'सीमा विवादबारे भारतले सेना प्रमुखलाई बाेल्न लगाउनुकाे अर्थ धम्की दिनु हाे'

 जेठ ४, २०७७ आइतबार २०:५५:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सङ्घीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकाेमा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कुटनीतिक रूपमा खण्डन गर्नुपर्ने समिति सदस्यहरुकाे माग छ । 

सिंहदरबारमा आइतबार बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको सुरुवातमै शुक्रबार भारतीय स्थल सेनाध्यक्ष नरवानेको अभिव्यक्तिको भर्त्सना गर्नुभयो । 'भारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उचाल्यो भनेका छन्, म त्यो भनाइको भर्त्सना गर्दछु', उहाँले भन्नुभयो । कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गर्नुभयो ।

समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा प्रकाशित गरे पनि नेपालले त्याे भूभागसहितको नक्सा बनाउनुपर्ने बताउनुभयो । 'नक्सा ६ महिनासम्म पनि बनाउन सकेका छैनौँ', उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

भर्खरै सरकारले कालापानीदेखि १२ किलोमिटर वरको गागाबगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट राखेकाेमा उहाँले प्रशंसा गर्नुभयो । '२५/३० जना प्रहरी राख्दा पनि राम्रो सन्देश गएको छ', कार्कीले भन्नुभयो ।

यस्तै समितिका सदस्य डाक्टर दीपकप्रकाश भट्टले भारत सरकारले आफ्ना स्थल सेनाध्यक्ष नरवानेलाई बोल्न लगाएकाेमा आपत्ति प्रकट गर्नुभयो । 'सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की हो', उहाँले भन्नुभयो, 'नेपाल सरकारले यसको विरोध गरोस् ।' सेना प्रमुखलाई बोल्न लगाउनु उचित नभएको उहाँको भनाइ थियो ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेर झण्डै चार सय वर्ग किलोमिटर नेपालको भूमि अतिक्रमण गरेको सांसद् भट्टले आरोप लगाउनुभयो । नेपालले कुटनीतिक रूपमा समस्या समाधानका लागि चाँडो पहल गर्न उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया