प्रदेश १ : अन्य देशबाट आएका नेपालीलाई राख्न ५ हजार क्षमताको ‘होल्डिङ एरिया’सहितको क्वरेन्टीन निर्माण गरिँदै

 बैशाख २८, २०७७ आइतबार ९:१२:३० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश सरकारले प्रदेश १ का सिमा जिल्लाहरुमा भारत तथा अन्य देशबाट आउने नेपालीहरुको व्यवस्थापनको लागि ५ हजार क्षमताको होल्डिङ एरिया सहितको क्वरेन्टीन निर्माण गर्ने जनाएको छ ।

संवाद समूह मोरङले आयोजना गरेको संवादको क्रममा प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले अब बन्ने क्वरेन्टीन महिला, बालबालिका र अपांगमैत्री  बनाएर व्यवस्थित गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

‘पहाडी ११ जिल्लामा कति भारत र कति तेश्रो देशबाट आउने हुन्, त्यसको लगत संकलन गरेर मात्र क्वरेन्टीनको व्यवस्थापन गर्ने तयारी छ, मन्त्री कार्कीले भन्नुभयो, सुनसरी, झापा, मोरङ र ईलाममा होल्डीङ एरिया सहित ५ हजार क्षमताको क्वरेन्टीन निर्माणको चरणमा रहेकोले अब वैदेशिक रोजगारी तथा भारतबाट आउने नेपालीलाई क्वरेन्टीनमा राख्न समस्या हुँदैन, हामी तत्काल व्यवस्थापन गर्नेछौँ ।’

स्थानीय पालिकाहरु शुरुदेखि नै राहत वितरणमा हौसिएकोले दोश्रो चरणबाटै समस्या देखिन थालेको विषयमा समेत छलफल भएको छ । मन्त्री कार्कीले प्रदेश सरकारले कोही पनि नागरिकलाई भोकै नराख्ने रणनीति बनाएकोले नागरिक भोकै नहुने स्पष्ट पार्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मोहन जोशीले क्वरेन्टीनमा रहेका नागरिकहरुको लागि आधारभुत आबश्यकता गाँस, बास र कपासको व्यवस्था राज्यको तर्फबाट गर्नु पर्ने बताउनु भयो । 

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले महिला, बालबालिका र जेष्ठ नागरिकको अबस्थाको बारेमा अझै कति प्रभाबित भन्ने स्पष्ट तथ्यांक नभएकोले उनीहरुको व्यवस्थापन हुन नसकेको जानकारी गराउनु भयो । तत्काल समन्वय गरेर तथ्यांक व्यवस्थापन गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले स्थानीय पालिकाले गर्न सक्ने कामहरु स्थानीय तहबाट नै भएपनि श्रोत साधनको अभाबले गर्दा समस्या भएको बताउनु भयो । क्वरेन्टीनमा बस्ने नागरिकले दैनिक मासु, मदिरा खोज्ने जस्ता समस्या आफ्नो पालिकामा आएकोले  क्वरेन्टीनलाई व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल कायम रहेको बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालय  विराटनगरका प्रवक्ता सुमनकुमार तिम्सिनाले लकडाउनपछि महिला र बालबालिकामाथि हुने हिंसाको घटनामा कमी आएको बताउनु भयो । उहाँले केही क्वरेण्टीनमा समस्याकको रुपमा आएपनि ति समस्या समाधान भएको र सुरक्षित रुपमा नागरिकको व्यवस्थापन भईरहेको जानकारी दिनुभयो । 

मनोपरामर्शकर्ता मञ्जीता उपाध्यायले कोरोनाको कारण मानसिक स्वास्थ्यमा देखिएको समस्यालाई समाधान गर्न हरेक पालिकामा काउन्सिलिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो । हरेक क्वारेन्टीनमा  प्रदेश सरकारले काउन्सिलिङ गर्ने व्यवस्था मिलाउने हो भने पनि सहज हुने उल्लेख गर्नुभयो ।

सरोकारवालाबाट आएको सुझावलाई कार्वान्वयनमा लैजाने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । मन्त्री कार्कीले  सरोकारवाला क्षेत्रबाट आएको सुझावलाई कार्वान्वयनमा लैजानको लागि अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया