‘लकडाउन खुलेपछि त्यहीँ ठाउँमा काम गर्न पाउँछु की पाउँदिनँ ?’

 बैशाख २०, २०७७ शनिबार १५:२५:३८ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ - कोरोना महामारीबाट आम नागरिकलाई बचाउन सरकारले लकडाउन गरेको आज ४० दिन भयो । यो कहिले खुल्छ थाहा छैन । लकडाउनसँगै ‘खुसी’को खुसीमा पनि लकडाउन लाग्यो । मुहारबाट खुसी हरायो । किनकि उहाँले गुजारा गर्ने डान्स बार फेरि खुल्छ कि खुल्दैन ठेगान छैन । यस्तै लकडाउनपछि कतिको जागिर खोसिन्छ त्यो पनि निश्चित छैन । यही पिरले खुसीलाई निद्रा पर्दैन । 

काठमाण्डाैमा कोठा भाडामा लिएर दुई जना छोरीसँग बसिरहनुभएकी खुसीलाई लकडाउन सुरु भएपछि साँझ बिहानको छाक कसरी टार्नु भन्ने चिन्ता छ । ‘एक्लो ज्यानमात्रै भए केही पिर थिएन । पाए खान्थेँ नभए भोकै बस्थेँ । तर छोरीहरु पनि छन् । उनीहरुले दुःख सुख केही बुझ्दैनन् जसरी पनि पेट भर्नैपर्छ’, खुसीले भन्नुभयो ।  

काठमाण्डौको यात्रा

विसं २०६४ सालमा खुसी श्रीमानसँग दोलखाबाट काठमाण्डौ छिर्नुभयो । उहाँका श्रीमानले ठमेलको एक होटलमा काम गर्थे । बिहे गरेको एक वर्षमा दिनहरु राम्रैसँग बिते । तर बिस्तारै श्रीमानकाे व्यवहार बदलिँदै गयो ।

रक्सी खाएर आधा राति घर आउन थाले र अनावश्यक झगडा गर्न थाले । श्रीमानमा एक्कासी आएको परिवर्तनले खुसी दुःखी हुनुभयो । पहिले झगडा मात्रै गर्ने श्रीमानले कुटपिट गर्न थाले । खुसीको पेटमा बच्चा आइसकेको थियो । छोरीको जन्म भएसम्म खुसीले श्रीमानले दिएको हरेक दुःख चोट सहदै जानुभयो । श्रीमानले गरेको सबै कुरा सहनुपर्छ भन्दै माइतीबाट आमाले फोन गर्नुहुन्थ्यो ।

माइतीको इज्जत थाम्न पनि खुसीले श्रीमानकाे हरेक कर्तुत सहनुभयो । जेठी छोरी जन्मेको ३ वर्षपछि अर्की छोरीको जन्म भयो । तर त्यसबेलासम्म खुसी श्रीमानसँग बस्न सक्ने अवस्थामा रहनु भएन । एक दिन होइन, एक महिना होइन, एक वर्ष होइन । ४/५ वर्षसम्म श्रीमानले लगातार असह्य दुःख दिन नछाडेपछि खुसीले बि.स. २०७० सालमा श्रीमानसँग ‘डिभोर्स’ गर्नुभयो । र, छोरीहरु लिएर छुटै बस्न थाल्नुभयो ।

त्यसपछिको सङ्घर्ष

श्रीमान गुमाएका महिलालाई अलच्छिनीको संज्ञा दिने समाजले डिभोर्सपछि खुसीलाई नै दोषी ठहर गर्‍याे । दुई छोरीलाई हुर्काउन खुसीले सङ्घर्ष गर्न थाल्नुभयो ।

स्नातकोत्तर गरेकाहरुले बेरोजगार बस्नुपरेको देशमा ६ कक्षा पढनुभएकी खुसीले रोजगार पाउने कुरै थिएन । खुसीले नाङ्लोमा व्यापार सुरु गर्नुभयो । 

बागबजारबाट नाङ्लोमा किनेर लगेको समान सडकको किनारमा राखेर बेच्न थाल्नुभयो । दिनभरको कमाइ कहिले एक सय कहिले दुई सय हुन्थ्यो । कहिल्यै त्यति पनि हुँदैन्थ्यो । करिब ६ महिनाको नाङ्लो व्यापारपछि खुसीले ठेलागाडामा व्यापार सुरु गर्नुभयो । सडकमा बसेर ठेलगाडामा व्यापार गर्नेलाई पनि उस्तै त्रास । जुनसुकै बेला पनि महानगरका कर्मचारीले लखेट्न आउँछन् ।

फोन गर्दै भेट्न बोलाउने

सडकमा बसेर व्यापार गर्नेलाई काठमाण्डौ महानगरका कर्मचारीले लखेट्छन् । कतिखेर उनीहरुको टोली आइपुग्छ र ठेलागाडाको सामान छरपस्ट पारिदिन्छ भन्ने ठेगान हुँदैन । डरैडरले सडकमा व्यापार गर्नुको पीडा त थियो नै । त्योभन्दा ठूलो पीडा उनीहरुको हर्कतले दिन्थ्यो । 

सडकमा व्यापार गर्ने कतिपय महिलालाई महानगरका कर्मचारीले छुट दिन्थे । छुट दिएबापत शर्त थियो उनीहरुलाई भेट्नुपर्ने । उनीहरुको स्वार्थ पूरा गरिदिए उनीहरुले सडकमा व्यापार गर्न दिन्थे नत्र दुःख दिन्थे । रत्नपार्कमा व्यापार गर्दै आउनुभएकी खुसी बस्ने ठाउँ फेरियो । बस्ने ठाउँसँगै उहाँले व्यापार गर्ने सडक पनि फेरियो । उहाँको व्यापार गर्ने सडक अब नयाँ बसपार्क भयो । व्यापार गर्ने सडक फरक भएपनि कर्मचारी उनै थिए । जो रत्नपार्कमा आउँथे । 
ओहो ! व्यापार गर्ने सडक फेरिएछ नि भन्दै उनीहरुले ठेलामा भएका सामान छरपस्ट पारिदिन्थे । 

एकदिन महानगरको एक कर्मचारीले तिम्रो नम्बर दिन्छौ भने म तिमीलाई केही गर्दिनँ भन्दै खुसीको मोबाइल नम्बर मागे । खुसीले नम्बर दिनुभयो । नम्बर लिएको भोलिपल्टदेखि नै मोबाइलमा फोन आएको आए हुन थाल्यो । एकै दिनमा चार / पाँच जनाले फोन गरेर हैरान गर्थे । कोही आज राति भेट्न आउ भन्थे, कोही भोलि भेट्न आउ भन्थे । महानगरका कर्मचारीको यस्तो हैरानीपछि खुसीले सडकको व्यापार छोड्नुभयो ।

डान्स बारको यात्रा 

सडकको व्यापारपछि अब के गर्ने भन्ने चिन्ता खुसीलाई लाग्यो । त्यसको विकल्प  थियो होटलको भाँडा माझ्ने । खुसीले आफूले चिनेकाहरुलाई काम खोजिदिन आग्रह गर्नुभयो । उहाँले साथीहरुकै सहयोगमा काम त पाउनुभयो तर रातिको । पैसाले मान्छेलाई जस्तोसुकै काम गर्न बाध्य पार्दोरहेछ ।

सडक व्यापारको विकल्पमा बाध्य भएर खुसीले डान्स बार रोज्नुभयो । साथीहरुकै सहयोगमा खुसीले ठमेलमा रहेको एक डान्स बारमा काम गर्न थाल्नुभयो । साना छोरीहरुलाई अरुको घरमा राख्दै खुसीले सुरु गर्नुभयो डान्स बारको यात्रा ।

साँझ ६ बजेदेखि राति दुई बजेसम्म काम गर्नुपर्थ्यो । मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुको पीडा पनि उस्तै । साहुले जे भन्यो त्यही मान्नुपर्ने, ग्राहकहरुलाई खुसी बनाउनुपर्ने ।

सडकको दुःखले खुसीलाई जस्तोसुकै दुःख पनि सहन सक्ने हिम्मत दिइसकेको थियो । खुसीले कुनै अप्ठ्यारो नमानी डान्स बारमा काम सुरु गर्नुभयो । खुसी डान्स बारमा त्यही काम गर्नुहुन्थ्यो जे काम गर्दा साहु र ग्राहक खुसी र सन्तुष्ट हुन्थे । काम रातिको भए पनि धेरै दुःख गर्नु पर्दैन्थ्यो । तलब कम भए पनि ‘टिप्स’ले खर्च चल्थ्यो । 

आमाको गाली 

खुसी डान्स बारमा काम गर्न थालेको तीन वर्षभन्दा बढी भयो । अहिले उहाँकी जेठी छोरी ११ र कान्छी ८ वर्षकी छन् । डान्स बारको कामपछि छोरीको पढाइ खर्च, आफ्नो खर्च र कोठा भाडामा लिएर बस्न खुसीलाई सहज भयो  । तर, आमाले फोन गरेर गाली गर्नुहुन्थ्यो । मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई अहिले पनि राम्रो दृष्टिले हेरिँदैन । किनकि यो क्षेत्रलाई हेर्ने दृष्टिमै खोट छ । 

कसैले मन नपराउने क्षेत्रलाई खुसीकी आमाले मन पराउने कुरै भएन । नातिनीहरुको बिचल्ली बनाएर राति काम गर्‍याै भन्दै आमाले दिनहुँ फोन गर्नुहुन्थ्यो । खुसीलाई गाउँ फर्केर खेतीपाती गर्न आउ भन्नुहुन्थ्यो । तर, खुसीको खुसी अब यही क्षेत्र भइसकेको छ । गाउँ फर्कने कुरै भएन ।

अबको बाटो 

जिन्दगीमा कहाँ पुगेर ठक्कर खाइन्छ खुसीलाई थाहा छैन । उहाँको उमेर ३० वर्ष पुग्नै लाग्यो । यो क्षेत्रमा १६ /१७ वर्षका केटीहरुको आवश्यकता पर्छ । डान्स बारमा काम गर्ने उनीजस्ता युवती ३० पुग्नै लागेपछि ग्राहक र साहुको नजरबाट हराउन थाल्छन् ।

उमेर ढल्कदै जान थालेकोमा कहिलेकाहीँ खुसीलाई दुःख लाग्छ । अहिलेको पिर भने लकडाउनमा के खाने र लकडाउन खुलेपछि त्यहीँ काम गर्न पाउँछु कि पाउँदिनँ भन्ने छ उहाँलाई । ‘हुन त हरेक मानिसको आआफ्नै कथा होला । तर मेरो जिन्दगीको कथा अब कता मोडिने हो थाहा छैन ।’ खुसीले भन्नुभयो ।

बिना नियुक्तिपत्र महिनाको ७/८ हजार रुपैयाँमा काम गर्नुभएको खुसीजस्तै हजारौँ श्रमिक महिलालाई लकडाउनपछि जागिर रहन्छ की रहँदैन भन्ने पिर छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया