फौजी किराको नेपाल यात्राको एक वर्ष : यसले रातिराति बाली सखाप पार्छ

 बैशाख २८, २०७७ आइतबार १९:४३:९ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - किसानको मिहिनेत र पसिनालाई सखाप पारिदिने फौजी किराको नेपाल यात्राको एक वर्ष पूरा भएको छ । सेनाजस्तो फौजमा हिँड्ने यो किरा बालीनालीमा प्रवेश गरेपछि त्यसलाई सखापै पार्छ । 

अहिले फौजी किरा भर्खरै हुर्किंदै गरेका मकैमा सल्किएको छ । हरेक वर्ष फौजी किराको प्रकोपको मारमा किसान पर्ने गरेका छन् । हरेक बालीमा किसानले नोक्सानी खेप्नुपर्छ । 

बालीका लागि निकै हानिकारक हुने यो किराले मकै मात्र नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु र घाँसमा समेत नोक्सानी पुर्याउने गरेको कृषि विज्ञहरु बताउँछन् । तर हरेक वर्ष ठूलो नोक्सानी गर्ने यो किराको न्यूनीकरण हुन सकेको छैन । कृषि वैज्ञानिक भन्छन्, ‘यस्ता खालका किरालाई अन्त्य गर्न सकिँदैन तर रोकथाम गर्न सकिन्छ ।’

के हो फौजी किरा ? 

मकै बालीमा अहिले देखिएको फौजी किरा अमेरिकी किरा हो । यसअघि धान र गहुँमा भने नेपालकै रैथाने फौजी किरा देखिएको थियो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कीट विज्ञान महाशाखाका  वरिष्ठ कृषि वैज्ञानिक अजय श्रीरत्न बज्राचार्य भन्नुहुन्छ, ‘अमेरिकी फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम ‘स्पोडोप्टेरा फ्र्युगिपेर्डा’ हो ।’

विशेषगरी यो किरा बेलुका र रातिको समयमा चर्न रुचाउँछ । तर दिउँसोको समयमा बालीनालीमा असर नगर्ने चाहिँ होइन । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको वरिष्ठ वैज्ञानिक बज्राचार्य बताउनुहुन्छ । 

उहाँका अनुसार पोहोर वैशाख २६ गते नवलपरासीको गैँडाकोट क्षेत्रमा पहिलो पटक यो किरा भेटिएको थियो । किराले बाली सखाप पारेपछि नार्कको विज्ञ टोली अनुसन्धानको लागि नवलपरासीमा पुगेको थियो । 

यो किरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखिएको थियो । अमेरिकाका विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो किरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बाङ्गलादेशमा देखा परेको थियो ।

सन् २०१९ को वैशाख २६ गते नवलपुरमा रहेको गैँडाकोटको मकैबारीमा भेटिएपछि नेपालमा फौजी किराको प्रकोप फैलिएको वैज्ञानिकले पुष्टि गरेका छन् । 
वरिष्ठ वैज्ञानिक बज्राचार्यका अनुसार विभिन्न अनुसन्धानपछि फौजी किराको रोकथामका लागि प्रयास भएका छन् । तर यसलाई निमिट्यान्न पार्ने सम्भावना कम छ । 

यो कीरा बालीका लागि निकै हानिकारक हुने गर्छ । बालीमा क्षति पुर्याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । यसले मकैको पात, गुभो, जुँगा र घोगासमेत खाइदिन्छ ।

मकै मात्रै नभई यसले जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु र घाँसहरुमा पनि असर पुर्याउने गर्छ ।
बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा धेरै प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।
मिचहा किरा समेत भनिने यो किराको रैथाने जात नेपालमा पनि छ । रैथाने जातले धान र गहुँ बालीमा नोक्सानी गर्ने गरेको वरिष्ठ किट वैज्ञानिक सुनिल अर्यालले बताउनुभयो । 

कसरी पहिचान गर्ने ?

हिउँदपछि अर्थात् गर्मी बढ्दै जाँदा फौजी किरा सक्रिय हुन्छन् । तापक्रम बढेसँगै यो किराले आफ्नो सक्रियता बढाउँछ । फौजी किराको पोथीले आफ्नो जीवनमा ३ सयदेखि ५ सय वटासम्म फूल पार्न सक्छ । 

यसले गर्ने क्षति अरु किराकोभन्दा फरक हुन्छ । यसले पातलाई कोतरेर खान्छ । पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी राखेर बिरुवाको पात खाने गर्छ । त्यसपछि यो किराले पातलाई छिया छिया पारेर खान्छ । 

बिस्तारै गुभोमा नोक्सानी गर्छ । यतिवेला गुभोमा काठका ससाना धुलोजस्ता किराको दिसा भेटिन्छ । यो किराको लार्भा हो कि होइन भनेर थाहा पाउन पेटको आठौँ भागमा हेर्न सकिन्छ । यो किराको पेटमा वर्गाकार चार वटा ठूला ठूला काला धब्बा हुने विज्ञ बताउँछन् । 

यो किराको लार्भाले पनि उज्यालो रुचाउँदैन । तर यसो भन्दैमा उज्यालोमा यसले बालीलाई नोक्सानी नगर्ने होइन । उज्यालोमा पनि यसले गुभोमा टाउको तलतिर पारेर नोक्सानी पुर्याउने गरेको विज्ञ बताउँछन् । 

यसले मकैको घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञले बताएका छन् । तराई क्षेत्रमा प्रकोपको रुपमा फैलिएको यो किरा पहाडी जिल्लामा समेत पुगेको छ । 

घाँस, बोटबिरुवामा आश्रय

फौजी किरा जाडोमा बाँच्न सक्दैन । तर न्यानो ठाउँमा सानो सङ्ख्यामा बाँचेका किराहरु गर्मी बढेसँगै उडेर फैलिँदै जान्छन् । यो किरा एक रातमा सय किलोमिटरसम्म उड्न सक्छ । पुतली बनिसकेपछि फूल पार्नुभन्दा अघिको अवस्थामा यो किरा झण्डै ५ सय किलोमिटरसम्म उडेको प्रमाण भेटिएको छ । 
बाली कसरी जोगाउने

यो किराको रोकथामका लागि एकीकृत शत्रु जीव प्रणालीलाई प्रयोग गर्न सकिन्छ । फौजी कीराका केही प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न सकिने कृषि तथा कीट वैज्ञानिकहरु बताउँछन् । यो किराको प्रकोप नियन्त्रण बारुलोजस्ता शत्रु किरामार्फत गर्न सकिन्छ । 

त्यस्तै, चराहरु बस्न मिल्ने टोट्का बनाउन सकिन्छ । त्यस्ता टोट्कामा चराहरु बस्ने र फौजी किरालाई खाने विज्ञको भनाइ छ । त्यसैगरी फौजी किरालाई मन नपर्ने बाली लगाए यसलाई नाश गर्न सजिलो हुन्छ । जस्तै बोडी र सिमीलगायतका लहरेबाली मकैमा छरिदिए यसको परागले फौजी किरा मकैमा सल्कन पाउँदैन । यस्तै खेतबारीको डिलडिलमा नेपियर घाँस लगाउन पनि विज्ञले सुझाव दिएका छन् । 

पासो थापेर नष्ट

यसबाहेक फौजी कीराको नियन्त्रणका लागि खेतभित्र र बाहिर रहेका झारपात उखेल्ने, बाली उठाएपछि लार्भा नष्ट गर्न खेत जोतेर ठुटा जलाउने वा हटाउने र खेतमा दुई चार दिनसम्म पानी लगाउने गर्नुपर्छ ।

यस्तै फौजी किरा दिनमाभन्दा रातमा सक्रिय हुने भएकोले यसलाई पासो थापेर पनि नष्ट गर्न सकिने विज्ञ बताउँछन् । फौजमा हिँड्ने यो किराको बाटो पहिल्याएर त्यहाँ कुलेसो वा कुलो बनाएर बीचबीचमा खाल्डो बनाई पुर्न सकिन्छ । 

यस्तै, खेतमा पानी पठाएर दुई लिटर मट्टीतेल राखी डोरीको सहायताले बोट हल्लाएर लार्भा मट्टितेल मिसिएको पानीमा झारेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि खेतमा पानी पठाएपछि त्यसलाई रोक्नुपर्छ । 

यो किराबाट बालीलाई जोगाउने उत्तम उपाय भनेको किसानले बालीनालीलाई अनुगमन गरिरहनु हो । यो किरा भए नभएकोबारे पहिलो चरणमै थाहा पाउन सके जैविक विषादीको प्रयोगबाट यसलाई न्यूनीकरण गर्न सकिन्छ । 

बाली लगाइसकेपछि यो किराको प्रकोप देखिएको छ भने विषादी छर्नुको विकल्प नहुने विज्ञ बताउँछन् । नेपालमा अहिलेसम्म तीन प्रकारका विषादी उपयुक्त देखिएको र ती विषादी कृषि विज्ञको सल्लाहमा बालीमा छर्न किसानलाई सुझाब छ । किराले गुभोमा नोक्सानी पुर्याउने भएकाले विषादीलाई गुभोमा पनि छर्कनु पर्छ । 

विषादीले मकैका कलिला बिरुवालाई नोक्सान गर्दैन । तर यो विषादी छर्ने वेलामा किसानले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ । विषादी छर्ने वेला माक्ससँगै हातमा पञ्जा र खुट्टामा बुट लगाउनुपर्छ ।

अन्तिम अपडेट: भदौ १९, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Om Rana

    May 11, 2020, 2:09 p.m.

    यो फौजी कीरालाई रोक्नको लागी कुन चाही जैविक औषधि छार्कनु पर्छ होला ? कृपया औषधिको नाम भन्दिए सजिलो हुने थिए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया