नेपालमा धेरै कोरोना सङ्क्रमितमा सामान्य लक्षण पनि देखिएन, खुसी हुने कि दुःखी ?

 जेठ ४, २०७७ आइतबार १५:३९:५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - चार महिनाअघि चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका सबैजसो देशमा फैलिएको छ । विभिन्न देशले भाइरसबाट छुटकारा पाउन आफ्नो पुँजी, शक्ति र सामथ्र्य प्रयोग गरिरहेका छन् । तैपनि धेरै देशमा कोरोना नियन्त्रण हुनुको सट्टा सङ्क्रमण दर बढ्दो छ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि विश्वका एक सयभन्दा धेरै कम्पनीले खोप (भ्याक्सिन) बनाउने काम सुरु गरेका छन् । खोप तयार गरी मानव समाजलाई कोरोना मुक्त बनाउन यी कम्पनीहरु तल्लीन छन् । सफलता भने हासिल हुन सकेको छैन । अहिलेसम्म न औषधि पत्ता लागेको छ न सङ्क्रमणको दर नै घटेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस नियन्त्रणमा आउन लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । कति समयपछि भाइरस नियन्त्रणमा आउला र जनजीवन सामान्य बन्ला भन्नेमा सबैको चासो छ ।  

पछिल्ला केही अध्ययनमा वैज्ञानिकहरुले कोरोना भाइरसका केही उपप्रजातिले मानव शरीरमा विस्तार हुनेगरी आफूलाई रुपान्तरण गरेको प्रमाण फेला परेको दाबी गरेका छन् । वैज्ञानिकहरुले ६२ देशबाट सङ्कलन गरिएका कोरोना भाइरसका ५३ सयभन्दा बढी जिनोमको विश्लेषण गर्दा यस्तो पाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन् । तर लण्डन अफ हाइजिन एण्ड ट्रपिकल मेडिसनका अनुसन्धानकर्ताहरुले उत्परिर्वतनबाट भाइरसमा कस्तो प्रभाव परेको छ भन्ने स्पष्ट नभएको बताएका छन् । 

विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकृति र त्यसको उत्परिवर्तनबारे चनाखो भएर निगरानी गर्नुपर्ने अध्ययनले भनेको छ । सुरुवाती चरणमाभन्दा पछिल्लो समय कोरोना भाइरस तीव्र गतिमा फैलिनुको कारण उसमा आएको परिवर्तन हुन सक्ने वैज्ञानिकले बताएका छन् । 

नेपालमै धेरै सङ्क्रमितमा लक्षण देखिएन 

स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा फेला परेका सबै सङ्क्रमितको अवस्था सामान्य छ । पिसिआर विधिबाट कोरोना जाँच गर्दा सङ्क्रमण देखिएकाहरुमध्ये धेरैमा सामान्य लक्षणहरु समेत देखिएको छैन । विश्वका अन्य देशमा कोरोनाबाट मर्नेहरुको सङ्ख्या उच्च हुँदा नेपालमा सङ्क्रमण देखिएकाहरुमा सामान्य लक्षण पनि नदेखिनु चिन्ता र खुसी दुबै नजरबाट हेर्न थालिएको छ । धेरैले नेपालमा कोरोना देखिएपनि महामारीको रुप नलिने तर्क गर्दै आइरहेका छन् भने केहीले लक्षण नदेखिनुलाई झनै खतराको विषय मानेका छन् ।

कोरोना भाइरस अरु देशमा व्यापक रुपमा फैलिसक्दा पनि नेपालमा ढिलो कोरोनाको सङ्क्रमण फैलिनु र युरोपका देशको तुलनामा कम विनाशकारी हुनुलाई विज्ञहरुले विभिन्न कोणबाट अर्थ्याएका छन् । 

भाइरसको प्रकृतिमा परिर्वतन 

युरोपलगायतका धेरै देशको तुलनामा नेपालमा अहिलेसम्म सङ्क्रमण दर र मृत्यु दर कम हुनु भाइरसको जिनमा आएको परिर्वतन नै हो भन्ने कुनै वैज्ञानिक प्रमाण अझैसम्म छैन । तैपनि धेरै विज्ञले सङ्क्रमण दर र मृत्यु दर कम हुनुमा भाइरसमा आएको परिर्वतन प्रमुख कारण हुन सक्ने आशङ्का गरेका छन् ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे विश्व इतिहासलाई केलाएर हेर्दा भाइरस केही समय सक्रिय हुने र त्यसपछि बिस्तारै निस्क्रिय हुँदै जाने गरेको पाइएको बताउनुहुन्छ । तर भाइरस कति समयसम्म सक्रिय रहन्छ भन्ने कुरा उसको प्रकृतिमा भर पर्ने उहाँको भनाइ छ । 

कतिपय भाइरस देखा पर्न सुरु भएको ६ महिनादेखि १ वर्षसम्म नियन्त्रणमा आउने गरेको विभिन्न अध्ययनले देखाएको छ । तर कोरोना भाइरस लामै समय सक्रिय रहने प्रकृतिको भएको उहाँ बताउनुहुन्छ । विगतमा सार्स र मर्स भाइरस ६ महिनासम्म सक्रिय रहेको पाइएको थियो । 

खानपान र जीवनशैली सहायक

डा. पाण्डे भन्नुहुन्छ, ‘एउटा अचम्म लाग्ने कुरा के हो भने युरोपलगायतका देशको तुलनामा नेपालमा भएको सङ्क्रमण कम घातक देखिन्छ । तर अमेरिका र बेलायतलगायतका देशमा बसेका नेपालीले त्यहीको खानपान र जीवनशैली अवलम्बन गरेकाले त्यहाँ नेपालीहरुको ज्यान गइरहेको छ । यसलाई खानपान र जीवनशैलीले पारेको प्रभावको रुपमा लिन सकिन्छ ।’ 

शरीरमा रोगसँग लड्ने क्षमताले पनि सङ्क्रमण दरलाई फरक पार्ने भन्दै उहाँ भन्नुहुन्छ, ‘हामी धेरै पानी खेलाउँछौँ । खानेकुराहरु राम्ररी पकाएर मात्रै खान्छौँ । नमस्कार गर्ने चलनले गर्दा भाइरस घातक नभएको हुन सक्छ ।’ तर यसबारे विस्तृत अध्ययन भएको छैन । विगतमा सार्स र स्वाइन फूलुको प्रभाव पनि नेपालमा कम परेको थियो । 

भोलिका दिनमा कडा हुन सक्ने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी  अहिलेकै अवस्थामा केही भन्न नसकिने बताउनुहुन्छ । बिनाअध्ययन यही कारणले सङ्क्रमण र मृत्युदर कम भएको भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।  सङ्क्रमण दर बढ्दै छ । त्यसैले भोलिका दिनमा रोग कडा पनि हुन सक्छ  । प्रेसर र सुगर रोग भएका बिरामीमा कोरोनाको सङ्क्रमण देखियो भने घातक हुन सक्ने उहाँ बताउनुहुन्छ । 

विभिन्न अध्ययनले सुरुका दिनदेखि अहिलेसम्म आइपुग्दा सङ्क्रमण दर कम देखाएपनि अमेरिका, बेलायत, फ्रान्स र स्पेनलगायतका देशमा कतिमा खोकी लागेको थियो, कतिलाई टाउको र पेट दुख्नेलगायतका समस्या भएको थियो भन्ने यकिन नभएकाले नेपालमा जटिल अवस्था आउँछ कि आउँदैन अहिल्यै भन्न नसकिने डा. राजभण्डारीले बताउनुभयो । नेपालमा अहिलेसम्म यसबारे अध्ययन भएको छैन । तर भाइरसको प्रकृति परिर्वतन भएको अनुमान गरिएको उहाँ बताउनुहुन्छ ।

कतिपय अवस्थामा परिवारकै एक सदस्यमा सङ्क्रमण देखिँदा अर्कोमा नदेखिनुले भाइरसको प्रकृतिमा परिवर्तन आएको हुन सक्ने उहाँको भनाइ छ । बरु यसको सकारात्मक कुरा भनेको मानिसको जीवनशैली परिर्वतन हुँदै गएको उहाँले बताउनुभयो । मानिसहरुमा हात धुनुपर्छ, मास्क लगाउनुपर्छ, फलफुल र तरकारी राम्ररी पखालेर खानुपर्छ भन्ने बानीको विकास भएकोले अरु रोगको खतरा कम भएको उहाँको भनाइ छ । 

व्यापक अनुसन्धान आवश्यक

नेपालमा जस्तो भयावह स्थितिको परिकल्पना गरिएको थियो त्यस्तो अवस्था अहिलेसम्म देखिएको छैन । यसको अर्थ आउँदा दिनमा लक्षण कडा हुँदैन भन्ने भन्न नसकिने विज्ञहरुले बताएका छन् । यसमा विशेषगरी भाइरसको भिन्नता र रोग विकास गर्ने क्षमता, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता र हावापानीजस्ता कारण हुन सक्ने भनिएको छ । तर यसमा वैज्ञानिक कारण छैन । यस विषयमा व्यापक अनुसन्धान गर्न आवश्यक छ । 

नेपालमा अहिले देखिएको भाइरसको प्रकृतिबारे अध्ययन र अनुसन्धान भएको देखिँदैन । तर यो भाइरस फैलँदै जाँदा जिनमा पनि थोरैथोरै परिवर्तन भएर विभिन्न ‘स्ट्रेन’मा विभाजित भइरहेको अनुसन्धानहरूले देखाएका छन् । अमेरिकी वैज्ञानिकहरूले वुहानमा देखिएकोभन्दा अमेरिकामा देखिएको भाइरसको जिनमा केही भिन्नता देखिएको सार्वजनिक गरेका छन् । उनीहरू अमेरिकामा देखिएको भाइरस तुलनात्मक रूपमा कडा प्रकारको भएको बताउँछन् ।

नेपालमा अहिले सबैभन्दा धेरै भारतबाट भित्रिएका सङ्क्रमित छन् । केही अपवादलाई छाडेर सङ्क्रमितबाट आफन्त र साथीभाइमा भाइरस सजिलै सरेको प्रमाण देखिँदैन । अरू देशमाजस्तो कडा लक्षण र ज्यान गएको अवस्था छैन ।  चीन र पश्चिमा देशहरूमा ठूलो सङ्ख्यामा मानवीय क्षति हुनु तर नेपालमा सङ्क्रमितमा लक्षणै नदेखिनु र देखिएपनि कडा नहुनुले रोग प्रतिरोधात्मक क्षमताको भूमिकाबारे बहस बढ्दै गएको छ । यो नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया