हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीकाे उपचारकाे क्रममा ज्यान गयाे

 जेठ १०, २०७७ शनिबार १५:५:१५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सेनाको हेलिकप्टरमार्फत शुक्रबार सङ्खुवासभाबाट काठमाण्डौ पठाइएकी सुत्केरीको उपचारको क्रममा ज्यान गएको छ ।

खाँदबारी नगरपालिका ६ घर भएकी ३२ वर्षीया गंगा कार्कीको काठमाण्डौको थापाथली प्रसूति गृहमा उपचारको क्रममा शुक्रबार राति साढे १० बजेतिर ज्यान गएकाे खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो । 

प्रसव पीडाले च्यापेपछि कार्की गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनालाई भर्ना हुनुभएकाे थियाे । तर उहाँको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नसक्ने भन्दै नोबेल अस्पताल विराटनगर रिफर गरेको थियो । 

नोबेल अस्पतालले कार्कीको पेटबाट मृत शिशुलाई अप्रेशन गरेर बाहिर निकालेको थियो । त्यहाँका चिकित्सकले दुई हप्तासम्म अस्पतालमा नै आराम गरेर बस्नु पर्ने भने पनि कार्की परिवारिकाे अवस्था दयनीय भएकाले खर्च धान्न नसकेको भन्दै ८ गते घर फर्किएका थिए । 

घर आएपछि राति सिकिस्त बिरामी परेपछि शुक्रबार बिहान खाँदबारी अस्पतालमा सुत्केरीलाई भर्ना गरिएकाे थियाे । सुत्केरी अवस्थामा रहेकी कार्कीको उच्च रक्तचाप र अर्धचेत अवस्थामा रहेकाले शुक्रबार जिल्ला अस्पतालले काठमाण्डाै रिफर गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुन्दरश्याम झाले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएपछि कार्कीलाई जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको थियो ।

उपचारकाे क्रममा निधन भएपछि उहाँकाे शवलाई सङ्खुवासभा नै ल्याउने तयारी भइरहेको जनाइएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया