कोरोना सङ्क्रमितलाई कीटाणुनाशक ‘इन्जेक्सन’ दिन सुझाव दिएपछि ट्रम्प आलोचित

 बैशाख १२, २०७७ शुक्रबार १२:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आफ्नो विवादास्पद भनाइका कारण बारम्बार विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आलोचित बन्नुभएको छ । 

शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको छ । 

साथै ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गर्नुभएको थियो । यो उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको बीबीसीले जनाएको छ । 

कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको डाक्टरहरुले बताएका छन् । यसअघि ट्रम्पका अन्य अधिकारीहरुले पनि सूर्यको किरण र कीटाणुनाशक ‘इन्जेक्शन’ले सङ्क्रमणलाई मार्ने बताएका थिए । 

गएको बिहीबार ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस झट्टै कमजोर हुने सङ्केत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया