उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न काठमाण्डौ महानगरपालिकाको माग

 जेठ ६, २०७७ मंगलबार १७:४८:४२ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग माग गरेको छ । 

विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाण्डौ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो माग गरेको हो । 

‘कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश बिन्दु (नाका)बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै महानगरपालिकाले यस किसिमको माग गरेको हो । 

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाण्डौमा कोरोना सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई लेखेर पठाउने निर्णय बैठकमा भएको जानकारी दिनुभयो।

त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाण्डौ उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान बिन्दुमै कोभिड-१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।  

लकडाउनको उल्लङ्घन गरेर अनुमति नलिई लुकीछिपी काठमाण्डौ उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई कारबाही गर्न पनि माग गरिएको छ । क्वरेण्टीन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम महानगरपालिका क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वरेण्टीन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ । 

अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीको कोरोना परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि सरकारलाई अनुरोध गरेको डङ्गोलले जानकारी दिनुभयो ।

कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा र मानसिक रोगजस्ता सामाजिक समस्या देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया