पाकिस्तानमा एकैदिन २ हजार काेराेना सङ्क्रमित थपिए

 बैशाख ३१, २०७७ बुधबार २१:१५:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा एकैदिन दुई हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानी सरकारले गएको शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो ।

पछिल्लो समय दुई हजार दुई सय ५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसकाे कारण थप ३१ जनाको ज्यान गएकाे छ । योसँगै कुल मृतकको सङ्ख्या सात सय ३७ पुगेको छ । 

पाकिस्तानमा अहिलेसम्म ३४ हजार तीन सय ३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरिका सङ्क्रमितमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जाबमा कुल १३ हजार दुई सय २५ जना सङ्क्रमित छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६ सय १० जना रहेका छन् ।   

त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार एक सय ५८ जना, इस्लामावादमा सात सय५९ जना, गिल्गिट बाल्टीस्टानमा चार सय ७५ जना र पाकिस्तान नियन्त्रित कश्मीरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 

कुल सङ्क्रमितमध्ये आठ हजार आठ सय १२ जना निकाे भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन अत्यधिक वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उल्लङ्घन हुनुलगायतका कारणले सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विशेष उडानमार्फत पाकिस्तानले तीन सय ७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो ।

 यसअघि गएको अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत चार हजार तीन सय ४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया