सामाजिक सञ्जाल बन्दैछ उत्पीडनको अखडा, चाहिन्छ जागरुकता र कडा कानुन

 जेठ १६, २०७७ शुक्रबार २०:५५:५० | सुसन चौधरी
unn.prixa.net

काठमाण्डौ - गएको चैत ७ गते साँझपख अफिसबाट काम सकेर समीक्षा अधिकारी घर पुग्नुभयो । दिनभरिको कामको थकाइ भुल्न इन्स्टाग्राम खोल्नुभयो । गुटुटुटु नोटिफिकेसनहरु ओइरिए । एक जना अपरिचित व्यक्तिको पनि नोटिफिकेसन आयो । समीक्षाको तस्बिरमा कमेन्ट गर्नुभएको रहेछ । थाकेका औँलाले समीक्षाले त्यो कमेन्ट खोलेर हेर्नुभयो । पढ्नेबित्तिकै उहाँको थकाइ रिसमा परिणत भयो । 

समीक्षा नेपाल टेलिभिजनमा टिभी होस्ट र कार्यक्रम निर्माताको रुपमा कार्यरत हुनुहुन्छ । सामाजिक सञ्जालमा उहाँले राख्नुभएको तस्बिरमा अपरिचित व्यक्तिले अपशब्द प्रयोग गरेर कमेन्ट गर्नुभएको रहेछ । सामान्य खालको तस्बिरमा उहाँको पेसा र औकातलाई चुनौती दिँदै नानाथरीका शब्द प्रयोग गरिएको थियो । कहिले नबोलेको व्यक्तिले उहाँको पेशा र परिश्रममाथि बिनाकारण प्रश्न गरेको देख्दा उहाँलाई सार्है नराम्रो लाग्यो ।

‘चिनेको पनि थिइनँ । यसरी कमेन्ट कसरी गर्न सकेको होला,’ समीक्षाले भन्नुभयो, ‘धेरै जनाले कमेन्ट गर्नुहुन्थ्यो । तर यसरी कसैले गर्नुभएको थिएन ।’
सामाजिक सञ्जालमा आउने कमेन्टहरु उहाँलाई सामान्य लाग्थ्यो । अझ साथी र सेलिब्रेटीहरुको तस्बिरमा आउने नराम्रो कमेन्ट पनि उहाँलाई सामान्य लाग्थ्यो । तर कमेन्टमार्फत् अरुले अपशब्द प्रयोग गरेको देख्दा आफू गलत रहेको उहाँलाई महसुस भयो ।

उहाँले त्यस्ता उत्पीडनका कयौँ कथा सुन्नुभएको थियो । तर आफैँ अनलाइन उत्पीडनको सिकार हुनुभएको थिएन । यस्तो अवस्थामा कतिसम्मको मानसिक असर पर्छ भन्ने कुरा उहाँले बल्ल बुझ्नुभयो ।

केही बेरमै इन्स्टाग्राममा थप कमेन्टहरु आए । उहाँका केही साथीले कमेन्ट गर्नुभएको रहेछ । त्यो व्यक्तिको गालीले भरिएको कमेन्टमा प्रश्न उठाउँदै उहाँका साथीहरुले जवाफ दिनुभयो । उहाँको पक्षमा ९/१० जनाले आवाज उठाउनुभयो । त्यो अपरिचित व्यक्तिले पुनः अपशब्द प्रयोग गर्दै समीक्षालाई आमाबुवाको पैसाले प्रगति गरेको लाञ्छना लगाए । घरपरिवारको कुरा उठेपछि उहाँको रिस असह्य भयो ।

‘मैले गरेको २/३ वर्षदेखिको परिश्रममा नचिनेको व्यक्तिले कसरी आरोप लगाउन सक्छ ?,’ समीक्षाले भन्नुभयो, ‘मेरो बारेमा केही नजानेरै यसरी कसरी बोल्न सकेको होला ? मैले कमेन्ट लेख्नुअघि मेरा साथीहरुले मेरो पक्षमा फेरि कमेन्ट लेखेर मलाई साथ दिए ।’

त्यो व्यक्तिले एक्लै नराम्रो कमेन्ट गर्दै थिए । तर एक जनाको यस्तो कमेन्टले उहाँको मनमा डर र घृणा फैलिसकेको थियो । समीक्षाको काम र परिश्रमको कदर गर्दै उहाँको पक्षमा साथीहरुले सामाजिक सञ्जालमा निरन्तर लेख्नुभयो । कमेन्टहरुमार्फतै विवाद चर्कियो । उहाँको तस्बिरको कमेन्टमा दुई पक्षबीच भनाभन नै पर्यो । अपशब्दहरुले उहाँको तस्बिर भरिन पुग्यो  ।

‘तँ–तँ र म–म को झगडाबीच मेरो मन आत्तिसकेको थियो’ उहाँले भन्नुभयो, ‘तर मेरा साथीहरुले मेरोलागि आवाज उठाए र म निडर उभिरहेँ ।’ इन्स्टाग्रामको कमेन्टमा सुरु भएको झगडा एक घण्टापछि बल्ल साम्य भयो । त्यो व्यक्तिले हार मानेर सारा कमेन्ट मेटे । समीक्षालाई उनले अन्य सामाजिक सञ्जालमा पनि ब्लक गरेछन् ।

त्यो दिनदेखि आजसम्म त्यस व्यक्तिले उहाँको कुनै पोस्टमा नराम्रो कमेन्ट वा मेसेज गरेर सताउने हिम्मत गरेका छैनन् । ‘त्यो दिन साथीहरुले मेरो पक्षमा नबोलेको भए आज फेरि उनले मेरा अन्य तस्बिरहरुमा नराम्रो कमेन्ट गर्थ्ये होला,’ समीक्षाले भन्नुभयो, ‘ एकजुट भएर आवाज उठाएकोले अनलाइन उत्पीडनको सिकार हुनबाट म जोगिएँ ।’

समीक्षा अनलाइन उत्पीडनबाट बच्नुभयो । तर यस्तै घटनाको सिकार धेरै जना दैनिक रुपमा हुने गर्दछन् । अनलाइन उत्पीडन अर्थात अनलाइनमार्फत् गरिने असभ्य टिप्पणी, धम्की वा मान हनन् हुने आक्रमणले धेरैलाई सताएको छ । 

कतिले सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोलेर अरुलाई अश्लील भिडियो पठाएर सताउँछन् । कतिले नराम्रो मेसेज गर्छन् । केहीले पैसाको लागि ब्ल्याकमेल गरेर सताउँछन् । सेलिब्रेटीदेखि सामान्य व्यक्तिसम्म यस्तो घटनाको सिकार भइरहेका छन् । यस्तो घटनाले पीडितमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको धेरैलाई थाहै हुँदैन । प्रहरीमा उजुरी गर्नेबारे धेरैलाई थाहा छैन ।

‘सामाजिक सञ्जालमार्फत् हुने उत्पीडनले व्यक्तिमा मानसिक तनाब र चिन्ता उत्पन्न गर्दछ ।’ नवजीवन परामर्श केन्द्रकी मनोविद् उपमा पौडेलले भन्नुभयो, ‘धेरैले यस्ता कुरा सुनाउन चाहँदैनन् । दबाएर राख्छन् । केही सन्दर्भमा पीडितले डर र तनाबका कारण आत्महत्या गर्छन् ।’

सामाजिक सञ्जालमा हुने उत्पीडन धेरैलाई सामान्य लाग्छ । भोग्नेमध्ये धेरैले कुरा लुकाउँछन् । थोरैले हिम्मत जुटाएर मुद्दा दर्ता गर्छन् । साइबर ब्युरोको तथ्याङ्कअनुसार नेपालमा विगत ४ वर्षमा पाँच हजार पाँच सय चौहत्तर अनलाइन उत्पीडनका मुद्दा ब्युरोमा दर्ता भएका छन् । धेरैले आफ्नो लाज र समाजमा इज्जत बचाउने नाममा घटना बाहिर आउन दिँदैनन् । कमैले आवाज उठाउँछन् र मनमै कुन्ठित पारेर राख्छन् । यसले धेरै पीडित मानसिक रोगको सिकार बन्न पुग्छन् ।  

‘अनलाइन उत्पीडनका सिकारहरुले आफूभन्दा जेठो वा बुझ्ने व्यक्तिलाई कुरा सुनाउनुपर्छ । कुरा सुनाएर पनि आधा समस्या कम हुन्छ,’ मनोविद् पौडेलले भन्नुभयो, ‘मनमा कुरा दबाउनु हुन्न । अरुलाई सुनाउनुपर्छ वा परिस्थिति हेरेर परामर्श लिनुपर्छ ।’

धेरैलाई यस्तो बेला कसरी प्रतिक्रिया दिने वा के गर्ने ज्ञान नहुनाले समस्या निम्तिरहन्छ । सामान्य लागे पनि यो गम्भीर र जटिल समस्या भएकोले सामाजिक सञ्जालको माध्यमबाट यसको विरुद्धमा जनचेतना फैलाउन #notanymore अभियान चलाइएको छ ।

धेरै जनामाथि यस्तो घटना घटेपनि थोरैले बोल्ने हुँदा परिवर्तनको लागि सामाजिक अभियान थालिएको छ । जनचेतना फैलाउन सामान्य पीडित व्यक्तिदेखि ठूल्ठूला सेलिब्रिटीले यसको विरुद्ध सामाजिक सञ्जालमा बोलिरहेका छन् ।

‘सामाजिक सञ्जालको माध्यमबाट हुने उत्पीडनबारे यही माध्यमबाटै चेतना फैलाउँछौँ ।’ पोलिटिकल लिट्रेसी फर वुमन नामक संस्थाले थालेको #notanymore अभियानका परियोजना नेतृत्वकर्ता दीपासा विष्टले भन्नुभयो, ‘यस्तो उत्पीडनलाई निरुत्साहित गर्न हामीले सामाजिक सञ्जालबाटै दबाब सिर्जना गर्दैछौँ ।

उहाँको संस्थाले अनलाइन उत्पीडनबाट बच्नको लागि सामाजिक जागरूकता ल्याउने उद्देश्यले यो अभियान थालेको छ । उत्पीडन भोगेकालाई परामर्श दिन, आवाज उठाउन, हौसला प्रदान गर्न र कानुनी प्रक्रियाबारे जानकारी दिन यो अभियानले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

‘हिजोआज अधिकांश मानिस सामाजिक सञ्जालमा धेरै समय बिताउँछन् । त्यसैले सिकार जो कोही पनि हुन सक्छन् । त्यसैले अनलाइनमा हुने दुर्व्यवहारविरुद्ध हामीले आवाज उठाउनुपर्छ र जरुरत परे कानुनी प्रक्रियाको लागि उजुरी गर्नुपर्छ’ विष्टले भन्नुभयो, ‘यसविरुद्ध कडा कानुन नआएसम्म हामीले अनलाइनबाट जनचेतना फैलाइरहने छौँ ।’
 

अन्तिम अपडेट: असार ३०, २०७७

तपाईको प्रतिक्रिया