‘मार्च १ पछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभर दर्जनौँ पत्रकारको मृत्यु’

 बैशाख २०, २०७७ शनिबार ६:५७:९ | रासस
unn.prixa.net

काठमाण्डौ - गएको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले शुक्रबार बताएको छ ।

सञ्चारकर्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।

आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा यसबाट ठूलो सङ्ख्यामा पत्रकार सङ्क्रमित हुनु परेको बताएको छ ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको छ । यद्यपि उनीहरुको कामकै सिलसिलामा सङ्क्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ । 

‘पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ’, पीईसीले निकालेको विज्ञप्तिमा भनिएको छ । 

प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तिमा बताइएको छ । 

पीईसीले भनेको छ, ‘यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ । यहाँ कम्तिमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा सङ्क्रमणको पुष्टि भएको थियो ।’

विश्वव्यापी रूपमा सङ्क्रमित ३२ लाखभन्दा बढीमा सङ्क्रमित बनेको र दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका सञ्चारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ ।

सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ । 

विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खासगरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ ।

पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया