पाकिस्तानमा 'लकडाउन'को अवधि मे ३१ सम्म लम्बियाे

 बैशाख २८, २०७७ आइतबार १७:५३:४७ | रासस
unn.prixa.net

पाकिस्तान – पाकिस्तानमा लागू हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ । 

पाकिस्तानी सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुने गरी केही खुकुलो पनि गरिएको जनाइएकाे छ ।

सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले निकालेकाे सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ । 

पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार देशभरि गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार नाै सय ९१ जना नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको ज्यान गएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको सङ्ख्या ६ सय ३९ पुगेको छ ।कोरोना भाइरसका कारण बिरामी भएकामध्ये आठ हजार २३ जना भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया