरका अनुसार बच्चा जन्मेको पहिलो ६ हप्तामा पोलियोको खोप लगाउनुपर्छ । त्यसपछि एक÷एक महिनाको फरकमा दुई पटक यो खोप लगाउनुपर्छ । 

पहिलो चोटि नै खोप लगाउन ढिला भए त्यसले असर पर्न सक्छ । यसको अतिरिक्त ५ वर्ष मुनिको बालबालिकालाई हरेक पोलियो खोप अभियानमा पोलियोका दुई थोपा खुवाउनुपर्छ । यस विषयमा अभिभावक पनि सचेत बन्नुपर्ने डाक्टरको सुझाव छ । देशमा खोप र थोपामार्फत पोलियोविरुद्धको दबाइ दिने गरिएको छ ।
डाक्टर मरासिनी भन्नुहुन्छ, ‘जब खोप नलगाएका बालबालिकाको समूह बन्छ, त्यहाँ पोलियोको सङक्रमण हुने जोखिम हुन्छ । यो भाइरस एक पटक देखिसकेपछि स्वास्थ्य क्षेत्रमा अर्को विपत् आउन सक्छ ।’ 

जोखिम कम गर्न नियमित खोप  

कोरोना भाइरसको जोखिमले केही समय खोप लगाउनेबारे अन्यौल भएपनि अहिले यसलाई निरन्तरता दिन सरकारले तयारी गरेको छ । त्यसको लागि सम्बन्धित सबै स्वास्थ्या संस्था र अस्पताललाई भनिसकिएको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । 

बाल मृत्युदरको जोखिम न्यूनीकरणका लागि नियमित खोप कार्यक्रमलाई अगाडि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पोलियोसहित १२ प्रकारका खोप नियमित खोप कार्यक्रममा समेटिएका छन् । नजिकैका स्वास्थ्य संस्था र अस्पतालमा गएर अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन सक्ने उहाँले बताउनुभयो । 

कोरोनाको जोखिमले सजिलो छैन

सरकारले नियमित खोप कार्यक्रमलाई सञ्चालन गर्ने बताइरहे पनि कोरोना भाइरसको जोखिमका कारण सजिलो छैन । बालबालिका र अभिभावकको स्वास्थ्य अवस्थामा खोप दिने नदिने निर्भर हुन्छ । यदि बच्चा र आमालाई ज्वरो आएको भए उनीहरुको स्वास्थ्य परीक्षणपछि मात्रै खोप दिने नदिने टुङ्गो लाग्ने खोप शाखाका प्रमुख डाक्टर गौतमले बताउनुभयो । 

यस्तै खोप लगाउने स्वास्थ्यकर्मीले पनि स्वास्थ्य सुरक्षा सामग्री अनिवार्य लगाउनु पर्दछ । सहर बजारमा स्वास्थ्यकर्मीले पन्जा, क्याप, मास्क र चस्मालगायतका स्वास्थ्य सुरक्षा सामग्री पाए पनि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा यस्ता सामग्री पुगेका छैनन् । 
सरकारले स्वास्थ्य सुरक्षा सामग्रीलाई अनिवार्य गरेपनि धेरैजसो ग्रामीण क्षेत्रमा त्यो सम्भव नभएको स्वास्थ्यकर्मीहरु नै बताउँछन् । 

पोलियोका लक्षणहरु

-ज्वरो आउने
-रुघाखोकी लाग्ने
-टाउको दुख्ने
-पेट दुख्ने
-बान्ता हुने 
-हातखुट्टा दुख्ने
-हात खुट्टा लुलो हुने 

पक्षघात भएर अपाङ्ग हुन सक्ने र बालबालिकाको ज्यान समेत जान सक्ने जोखिम हुने डाक्टर बताउँछन्  ।

कस्तालाई जोखिम 

खोप शाखाका प्रमुख डाक्टर गौतमका अनुसार जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पूरा मात्रामा नलिएका बालबालिका यो रोगका उच्च जोखिममा हुन्छन् । समुदायमा एक जना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम सञ्चालन भएपनि खोप नलगाइएका ठाउँका  बालबालिका पनि पोलियोको जोखिममा पर्न सक्छन् । 

सन् २०१४ मा नेपाललाई पोलियोमुक्त देश घोषणा गरिसकिएको छ । तर जोखिम भने अझै पनि रहेकोले वेवास्ता नगर्न स्वास्थ्य विज्ञले आग्रह गरेका छन् । पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेक विश्वका सबै देश पोलियोमुक्त भइसकेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया