ईद सोमबार मनाइने, सोमबार सार्वजनिक बिदा

 जेठ ११, २०७७ आइतबार ९:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि साेमबार मनाउने भएका छन् ।

शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम रहेकोमा गए राति चन्द्रमा नदेखिएकाले भोलि मात्र मनाइने उहाँले बताउनुभयो ।

भरे राति चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भरे चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने उहाँको भनाइ छ ।

यसैबीच नेपाली जामे मस्जिद राष्ट्रिय मुस्लिम आयोग लगायत संस्था र इस्लाम धर्मका अगुवाहरुले कोरोनाको जोखिम रहेकाले भोलि घरमै नमाज पढेर ईद मनाउन आग्रह गरेका छन् । सरकारले ईदको दिन सर्वाजनिक बिदा दिने घोषणा गरेको छ ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद उल फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।

यस्तै ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने चलन रहेकोमा यसपटक त्यो चलनको पालना नगर्न मुस्लिम आयोगले जनाएको छ ।

इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार व्रत अर्थात् रोजा बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन ईद उल फित्र नमाज अदा गरेपछि एक महिना लामो उपवास समापन गर्ने गरिन्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया