लकडाउनमा भोकमरीको सिकार हुनुभो सूर्यबहादुर, भारी बोक्ने सडक बन्यो मृत्यु शैय्या

 जेठ १३, २०७७ मंगलबार १२:३५:३८ | जानुका दुवाडी
unn.prixa.net

फोटो सौजन्य : वीरेन्द्र शाक्य

काठमाण्डौ - टालेका लुगा, फाटेका चप्पल, काँधमा नाम्लो बोकेर कीर्तिपुरको सडक र गल्लीमा भारी बोक्दै गुजारा गर्ने सूर्यबहादुर तामाङको आइतबार जीवनको अन्तिम दिन हुन पुग्यो । कसैलाई थाहा थिएन, पिठ्युँमा भारी बोक्दै कीर्तिपुरका घरघर पुग्ने सूर्यबहादुरको पाइला कहिल्यै नचल्ने गरी एक्कासि रोकिन्छन् भनेर । नाम सूर्यबहादुर भए पनि सुर्जबहादुर भनेर चिनिने उहाँको जीवनको सूर्य एक्कासि अस्ताउन पुग्यो । हातमा भारी बोक्ने नाम्लो बोकेरै उहाँ कहिल्यै नउठ्ने गरी सुत्नुभयो ।

सूर्यबहादुरले कोठा सर्ने विद्यार्थीदेखि कीर्तिपुरमा बस्ने मानिसका सामानहरु घरसम्म पुर्याउने काम गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई धेरैले चिन्ने गर्थे । उहाँको बस्ने आफ्नो कोठा थिएन । पाटीमै रात कटाउनुहुन्थ्यो । कहिले पिठ्युँमा खाट, कहिले काँधमा ग्याँसका सिलिण्डर बोक्दै सडक र गल्लीमा हिँड्नुहुन्थ्यो । बिहानदेखि बेलुकासम्म गरुङ्गो भारीले थिचिएका दिनहरु ब्यतित गर्नुपरे पनि सूर्यबहादुरले कहिल्यै थकान महसुस गर्नुभएन । अन्तिम साससम्म आफ्नो कर्ममा अडिग रहनुभयो । 

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको ६२ औँ दिन अर्थात् जेठ ११ गते उहाँको निधन भयो । कीर्तिपुर वडा नम्बर १० को चिथुमा रहेको मङ्गल माध्यमिक विद्यालयनजिकैको फुटपाथमा उहाँलाई छटपटाइरहेको अवस्थामा देखेपछि केही स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय पत्रकार वीरेन्द्र शाक्यले बताउनुभयो । प्रहरी र वडाका जनप्रतिनिधिले अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताउनुभयो । 

मर्ने दिन पनि भारीले छोडेन 

मर्ने दिन बिहान पनि सूर्यबहादुरले दाउराको भारी बोकेर तलतिर जाँदै गरेको स्थानीयले देखेको पत्रकार शाक्यले बताउनुभयो । दिउँसो शव देख्दा स्थानीय पनि आश्चर्यमा परे । लकडाउन सुरु भएपछि कीर्तिपुरका पसलहरु खुल्न छाडे । चैत २३ गतदेखि कीर्तिपुरका युवा  व्यवसायीले तामाङजस्तै दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि निःशुल्क खाना केन्द्र सञ्चालन गरेपछि उहाँले पनि त्यहीँ खाना खाँदै आउनुभएको थियो । 

वैशाख मसान्तसम्म उहाँको छाक यसरी नै टर्यो । त्यसपछि उहाँको खानाको जोहो कसरी भयो भन्नेबारे कसैलाई थाहा भएन । लकडाउन नखुल्दै आफ्नो जीवनको भारी बिसाउनुभएका सूर्यबहादुर केही दिन या केही छाक भोको रहेको हुनसक्ने कीर्तिपुरका डिएसपी कामतीको अनुमान छ ।  

पाटी नै घर थियो 

बिस/पच्चिस वर्षसम्म भारी बोक्दा पनि सूर्यबहादुरले हरेक रात पाटीमै बिताउनुभयो । जेठको चर्को गर्मी होस् या पुसको कठ्याङ्ग्रिदो चिसो, न उहाँले पाटी छोड्नुभयो, न पाटीले उहाँलाई छोड्यो । भारी बोक्न नसकेको वेला उहाँले चिनेजानेकासँग मागेर खानुहुन्थ्यो । 

लकडाउन सुरु भएपछि होटल र पसल बन्द भयो । तामाङको भारी बोक्ने काम लगभग ठप्प भयो । जाँडरक्सी खाने बानी भएका तामाङको स्वास्थ्य बिग्रिँदै गयो । खानाको अभावमा उहाँको ज्यान गएको हुन सक्ने डिएसपी कामतीको भनाइ छ । धादिङ घर बताउने तामाङको पारिवारिक अवस्थाबारे खोजी भइरहेको छ । 
उहाँको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । रिपोर्ट आउन कम्तीमा ५ दिन लाग्ने डीएसपी कामतीले बताउनुभयो ।

उहाँलाई आफ्नो आफन्त बताउने अहिलेसम्म आफन्त आएका छैनन् । उहाँको आफन्तको खोजी गर्ने काम भइरहेको कीर्तिपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष अमन महर्जनले बताउनुभयो । रिर्पोट आउने वेलासम्म कसैले मेरो मान्छे भन्ने दाबी गरे उसैलाई शव बुझाउने अध्यक्ष महर्जनको भनाइ छ । कोही दाबी गर्न नआएपछि मात्र शवलाई के गर्ने भन्नेबारे निर्णय गरिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: असार ३०, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया