बाँझो जमिनलाई प्रयोग गरेर कृषिमा डेढदेखि २ लाखसम्म रोजगारी सृजना गर्न सकिन्छ : कृषि मन्त्री भुषाल

 जेठ १३, २०७७ मंगलबार १४:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्ष कृषिमा झण्डै दुई लाख रोजगारी सृजना गरिने भएको छ । अब बाँझो जमिनलाई प्रयोगमा ल्याएर थप डेढदेखि दुई लाखसम्म रोजगारी सृजना गर्न सकिने अनुमान रहेको कृषि मन्त्री घनश्याम भुषालले बताउनुभएको हो ।

मंगलबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा मन्त्री भुषालले अहिले सरकारको नीति तथा कार्यक्रमले रोजगारी सृजनामा कृषिलाई जोड दिइएको र अब बाँझो जमिनलाई नै प्रयोगमा ल्याउनेगरी बजेटमार्फत व्यवस्थापन गर्ने बताउनुभएको हो ।

‘कृषिमा रोजगारी सृजना गर्ने भनिएको छ तर कसरी कति भन्ने बारेमा छलफल त भएको छैन, तर अब सकेसम्म बाँझो जमिनलाई प्रयोगमा ल्याउने हो भने थप नयाँ रोजगारी सृजना गर्न सकिने अवस्था छ र बजेटमार्फत त्यही अनुसारको व्यवस्था पनि हुँदैछ ।’

किसानलाई कृषि गर्न सजिलो बनाइने

मन्त्री भुषालले कृषिमा थप रोजगारी सृजनाका लागि प्रोजेक्ट बाँडेरभन्दा पनि कृषकलाई कृषि गर्न सजिल‍ो बनाउनेतर्फ अहिलेको योजना रहेको पनि बताउनुभयो ।

कृषक जसले थोरै मात्रमा कृषि गर्छन । जो पहिलेदेखि नै कृषि गर्दै आएका छन् उनीहरुलाई सजिलो बनाइदिने योजना सरकारको छ । त्यसैगरी अहिले पालिकास्तरमा कृषि प्राविधिकको कोटा खाली रहेकाले त्यसतर्फ पनि मन्त्रालयले प्राविधिकको सहज व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ । अहिले झण्डै ६ हजार कृषि प्राविधिकको पद खाली रहेकाले अब यो पदपूर्ति गर्ने र प्राविधिकको सहज उपलब्ध गराउने उहाँले बताउनुभयो ।

त्यसैगरी अब साना किसानसहित ठूलो स्केलमा कृषि गर्नेहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउने आफ्नो योजना रहेको मन्त्री भुषालले बताउनुभयो ।

अहिले साना किसानले पनि लघुवित्तमार्फत व्याज लिएर कृषि कर्म गर्दा पनि चर्को व्याज भएकाले त्यस्ता किसानलाई सस्तोमा ऋण दिने उहाँको भनाइ छ ।

यस्तै अहिले ठूलो स्केलमा ऋण लिएर कृषि कर्म गरिरेकाको पनि ब्याजमा हटाउने योजना रहेको मन्त्री भुषालले बताउनुभयो ।

‘कृषिलाई प्राथमिकता, रोजगारी सृजना भनेर २००६ देखि २००७ सालतिरदेखि भनिरहेका छौं, अब त्यो नारामा मात्र होइन साँच्चै व्यवहारमा लागू गर्ने बेला आएको छ, अब यसलाई फेर्न पर्छ,’ मन्त्री भुषालले भन्नुभयो, ‘ कृषकले उत्पादन गरेका उत्पादनमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया