भोजपुर : लकडाउनमा जोखिम मोल्दै काम गर्न बाध्य ठूला आयोजनाका मजदूर

 बैशाख १९, २०७७ शुक्रबार १९:३२:५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - लकडाउनमा उच्च सतर्कता अपनाएर जिल्लाभित्र सञ्चालन भइरहेका ठूला योजनाका मजदूरहरु जोखिममा परेका छन् ।

सुरक्षा सामग्री साधन नहुँदा सयौँ मजदूरहरु सङ्क्रमणको  जोखिममा परेका हुन् । 

जिल्लाभित्रका विभिन्न विकासे आयोजनामा काम गर्ने मजदूरहरु लकडाउनमा पनि काममा तल्लीन देखिन्छन् । तर एकातिर कोरोना सङ्क्रमणको जोखिम अर्कोतिर काम गर्दा लगाउने हेल्मेट, पञ्जा, जुत्ता जस्ता सुरक्षा साधन अभावले उनीहरु दोहोरो जोखिममा परेका छन् ।

निर्माणाधीन टक्सार पिखुवा खोला हाइड्रोपावरमा काम गर्ने झण्डै ३ सय मजदूरहरु लकडाउनले घर फर्कन नपाएपछि कम्पनीकै काममा लागिरहेका छन् । 
आयोजनाका एक मजदूर चट्टुलाल थारु भन्नुहुन्छ, ‘कोरोनाको सङ्क्रमणबाट बच्न ठेकेदार कम्पनीसँग मास्क, पञ्जा, सेनिटाइजर उपलव्ध गराउन माग गरे पनि अहिलेसम्म पाइएको छैन ।’

कम्पनीले भने सम्पूर्ण सुरक्षा सामग्री उपलब्ध गराए पनि मजदूरहरुले प्रयोगमा नल्याएको बताएको छ । 

‘धेरै कामदार चाहिने कामको समयमा सामाजिक दूरी अपनाउन पनि गाह्रो भएको छ, सकेसम्म हामीले दूरी कायम गर्ने प्रयास गरेका छौँ’, टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजना प्रमुख लोकबहादुर नायकले बताउनुभयो ।

उहाँले मजदूरलाई आवश्यक पर्ने मास्क, सेनिटाइजर लगायतको सामग्री दिएको तर उनीहरुले प्रयोग नगर्ने गरेको जानकारी दिनुभयो।

जिल्ला प्रशासनले पनि संवेदनशील आयोजनाहरुमा उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिएको जनाएको छ ।

‘कोरोना सङ्क्रमणको जोखिमका बेला मजदूरलाई घर पठाउनुभन्दा सतर्कता अपनाएर अधुरा रहेका काममा लगाउने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक डाउन खुलेमा मात्र मजदूरहरुलाई घर पठाउन सकिन्छ, तर अहिले सकिँदैन ।’ 

प्रदेश सरकारको लगानीमा निर्माणाधीन पिखुवा खोला पुल, कावा खोला पुल, सिक्तेल पुल, ओरी खोला पुल निर्माणका कामले निरन्तरता पाएका छन् । 

त्यस्तै टक्सार पिखुवा खोला जलविद्युत्त आयोजना, ईर्खुवा खोला जलविद्युत्त आयोजना, चिर्खुवा खोला जलविद्युत्त आयोजनाका काम पनि सञ्चालनमा छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया