विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

 वैशाख २५, २०७७ बिहीबार ६:४०:८ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । 

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमणको आँकलन नगरि सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

बैठकमा सांसदहरुले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन सुरु गरेको, अनलाइन कक्षा सुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । साथै उनीहरूले देशको सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरे विद्यार्थीमाथि पक्षपात व्यवहार हुने विचार व्यक्त गरेका थिए । 

यद्यपि उनीहरूले अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा व्यक्त गरेका थिए । बैठकले कोरोना सङ्क्रमणको कारण एसईई, कक्षा ११ र कक्षा १२ को परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ । 

बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । 

समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकमा सांसद खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, गगनकुमार थापा, नवीना लामा, भैरवबहादुर सिंह, सुरेशकुमार राई, अन्जना विशंखे, नमिता चौधरीलगालयतले आफ्ना धारणा व्यक्त गरेका थिए ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया