महामारीमा मनकारी महिला : कोही सडकमा खाना खुवाउँदै, कोही घरघर खाद्यान्न पुर्‍याउँदै

 बैशाख ३०, २०७७ मंगलबार १३:२४:४६ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ -  ‘हामीले खान नपाएको दुई छाक भयो । मेरो बच्चालाई बिस्कुट र पानी मात्रै खुवाइरहेकी छु,’ यस्ता विवरण लेखिएका म्यासेजहरु इन्दिरालाई दिनहुँ आइरहन्छन् । म्यासेज हेर्ने बित्तिकै उहाँ म्यासेज पठाउने व्यक्तिहरु बसेको ठाउँमा पुगिहाल्नुहुन्छ ।  

कतिपयले उहाँलाई फेसबुकमा म्यासेज गर्छन् भने कतिले सहयोग गरिदिनुपर्यो भन्दै फोन गर्छन् । फोन आएकै भरमा इन्दिरा उनीहरु बस्ने ठाउँमा पुग्नुहुन्छ ।
कोरोना सङ्क्रमण हुने डरले मानिसहरु घरबाट बाहिर निस्कन डराइरहेको बेला इन्दिरा भने गरिब, खान नपुग्ने महिला र विद्यार्थी खोज्दै गल्ली गल्ली धाउनुहुन्छ ।

पाँच सयलाई खाद्यान्न

जुन दिन त्यस्ता महिला अथवा खाना नपाएर केटाकेटीलाई खोले र बिस्कुट खुवाइरहेकालाई दुई छाक खान दिनुहुन्न त्यो दिन इन्दिरालाई सन्तोष लाग्दैन ।
युट्युबमा कसैले रोएको वा लकडाउनको कारण भोकै बस्नुपरेको देख्दा इन्दिरा त्यस्तो व्यक्तिको ठेगाना पत्ता लगाउनुहुन्छ र खाद्यान्न लिएर कुदिहाल्नुहुन्छ । 
यस्तो जोखिममा आफ्नो ज्यानभन्दा अरुको भोक मेट्न उहाँ कहिले सुकुम्बासी बस्ती पुग्नुहुन्छ त कहिले इँटा भट्टा पुग्नुहुन्छ । जहाँ पुगेपनि महिलाका समस्या उहाँले एउटै भेट्नुहुन्छ । श्रीमान भएरै कसैलाई दुःख छ त कोहीसँग श्रीमान नहुँदा दुःख । 

खान नपाएकालाई दुई छाक भएपनि खाना उपलब्ध गराउँदै आउनुभएकी  इन्दिरा घले महिला अधिकारकर्मी हुनुहुन्छ । उहाँ परिवर्तनको लागि सहकार्य नेपाल नामक गैरसरकारी संस्थाकी अध्यक्ष हुनुहुन्छ । सहयोगी हातहरुबाट जम्मा हुने रकमले उहाँ खाद्यन्न सहयोग गरिरहनुभएको छ ।

महिला र दलितका हरेक समस्यालाई उठाउने इन्दिराको पहाडको घर प्रदेश नम्बर १ को धनकुटा हो । उहाँ अहिले ललितपुरमा बस्दै आउनुभएको छ । अहिलेसम्म उहाँले पाँच सयभन्दा धेरै जनालाई खाद्यान्न सहयोग गरिसक्नुभएको छ ।

प्रति व्यक्ति १५ किलो चामल, एक किलो गेडागुडी, चार किलो आलु, एक प्याकेट सोयाबिन, एक प्याकेट नुन, एक लिटर तेल, एउटा मास्क र स्यानेटरी प्याड वितरण गरिरहनुभएको छ । अहिलेसम्म उहाँले ५ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसक्नुभएको छ । 

माग्नेहरुलाई दुबै छाक खाना

काठमाण्डौकी सुचित्रा श्रेष्ठ पनि लकडाउनको वेला खाना नपाएकाहरुलाई खाना खुवाउने अभियानमा लाग्नुभएको छ । उहाँको अभियान भने इन्दिराकोभन्दा अलि फरक छ । 

मन्दिर परिसर वरिपरि बस्ने र सडकमा बसेर माग्नेहरुलाई सुचित्राले साँझ बिहान दुबै छाक खाना खुवाउनुहुन्छ । सँगै वीर अस्पतालका बिरामी र कुरुवालाई समेत खाना खुवाउनुहुन्छ । उहाँले खाना पकाएर खुवाउन थालेको आज ३९ दिन भयो । 

गोरखनाथ आश्रमसँग जोडिएर आर्थिक अभियान जुटाएकाहरुको नेतृत्व गर्दै सुचित्राको टोलीले विपन्न वर्गलाई खाना खुवाइरहेको छ । 

उहाँको टोलीले काठमाण्डौको खुल्लामञ्च, थापाथलीको राम मन्दिर र पशुपति मन्दिर तथा कोटेश्वर र नैकाप गरी चार ठाउँमा दैनिक तीन हजारभन्दा बढीलाई खाना खुवाइरहेकोे छ । 

यो अभियानबाहेक सुचित्राले बाहिरी जिल्लाबाट आएर भाडाको कोठामा बसिरहेका ३४ जना विद्यार्थीलाई व्यक्तिगत सहयोग गर्नुभएको छ । जुम्ला, हुम्ला र कालिकोटबाट आएका विद्यार्थीलाई एक बोरा चामल, दाल र तरकारी दिएको सुचित्राले बताउनुभयो ।

एक हजारलाई खाद्यान्न

यस्तै बाल सारथी नेपालका माला खरेल र रीता लिम्बुसँग जोडिएर एक हजारभन्दा बढी जनालाई खाद्यान्न सहयोग गरिएको सुचित्राले भन्नुभयो । 
सुचित्राजस्तै मानव अधिकारको लागि एकल महिलाले पनि लकडाउनको समयमा खाना पकाएर खुवाइरहेको छ । यसको नेतृत्व अध्यक्ष लिली थापाले गरिरहनुभएको छ । 

बुढानिलकण्ठ नगरपालिका र त्यसका वडाहरुको समन्वयमा गएको वैशाख ४ गतेदेखि हरेक दिन साँझ ४ बजेदेखि  ६ बजेसम्म अध्यक्ष थापाले नगरपालिकाभित्रका अति विपन्न वर्गलाई बेलुकाको खाना उपलब्ध गराउँदै आउनुभएको छ । 

जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, श्रमिक र अति विपन्नलाई उहाँले खाना खुवाइरहनुभएको छ । जिल्लामा रहेका एकल महिला सञ्जालहरुले पनि यो अभियानमा निकै सहयोग गरेको थापाको भनाइ छ ।

नेपालीको मनै ठूलो

दिनहुँ हजारभन्दा बढीलाई खाना खुवाउँदै आउनुभएकी थापा र तीन हजार बढीलाई खुवाउनुहुने सुचित्राले नेपालीहरुकै सहयोगमा गरिबलाई सहयोग गर्नुभएको छ । 

कसैले तेल, कसैले पानी, दाल, चामल र तरकारी सहयोग गरेको बताउँदै सुचित्राले नेपालीहरुको मन ठूलो भएको बताउनुभयो ।  एक नेपालीको दुःख पीडा अर्को नेपालीले बुझेको भन्दै उहाँले सहयोगी हातहरु हुँदा यो काम गर्न सफल भएको बताउनुभयो ।

मजदुरहरु खुसी

महामारीको वेला महिला अधिकारको विषयमा आवाज उठाउँदै आएका महिलाले गरेको सहयोगले मजदुरहरु खुसी छन् । भक्तपुरको इँटा भट्टामा काम गर्ने मञ्जिला श्रेष्ठले काम बन्द भएर खान समस्या भएको वेला सहयोग पाउँदा खुसी लागेको बताउनुभयो । 

मञ्जिलाको पाँच जनाको परिवार भक्तपुरमै ज्यामी काम गर्दै बसेको छ । पैसा नहुँदा छोराछोरीलाई चिउरा र चिया खुवाउदै आउनुभएकी मञ्जिलाले केही छाकको लागि भएपनि राहत पाउँदा खुसी लागेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय संस्था किन मौन ?

अन्य समयमा गरिब, बालबालिका, पिछडिएको वर्गको लागि भन्दै काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था अहिले मौन छन् । भूकम्पको बेला जसरी राहत वितरणमा ती संस्था सक्रिय थिए त्यसविपरीत अहिले  उनीहरु चुपचाप बसेका छन् ।  विगतको विपद्माझैँ अहिले ती संघसंस्था सक्रिय नभएको इन्दिराले बताउनुभयो । 

सरकारको राहत पुगेन 

दैनिक ज्याला मजदुर गर्नेहरुलार्ई नेपाल सरकारले राहत वितरण गरिरहेको छ । सरकारले वितरण गरेको राहतबाट प्रायः सबै असन्तुष्ट छन् । ‘सरकारले राहत दिएको भए आफूहरुले दैनिक यसरी खाना पकाएर खुवाउनु पर्दैन्थ्यो,’ खाना खुवाउने अभियानमा लागेकाहरु बताउँछन् ।  

इन्दिरा, सुचित्रा र रीता लिम्बुका नजरमा सरकारले वितरण गरिरहेको राहत प्रभावकारी छैन । सुचित्रा भन्नुहुन्छ, ‘यदि सरकारले राहत दिएको भए मुसलधारे पानीमा भिज्दै उनीहरुले रत्नपार्कमा खानाको लागि लाइनमा बस्नुपर्ने थिएन । सरकारले राहत दिएको होला । तर त्यो सबैको भोको पेटमा पर्न सकेको छैन ।’
सरकारले बाँडेको राहत पार्टीका कार्यकर्ता र आफन्तहरुलाई मात्रै गएको सर्वसाधारण गुनासो गर्छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया