महिनावारी मेरा लागि डर, भय र इज्जत

 जेठ १४, २०७७ बुधबार १५:२१:३१ | इन्द्रसरा खड्का
unn.prixa.net

प्रतीकात्मक तस्बिर

महिनावारी कसैका लागि उत्सव र खुशी पनि हुन सक्छ । तर मेरो लागि डर, भय र त्रास अनि परिवारको इज्जत हो । 

उत्सवलाई इज्जतसँग दाँज्दा झस्किनुभयो होला है । हो मेरा लागि महिनावारी परिवार र मेरो इज्जत हो ।
म महिनावारी भएको मलाईभन्दा बढी मेरो टोल, गाउँ, छिमेकीलाई चासो हुन्छ । यो चासो थियो, छ र भइरहेको छ । किनकी महिनावारी मेरो इज्जत हो । 
मेरो चरित्र मेरो महिनावारीसँग जोडिएको छ । यो मेरो समाजले जोडिदिएको हो । 

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम, अछामको पनि १५, २० क्षेत्र । अहिलेको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा मेरो जन्म भयो । बिकट जिल्ला अछामको छाउपडी कुप्रथाबारे सुन्नुभएकै होला ।  देख्नुभएकै होला । 

तपाईंहरु कतिपय त त्यही छाउपडीका नाममा अछाम समेत पुग्नुभएको पनि होला । 

२०६४ साल माघमा मेरो पहिलो महिनावारी भयो । महिनावारी हुँदा आमा, बुवा त खुशी हुनु नै भयो होला । तर मलाई भने खुशीभन्दा बढी दुःखी हुनुपर्ने भयो । किनकी त्यही दिनदेखि मैले सुरु गर्नु थियो,  मेरो एकान्तवास । घरबाट टाढा रहेको त्यो छाउपडी गोठमा बस्न । 

त्यो दिन डाँडाकाँडा हिउँले सेताम्मे थिए । गाउँमा परेको हिउँ पग्लिंदै थियो । मुटु कँपाउने जाडो थियो । अब सामना गर्नुपर्ने भयो त्यो चिसोसँग । पातलो एक जोर ओढ्ने ओछ्याउने र अलिकति दाउरा बोकेर लागें छाउपडी गोठमा । कसरी बस्ने ? एक्लै मनमा डर लाग्यो । तर, बाध्यता थियो । 

भाइ, बुवाको अघि लुकेर बस्नुपर्ने । खाना खाँदा, बस्दा अलगै बस्नुपर्ने । कसैलाई छुन त परैको कुरा घरको करिब २, ३ सय मिटर आसपास जानै नपाउने । दही, दुध खानुको त कुरा छोडौँ, गाईलाई समेत छुन नपाइने । 

हो त्यही दिनदेखि बुझें मैले यो महिनावारी मजस्ता केटीहरुका लागि डर हो, भय हो, त्रास हो । त्योभन्दा ठूलो मेरो परिवारको इज्जत हो । इज्जत कसरी ? यो पनि म भन्छु ।

मेरो टोलमा १२ वटा जति घर छन् ।  सबैको छाउ हुँदा बस्ने गोठ एउटै । टोल सानो भएकाले पनि होला कसको घरमा के भयो, के हुँदैछ सबैैलाई सजिलै थाहा हुन्छ । 
मेरो पहिलो महिनावारी सबैलाई थाहा भयो । ए फलानो त छाउ भइछे नि आज । ल केटी पनि आमा बन्न तयार भई, ओहो लौ तेरो त बिहे गर्ने बेला सुरु भयो । काकी, भाउजुहरुले यस्तै कुरा सुनाए । 

मानौं मेरो महिनावारी अचम्म थियो । मेरो मात्र हैन, मेरो टोलका दिदीबहिनीको पहिलो महिनावारीमा सबैले सुन्नुपर्ने यही हो । 
महिनावारी सुरु भएदेखि हरेक महिनाको त्यही गते अथवा महिनावारी हुने पालो, सोध्न थाल्छन् । ए तेरो त महिनावारीको पालो आयो । महिनवारी भयो की बाँकी छ ?

केही दिन तलमाथि हुँदा किन छाउ भएन ? ओहो के भयो होला ? यो मलाईभन्दा मेरा टोलका काकी, भाउजुहरुलाई खुल्दुलीको विषय हुन्थ्यो ।  
लाग्थ्यो, यो महिनावारी के रहेछ ? किन केही दिन तलमाथि हुँदा पनि सबैले प्रश्न गर्छन् ? 

मैले आमालाई सोधीहाले आमा किन म छाउ भएको नभएको सबैलाई चासो हुन्छ ? आमाले भन्नुभयो, ‘तिम्रो महिनावारी त हाम्रो इज्जत हो ।’ 

महिनावारी केही महिनाको लागि तब रोकिन्छ, जब महिला आमा बन्न पेटमा बच्चा बस्छ । महिनावारी सधैंको लागि तब रोकिन्छ, जब महिला ५० भन्दा माथीको उमेरमा पुग्छे । त्यो भन्दा अघिपछि नभए त चरित्रमा औंला उठ्छ ।  मलाई पनि आमाकै कुरामा विश्वास लाग्यो ।

गाउँमा आफ्नो भन्दा अरुको परिवारको चासो राख्ने बढी हुन्छन् । मेरो टोलको कुरा गर्दा १२ जना परिवारको छाउगोठ एउटै थियो । किशोरी, कसको महिनावारीको पालो कहिले, कसको कहिले आफूभन्दा अरुलाई चासो हुन्थ्यो ।

मेरो महिनावारी हुने समयभन्दा केही दिन तलमाथि हुँदा समेत कुरा सुरु भइहाल्थ्यो । फलानो किन महिनावारी नभएको ? सँगै भएका मेरी छोरी त भइसकी, कतै... हो गाउँलेहरुको एकआपसमा कुराकानी सुरु हुन्छ ।

छाउगोठ बस्दाको पीडा

छाउ भएको बेलामा कसरी सफा रहने, कसरी सुरक्षित रहने, कस्ता खानेकुराहरु खाने यो बारेमा ध्यान कसको जाओस् । ध्यान जान्थ्यो त सबैको उसको महिनावारी किन भएन ? कहिले हुन्छ ?

कति चिसा रात, कति गर्मीका रात एक्लै बस्नुपर्दाको पीडा । म शब्दमा बयान गर्न सक्दिनँ ।
साउने झरी होस् या बैशाखको चर्को घाम । कति रात ननिदाएर कटे, कति रात डरले बिते, कति रात बहिनीहरुलाई सँगै लिएर बिते, कति रात कसरी बिते पत्तो पाइनँ ।

कति रात वर्षामा चुहिने गोठमा प्लाष्टिक ओढेर बसें । किरा फट्यांग्राको डर । सर्प, बिच्छीको डर । मान्छेको डर । मनको डर । ओहो डरैडर । त्यो बेला एउटी किशोरीको कलिलो मस्तिष्कमा कस्तो असर प¥यो होला ? मात्र मनोविमर्शकर्ताहरुले अनुमान गर्न सक्छन् ।

यसरी कति वर्ष बिते, पत्तो पाइनँ ।  त्यसपछि गाउँमा भएका छाउगोठ भत्काइए । छाउगोठ भत्काएर के गर्नु ? मनको गोठ त भत्केको थिएन । त्यसपछिका दिन फेरि कष्टकर बने ।

शौैचालयको बास

गाउँमा भएका छाउगोठ भत्के । घरमै बस्न परिवारले दिंदैनन् । गोठ छैनन् । त्यसपछिका दिन मेरा लागि थप कष्टकर बने ।  कि त खेतको आलीमा पाल टाँगेर बस्नु पथ्र्यो । कि त अर्को गाउँमा रहेको छाउपडी गोठमा जानु पथ्र्याे । त्यहाँ जाँदा कहिले धेरैजना भएर ठाउँ नै नहुने, कहिले एक्लो हुने । यस्तैमा बिते कति समय ।
त्यसपछि गाउँमा खुल्ला दिसामुक्त अभियान चल्यो । सबैलाई शौैचालय अनिवार्य थियो । मेरो बुवाले पनि शौचालय बनाउनुभयो । त्यसपछिको करिब चार महिना मेरो बास भयो शौचालयको । खुट्टा खुम्च्याएर त्यही बसें । दिउँसो सबैको दिसा गर्ने शौचालय साँझ मेरो लागि बसस्थान थियो । म एक्लैको लागि हैन, मेरा साना बहिनीहरुको पनि बासस्थान भयो ।

हुन त महिनवारीको बेला छाउगोठको होस् वा शौचालयको, साथमा सानी बहिनी मेरी साथी हुन्थी । किनकी उसलाई डर लाग्दैन । सानी थिइ । डर के हो थाहा थिएन । उसैको साथमा म गोठमा निडर भएर बस्थें । कहिले त टन्न साथी हुन्थे । गाउँकै कहिले भाउजु, कहिले काकी, कहिले दिदीहरु पनि महिनावारी भइरहेका हुन्थे । गोठमा सँगै हुन्थ्यौं । अरु कोही नहुँदा मेरी साथी बहिनी हुन्थी ।

दिनभर प्रयोग गरेको शौचालय साँझ सफा गर्ने, प्वालमा पराल राख्ने, त्योमाथि काठ बिच्छाउने अनि रातभरी सुत्ने । यसैगरी बिते, मेरा केही महिना । त्यसपछि म पढाइको सिलसिलामा कैलाली सरें, अनि छुट्यो मेरो गोठको यात्रा ।


सम्झँदा डर लाग्छ 

ती डरलाग्दा दिनहरु सम्झँदा अहिले पनि अत्यास लाग्छ । सपना हो या बिपना भन्ने पनि लाग्छ कहिलेकाहीँ त । साँच्चै मेरो महिनावारी र गोठको बसाईको एउटा सानो चलचित्र नै बन्छ होला । 

जो एक कथा हैन । स्वयं मैले भोगेको कथा । मजस्तै मेरा धेरै दिदीबहिनीहरुको दुःख पनि यस्तै होला । 

तर, अहिले त्यस्तो अवस्था छैन । मेरो जस्तो दुःखद बसाई मेरा बहिनीहरुलाई छैन । अहिले उनीहरु आफ्नै घरमा सुरक्षित बसेका छन् । अहिले उनीहरुलाई देख्दा लाग्छ तिमीहरु कति भाग्यमानी । न कसैलाई महिनावारी भएको थाहा हुन्छ, न गोठ खोज्दै बास बस्नुपर्छ । 

अन्तिम अपडेट: असार २९, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया