'खेतीकिसानी नगर्नेहरुले नीति बनाउँदा किसान ठगिए'

 बैशाख २१, २०७७ आइतबार १३:४६:१७ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - उत्पादन भएका दूध पोखिएका छन् । तरकारी खेतबारीमा कुहिएका छन् । अण्डा खाडलमा फालिएका छन् भने कुखुराका चल्ला हुर्कनुको साटो खाल्डामा पुरिएर नष्ट भएका छन् । समग्र देशका सबैजसो किसानको अवस्था अहिले यस्तै छ । तर, यी समस्यालाई सरकारले देखेको छैन । बालुवाटारको ठूलो पर्खालले किसानका पिरमर्कालाई छायामा पारिदिएको छ ।

कोरोना भाइरसको जोखिमसँगै लामो समयदेखि भएको लकडाउनले किसान मर्कामा परेका छन् । उत्पादन भएका वस्तु बिक्री गरेर नाफा कमाउनु त परको कुरा, लागत समेत किसानले उठाउन सकेका छैनन् ।

यी बाहिर देखिएकोभन्दा किसानको अवस्था अझ जटिल छ । रातदिन खेतबारी र गोठमा खटिने किसानको समस्या स्वयम् किसानले नै भोगेका छन्, अरुले होइन । 

नेपाललाई कृषिप्रधान देश भनिएपनि सरकारले कृषि क्षेत्रलाई बेवास्ता गरेको पाइन्छ । नीतिमा कृषिलाई प्राथमिकतामा राखिएपनि व्यवहारमा भने यसलाई उपेक्षा नै गरिएको देखिन्छ । यसैले किसान सुक्दै गएका छन् भने बिचौलिया फुक्दै गएका छन् । फेरि पनि कृषि क्षेत्रमा सरकारको उदासीनता रहे किसान उठ्न सक्ने अवस्था छैन ।

मिहिनेतले उब्जाएको तरकारी यतिबेला खेतबारीमा त्यतिकै खेर गएको टुलुटुलु हेर्न पर्ने बाध्य किसानको मर्म कसले बुझ्ने ? खेतबारीमा फलेका तरकारी सित्तैमा कसैले लगे पनि किसान दिन तयार छन् । तर उनीहरुको खेतबारीसम्म को पुग्ने ?

कुहियो तरकारी, फालियो दूध

सरकारले किसानले उब्जाएका तरकारी तथा खाद्यान्नको उचित बजार दिन नसक्दा हरेक वर्ष नोक्सानी व्यहोर्न किसान बाध्य छन् । खेतबारीका तरकारी यतिबेला कि त्यतिकै कुहिएर गएका छन् भने केही किसानले गाईवस्तुलाई खुवाउन थालेका छन्  । 

तरकारी किसान मात्रै होइन, पशुपालक किसान पनि अहिले मर्कामा छन् । दूध बेच्ने ठाउँ किसानले पाएका छैनन् । अनि दानाको अभाव हुँदा दूधको उत्पादन पनि घटेको छ । 

एघार वर्षदेखि व्यवसायिक गाईपालन गर्दै आउनुभएका रुपन्देहीका शशी पौडेलले आफूले उत्पादन गरेको दूधले बजार नपाएपछि त्यसको विकल्प खोज्नु भएको छ । उहाँले मेसिनमार्फत दूधबाट बन्ने अन्य सामग्रीजस्तै चिज, घिउ, पनिर बनाएर बिक्री गर्नुहुन्छ । तर यो सधैँ सम्भव नहुने र यो सबै पशुपालक किसानको पहुँचमा पनि नहुने उहाँ बताउनुहुन्छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका, टिकुलीगढमा २५ बिघा क्षेत्रफलमा लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रालिको नामबाट ११ वर्षदेखि गाई फार्म सञ्चालन गर्दै आउनु भएको छ पौडेलले ।  

पौडेलको फर्ममा साढे पाँच सयभन्दा धेरै विभिन्न जातका गाई छन् । गाईको दूध मेसिनबाट दुहिन्छ । स्थायी शिक्षकको जागिर र पेट्रोल पम्पको व्यवसाय छाडेर उहाँ कृषि कर्ममा जुट्नुभयो । गाईपालन व्यवसायबाट नाम र दामसँगै सन्तुष्ट रहनुभएका पौडेल अहिले किसानप्रति सरकार निर्दयी भएको भन्नुहुन्छ । 

अमेरिकाबाट फर्केपछि

स्थायी शिक्षकको जागिर र पेट्रोल पम्पको सञ्चालक भएर उहाँले पैसा कमाउनु भयो । तर सन्तुष्ट हुनुभएन । आफ्नो पेसा र व्यवसायमा रमाउन नसकेपछि उहाँ विदेश हानिनुभयो । सपनाको देश अमेरिका । 

अमेरिका पनि आफ्नो लागि नभएकोजस्तो लाग्यो उहाँलाई । उहाँ भन्नुहुन्छ, ‘सपनाको देश सपनामै राख्नको लागि उपयुक्त रहेछ, विपनामा बस्नको लागि होइन ।’

अमेरिकामा रमाउन नसकेपछि त्यहाँ पुगेको एक महिना हुन नपाउँदै उहाँ स्वदेश फर्किनुभयो । आफ्नै माटोमा सुन फलाउनुपर्छ भन्ने अठोटका साथ फर्किनुभएका उहाँले त्यसपछि व्यवसायिक रुपमा गाईपालन थाल्नुभयो । 

अमेरिकाबाट आएर गोबर सोहर्न थाले भन्नेहरु अहिले उहाँप्रति गर्व गर्छन् । ‘पैसाकै लागि काम गरेको भए भएको जागिर किन छोड्थेँ । पेट्रोल पम्प पनि बेच्दैन्थेँ होला । यहाँ त सबैभन्दा ठूलो सन्तोष रहेछ,’ उहाँले भन्नुभयो ।

खेतीकिसानी नगर्नेहरुले नीति बनाउँदा किसान ठगिएको उहाँको भनाइ छ । किसानले कृषिउपज खेर फाल्नु पर्ने अवस्था आएको भन्दै पौडेल भन्नुहुन्छ, ‘कृषि मन्त्रीलाई सोध्नुहोस्, खुर्सानी कहिले रोप्ने, कहिले फल्छ ? जरामा फल्छ की टुप्पामा ?’

नबिकेको दूधको विकल्प

कोरोना भाइरसको जोखिमको कारण अहिले सबै क्षेत्रले पीडा भोगिरहेका छन् । समस्या आफ्नो ठाउँमा छ तर त्यसलाई निकास दिन भइरहेको ढिलासुस्तीले पौडेलजस्ता धेरै किसान पीडामा छन् । 

गोठमा रहेका गाईलाई यतिबेला दाना खुवाउन समस्या छ । दाना नपुगेपछि दूध उत्पादनमा कमी आउँछ । धेरथोर उत्पादन गरेको दूधले बजार पाउँदैन । 
गाईवस्तुलाई पेटभरि खुवाउन नपाएको पीडा एकातिर छँदैछ अर्काेतिर उत्पादन भएका दूध त्यतिकै खेर जाने अवस्था छ ।

यही समस्यालाई ध्यानमा राख्दै रुपन्देहीका पौडेलले उत्पादित दूधलाई वैकल्पिक बजार दिनुभएको छ । उत्पादन भएका दूधबाट पनिर, घिउ, चिजलगायत बनाउनुहुन्छ । यसको माग पनि राम्रो छ । 

उहाँ भन्नुहुन्छ ‘मसँग आवश्यक मेसिन छन् । यसले गर्दा दूध बिक्री नभएपनि दूधको सदुपयोग गरेर अरु सामग्री उत्पादन गर्न सकेको छु । तर सबै किसानसँग यो पहुँच हुँदैन । यसले गर्दा दूध खेर जाने अवस्था छ ।’ दूधको बिक्री भएको छैन भने फाल्नुको साटो गाईभैसीलाई खुवाउन उहाँको सुझाब छ । 

कृषिले सन्तुष्टि दियो

स्थायी शिक्षकको जागिर र नाफामा रहेको पेट्रोल पम्प बेच्न पौडेललाई जति अन्योल भयो त्यति नै सजिलो भयो कृषि कर्म गर्न । स्वदेशमै बसेर कृषि कर्म गर्न अमेरिका छोडेका पौडेलसँग सुरुमा परिवार रिसाए । तर पछि उहाँ त्यसमा नै खुसी हुने भएपछि परिवारले साथ दियो । तीस जनाभन्दा धेरै कामदारले उहाँको गाई फार्ममा रोजगारी पाएका छन् । आवश्यक पर्ने प्राविधिक पनि फार्ममा छन् ।

लकडाउनअघि पौडेलको गाई फार्मबाट हरेक दिन २ हजारदेखि २२ सय लिटरसम्म दूध उत्पादन हुने गर्दथ्यो । अहिले घटेर दैनिक करिब एक हजार लिटर मात्रै उत्पादन हुने गरेको छ । दानाको अभावले दूधको उत्पादन घटेको छ ।

पौडेल भन्नुहुन्छ, ‘नेपाल कृषि प्रधान देश भएपनि कृषि र पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र भयो । अब व्यवसायीकरण बनाउनुपर्छ ।’ कृषि सहकारी, कृषक समूह, कृषि अध्ययन संस्थानका विद्यार्थी तथा प्राध्यापकहरुका लागि पौडेलको फार्म पुस्तकालयजस्तै बनेको छ । उहाँको योगदानलाई कदर गर्दै बि.स. २०६७ सालमा राष्ट्रपतिले विकास रत्न पुरस्कारबाट सम्मानित गर्नुभयो ।

सरकारको भर किसानलाई

विदेशबाट आयात गर्नुको साटो देशमा नै उत्पादन भएका दूधको व्यवस्थापन नहुँदा एकातिर सस्तोमा दूध बेच्न किसान बाध्य छन् भने अर्कोतिर महँगोमा किन्न उपभोक्ता बाध्य छन् । 

उत्पादनअनुसारको बजारको ग्यारेन्टी र अनुदानको व्यवस्था गरेमात्रै पनि कृषि क्षेत्रले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ । किसानले उत्पादन गरेको दूध किनेर यतिबेला सरकारले धुलो पाउडर वा घिउ बनाएर बेच्न सक्छ । 

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउन किसानको पीरमर्कालाई छेक्ने बालुवाटरको ठूलो पर्खाललाई नीति निर्माण गर्नेले तोड्न सक्नुपर्छ । कृषि विज्ञ भन्छन्, ‘किसानप्रति सरकार जवाफदेही बन्न सके कृषि क्षेत्रको भविष्य सुनौलो छ ।’ 

अन्तिम अपडेट: असार १३, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • नारायण प्रसाद शर्मा

    May 5, 2020, 7:17 p.m.

    नेपालका किसान ले उत्पादन गरेका कृषि उपजको उचित मुल्य र बजारको अभावले किसानहरु बिदेशीन बाध्य छन् ! पेसा बाट निरास भएर बिदेशीएका करिब ५० लाख भन्दा बढी नेपालीहरुले आफ्नोश्रम बिश्वबजारमा बेची पसिना र रगत बगाएर पठाएको रकमले उनिहरु सबैको घर चल्ने गरेको ले उनिहरु अतिबिपन्न बाट मध्यम बर्गमा रुपान्त्रण भएका छ्न ! राज्यले दाबि गर्दछ कि हाम्रै बजेट र कार्यक्रम तथा सहयोग का कारण देशमा गरिबि न्युनिकरण भएको हो ! बरु कृषि पेसाबाट बिरक्तिएर बिदेशीए का श्रमिकहरूको रेमिट्यान्स बाट राज्यले लाभ लिएको देखिन्छ न कि राज्यको सहयोगमा नागरिकको जिवन सहज भएको ! नारायण !

  •  0 Reply

तपाईको प्रतिक्रिया