लकडाउनमा बेरोजगार महिलाको प्रश्न - घरमा भएको चामल सकियो, कोठाभाडा कहाँबाट तिर्नु ?

 बैशाख २७, २०७७ शनिबार २०:४१:११ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - ओखलढुङ्गाकी कल्पना मगर मोरङको बुढीगङ्गा गाउँपालिकाको नेमुवामा रहेको कार्टुन उद्योगमा काम गर्नुहुन्छ । एक वर्षदेखि नियमित रुपमा काम गर्दै आउनुभएकी मगर विगत डेढ महिनादेखि कामबाट वञ्चित हुनुभएको छ ।  लकडाउनको कारण देखाउँदै उद्योगले सबै मजदुरलाई घर पठाएको छ । घर हुनेले आफ्नो घरमा बसेका छन् । मगर भने बालबच्चा लिएर भाडाको घरमा बस्दै आउनुभएको छ ।  

उद्योगले काममा नआउन भनेपछि घरमा भएको खाद्यान्न सकिएको र घरभाडा तिर्न समेत सकस भएको मगरले बताउनुभयो । अवस्था राम्रो हुँदासम्म उद्योगले काममा राखेको तर लकडाउन सुरु भएपछि काममा नआउन र आवश्यक परेमा बोलाउने भन्दै निकालेपछि समस्या भएको मगरको भनाइ छ । 

छाक टार्न धौ धौ

‘एक जनाले ५ जनाको परिवार पाल्नुपर्ने बाध्यताले उद्योगमा काम गर्दै आएको थिएँ,’ मगरले भन्नुभयो, ‘अहिले रोगको महामारी देखाउँदै उद्योगले नआउन भन्यो । यता राहत पनि दिएन । के हामी कोठा भाडामा बसेका नागरिक होइनौँ ?’

चार वर्षदेखि सोही कार्टुन उद्योगमा काम गर्दै आउनुभएकी अर्घाखाँचीकी  मेनुका मगरको समस्या पनि उस्तै छ । भाडाको कोठामा बस्दै आउनुभएकी मेनुकालाई कोठा भाडा तिर्न समस्या हुन थालेको छ ।  बीचमा काम सुरु भएको जानकारी पाएर काम गर्न गएपछि उद्योगले छिर्न नदिएर फर्काएपछि अहिले घरमै बस्नुपरेको मेनुकाले दुखेसो पोख्नुभयो । 

‘घरमा बसेको लामो समय भइसक्यो । हरेक दिन कमाएर घर चलाएका हामीलाई छाक टार्न धौ धौ हुन थालेको छ,’ मेनुकाले भन्नुभयो । खोटाङ घर भएकी सुुनिता थापालाई पनि अरु साथीको जस्तै समस्या भएको छ । टङ्कीसिनबारीमा रहेको म्याजिक चामल उद्योगमा काम गर्ने थापालाई उद्योगले नआउन भन्यो । घरमा बस्दा राहत लिन आउनेबारे पनि कसैले नसोधेको उहाँले बताउनुभयो । 

धेरै मजदुरका समस्या उस्तै

कल्पना, मेनुका र सुनिता मात्र होइनन्, उनीहरुसँगै आफ्नो गुनासा सुनाउने सुनसरी-मोरङ औद्योगिक करिडोरमा काम गर्ने धेरै मजदुरका समस्या उस्तै छन्  । उद्योगमा काम गर्ने धेरै मजदुरहरु जो कोठा भाडामा लिएर बसेका छन् उनीहरुको घरमा चुलो बल्न समस्या हुन थालेको छ ।

धेरै पटक गाउँपालिका तथा वडाबाट राहत दिने भन्दै नाम टिप्न आएको तर राहत नदिएको उनीहरुको गुनासो छ । यसअघि ५ भन्दा बढी पटक नाम टिपेर लगेको भएपनि राहत भने नदिएको बुढीगङ्गा वडा नम्बर ४ मा भाडाको कोठामा बस्दै आउनुभएकी सरस्वती कार्कीले बताउनुभयो ।

राहत पनि पाइएन

बुढीगङ्गा गाउँपालिकाले ६ हजार ३ सय ८३ परिवारलाई राहत वितरण गरेको थियो । तर अझै धेरै छुटेका छन्  । बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कासिम मियाँले राहत विरतणको लागि भएको तथ्याङ्क सङ्कलनमा केही छुटेको हुनसक्ने भन्दै फेरि लगत सङ्कलनको काम भइरहेको बताउनुभयो ।

चार सय मजदुर आफ्नो वडामा रहेको भन्नुभएका मियाँले  कोठा भाडामा लिएर बस्नेहरुलाई राहत वितरण नगरिएको स्वीकार गर्नुभयो । समस्यामा परेका त्यस्ता मजदुरलाई उद्योगले ५० प्रतिशत तलब उपलब्ध गराउने सहमति भएकोले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने मियाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया