चीनमा झण्डै ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

 बैशाख ३१, २०७७ बुधबार ७:२१:१५ | रासस
unn.prixa.net

काठमाण्डौ - चीनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई फेरि चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ ।

सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन् । यो चीनभर रहेका विद्यार्थीहरूको कुल सङ्ख्याको ३९ प्रतिशत हो ।

चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भन्नुभयो, प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ । सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी सङ्ख्याको ३९ प्रतिशत सहभागिता भएको छ । बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ ।

विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस शुरूमा अघिल्लो वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट पत्ता लागेको थियो । चीनमा कोरोना भाइरसबाट मंगलबारसम्ममा करिब ८३ हजार व्यक्ति सङ्क्रमित बनेका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्ला दिनमा सङ्क्रमणका घटना छिटफुट देखिए पनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तरिकरूपमा सङ्क्रमण हुने क्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया