रुकुमपश्चिम र रुपन्देहीको देवदहमा भएको घटनाबारे राष्ट्रसंघको चासो

 जेठ १७, २०७७ शनिबार १२:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संयुक्त राष्ट्रसंघले रुकुम पश्चिममा भएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

राष्ट्रसंघ अन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले रुकुम पश्चिममा दलित युवामाथि भएको सामूहिक आक्रमण र रुपन्देहीको देवदहमा युवतीको हत्या भएको बारे चासो व्यक्त गरेको हो ।

साथै ओएचसीएचआरले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको हत्या भएकोमा घटनाको निन्दा गरेको छ ।

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले विज्ञप्ति जारी गरी दुईवटै घटनाको स्वतन्त्र अनुशन्धान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलनको पक्ष राष्ट्र भएको स्मरण गराउँदै उहाँले छुवाछूतको अन्त्य भएको भनिएपनि पटक पटक हुँदै आएका घटनाहरुले विभेद कायमै रहेको देखाएका पनि बताउनुभएको छ ।

मिशेलले यी घटनाको स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन जोड दिनुभएको छ । ‘नेपालमा संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि जातीयताका आधारमा अपराधमा उन्मुक्ति छ, मिशेलले भन्नुभएको छ,‘नेपालले जातीयतामा आधारित अपराधका विरुद्ध कदम चालेको छ, तर समाजमा व्याप्त कुरीति हटाउन अझ थुप्रै प्रयास गर्न बाँकी नै छ ।’

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया