धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
(कोभिड १९ नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने विश्वका पाँच महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झा पनि पर्नुभएको छ । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले उहाँसहित विश्वका पाँच महिलाको कथा सार्वजनिक गरेको छ । झाले नेपालमा कोभिड १९ परीक्षणको नेतृत्व गरिरहनुएको छ । प्रस्तुत छ डा. झाको अनुभव)
हाम्रो लागि यो सबै त्यतिबेला देखि सुरू भयो, जब एक सय ७५ जना नेपाली विद्यार्थीलाई चीनको वुहानबाट नेपाल ल्याइयो । जहाज फेब्रुअरी १५ मा नेपाल आइपुग्यो र फेब्रुअरी १६ मा मेरो टोली पहिलो पटक क्वरेण्टीनस्थल स्थल प्रवेश गर्याे ।
मेरो टोलीले नमुना लिन हिच्किचाएन । मेरो टोलीका केही सदस्यहरू २१ वर्षका छन् र केहीका घरमा बच्चा छन् तर सबै तयार थिए । हामीले रातभर काम गर्याैँ र भोलिपल्ट एक सय ७५ जनाकै रिपोर्ट तयार गर्याैँ ।
त्यसबेलादेखि हाम्रो सम्पूर्ण ध्यान कोभिड–१९ को नमुना परीक्षणमा छ र हाम्रो नियमित सेवाहरू बन्द भइसकेका छन् । यो हाम्रो लागि एकदम चुनौतीपूर्ण समय हो ।
अन्य धेरै देशहरूमा अत्याधुनिक प्रयोगशाला र अनुभवी वैज्ञानिकहरू छन्, जसले यस क्षेत्रमा लगभग पूरा जीवन व्यतीत गरेका छन् । नेपालसँग सीमित स्रोतहरू छन् तर हामी सक्दो प्रयास गरिरहेका छौँ ।
कोभिड–१९ को परीक्षणका लागि हामीले दिनकै ६० देखि ७० वटा नमुना पाइराखेका छौँ । साथै, नमुनाहरू अनियमित अन्तरालमा आइपुग्छन् । यसले गर्दा हामीलाई अबेरसम्म काम गर्नुपर्ने हुन्छ । मेरो लागि निर्देशकको रूपमा प्रयोगशालामा अबेरसम्म बस्नु सामान्य भइसकेको छ । प्राविधिक कार्यको अतिरिक्त मैले अन्य प्रबन्धहरु गर्नुपर्दछ, जस्तै मेरो टोलीको लागि यातायात र खानाको व्यवस्था गर्ने ।
यो हाम्रो लागि धेरै कठिन समय हो र मैले उनीहरूलाई प्रेणित गरिराख्नुपर्दछ । उनीहरूले निराश महसुस गरेको थाहा पाउँदा म गएर कुरा गर्छु । उनीहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्ने कुरा बुझाउँछु ।
मेरो व्यक्तिगत जीवनमा पनि परिवर्तन आएको छ । मैले मेरो छोरीलाई मेरो श्रीमानसँगै हाम्रो गृहनगर जनकपुर पठाएको छु, जुन काठमाण्डौको मेरो ड्युटी स्टेशनबाट टाढा छ । त्यसबेलादेखि मेरो अपार्टमेन्टमा म एक्लै बसिरहेको छु । मेरा अभिभावकहरू केवल दुई किलोमिटर टाढा बस्नुहुन्छ र म उहाँहरूलाई हप्तामा तीन पटक भेट्न जाने गर्थे तर लगभग तीन हप्ता भयो मैले उहाँहरुलाई देख्न नपाएको ।
मेरी छोरीले मलाई फोन गर्छिन् र मलाई धेरै मिस गर्ने बताउँछिन् । मलाई पनि मेरो परिवारको निकै याद आउँछ तर म उनीहरूको जीवनलाई जोखिममा पार्न डराउँछु । त्यसकारण दुरी राख्नु महत्त्वपूर्ण छ । मेरी आमाले मलाई फोन गर्नुहुन्छ र भन्नुहुन्छ– ‘घर आऊ, हामी पहिले नै बुढो छौँ, हाम्रो चिन्ता नगर । हामी केवल तिमीलाई हेर्न चाहान्छौँ ।’
म मेरो छोरीलाई अँगालो हाल्न चाहान्छु र मेरा आमाबुबाको हेरविचार गर्न चाहन्छु । तर उनीहरू र अरूलाई सुरक्षित राख्न यो त्याग गर्नु आवश्यक छ ।
('यूएन वुमन'मा प्रकाशित डाक्टर रुना झाकाे अनुभव, उमंग पराजुलीद्वारा अनूदित अंश । )
विस्तृतमा जान्न याे लिङ्क खाेलेर पढ्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुनुहुन्छ ।