भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको बैठकमा विवाद, अर्काे बैठक भोलि बिहान ८ बजे बस्ने

 वैशाख २८, २०७७ आइतबार १४:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरl बैठक स्थगित गरिएको र आउँदो बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए । 

परराष्ट्र मन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय नगरl आउँदो बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नुपर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भए पनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

बैठक सकिएपछि समिति सभापति पवित्रा निरौला खरेलले ‘सकभर भोलि ११ बजे बैठक बस्ने सोच हो । तर अहिले यो विषयमा टुङ्गो दिन सक्दिन’ भन्ने जवाफ आएसँगै बैठकमा विवाद सुरु भएको हो ।  सांसद भीम रावलले ‘संसद्को कुरा गर्नुभयो, संसद् के का लागि’ भन्दै प्रश्न गर्नुभयो ? 

उहाँले भन्नुभयो, ‘देशको सार्वभौम सत्तामाथि नाङ्गाे हस्तक्षेप भएको छ । अनि समय के का लागि हो ? सरकार के का लागि हो ? देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ ।’ चर्काचर्किपछि मन्त्री ज्ञवालीले संसद्का सबै समिति बराबर भएकाले सबैलाई समय दिनुपर्ने बाध्यताका कारण अहिले नै भन्न नसकिने बताउनुभएको थियो । 

विदेशमा अलपत्र परेका नेपाली नागरिकलगायतका विषयमा अन्य समितिहरुले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराउने बताउनुभएको थियो । 

आइतबारको समिति बैठकमा मन्त्री ज्ञवालीले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको बताउनुभयो । केही प्राविधिक कुराहरु मिलाउन बाँकी रहेकाले नक्सा अहिलेसम्म सार्वजनिक नभएको उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले नक्सा सार्वजनिक नभएकै कारण लिपुलेक क्षेत्रको १८/१९ किलोमिटर भूमि मिचिएको हो भनेर नसोच्न पनि आग्रह गर्नुभयो । 

सभापति निरौलाले परराष्ट्र मन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि भोलि बिहान साढे ८ बजे बैठक बस्ने बताउनुभयो । कुटनीतिक र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया