सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा मृग मृत फेला

 बैशाख १५, २०७७ सोमबार २१:७:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ वटा कस्तुरी मृग मृत भेटिएका छन् ।

निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने ठाउँमा पासोमा झुण्डिएको अवस्थामा मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।

मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक मृगको बीना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ । पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । करीब १० दिनअघि ती मृग मारिएको हुनसक्ने अनुमान गरिएको छ । 

मृगलाई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र  निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ । लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । 

चोरी शिकारमा संलग्नको खोजी  जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो ।  अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिए पनि सगरमाथा  निकुञ्जमा अहिलेसम्म यस कार्य भएको छैन । 

विसं २०३२ मा  स्थापित सो निकुञ्ज एक हजार १४८ वर्ग किमीमा फैलिएको छ ।  सगरमाथासमेत यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्वका साथ हेर्ने गरिएको छ । यही निकुञ्ज आसपास ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा छन् ।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंँलो चुच्चे कागलगायत १९३ प्रजातिका चरा पाइने बताइए पनि यसको सङ्ख्या र अवस्थाबारे अहिलेसम्म औपचारिक रुपमा सार्वजानिक नगराइएको स्थानीयवासीको भनाइ छ । बारम्बार चोरी शिकारी बढ्दै गएको घटनाप्रति वडाध्यक्ष  अधिकारीले समेत चासो व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Ryan

    April 28, 2020, 10:42 a.m.

    यति महत्वपूर्ण निकुन्जको जनावरवारे अहिलेसम्म गणना नहुनु अत्यन्त हेलचेक्र्याइँ हो सरकारको / त्यहि भएर चोरहरु यति धेरै सक्रिय भएका छन् / यो सरकारको धेरै हेलचेक्र्याइँ हो / लक डाउन खुलेपछि सगरमाथा सहित सबै निकुन्जका जनावार र चराचुरुंगीको संख्या थाहा पाउन गणना गरोस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया