विनाशकारी भूकम्पको पाँच वर्ष पूरा : पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै लम्बिने

 वैशाख १२, २०७७ शुक्रबार ७:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।

भूकम्पबाट भौतिक संरचनामा क्षति पुग्यो । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवनलगायतका पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएका छन् । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा छन् । बन्न बाँकी घरको पनि यसै आर्थिक वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।

झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ।

९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला देखा परेको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभएको छ । नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको ज्ञवालीले दाबी गर्नुभयो । नेपाली नागरिकमा विपद्को प्रतिरोधी क्षमता छ र कठिन अवस्थाका बीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि बनेको उहाँको भनाइ छ ।

कोरोना भाइरसको यो महामारीबाट बाहिर निस्कने बित्तिकै बाँकी कामलाई पनि टुङ्गोमा पुर्‍याउन लागिपर्ने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । प्राधिकरणको पाँच वर्षे अवधि आउँदो पुसमा सकिनेछ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया