कोरोनाले खोप प्रभावित हुँदा बालबालिकामा विभिन्न रोग फैलिने जोखिम

 जेठ १९, २०७७ सोमबार १२:४९:३८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - लकडाउनको कारण बालबालिकाको खोप सेवा प्रभावित भएको छ ।  यसबाट शिशु र बालबालिकामा विभिन्न प्रकारका रोग फैलिने डर बढेको छ । जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित रुपमा लगाइने विभिन्न प्रकारका खोप समयमै नलगाउँदा लाखौँ बालबालिका प्रभावित भएका छन् । देश लकडाउनमा गएको साढे २ महिना हुन लाग्दा १० प्रतिशत खोप केन्द्रहरुमा अझै खोप सेवा सुरु हुन सकेको छैन । लकडाउन सुरु भएको झण्डै एक महिनापछि सुरु भएका अरु ठाउँहरुमा पनि सबै बालबालिकाको पहुँचमा खोप सेवा पुग्न नसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ  ।

खोपजस्तो आधारभूत सेवा अवरोध हुँदा पोलियो र दादुरालगायतका रोगको प्रकोप फैलिने सम्भावना बढेको छ । पहिले नै कमजोर रहेको देशको स्वास्थ्य प्रणाली कोरोना भाइरसको कारण गरिएको लकडाउनका कारण झनै प्रभावित हुने देखिएको छ । स्वास्थ्य क्षेत्रको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रित हुँदा बालबालिकाहरुको स्वास्थ्य प्रभावित हुने देखिएको छ ।  

सबै केन्द्रबाट सुचारु भएन 

लकडाउनपछि झण्डै १ महिना देशभर खोप सेवा पूर्ण रुपमा ठप्प रह्यो । त्यसपछि वैशाख १० गते स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार देशभर रहेका  १६ हजार केन्द्रमा खोप सेवा सञ्चालन गर्न भनियो । तर अझै पनि १० प्रतिशत खोप केन्द्रमा खोप सेवा सुरु हुन नसकेको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।  

खोप सञ्चालन भएका ठाउँमा पनि लकडाउनको कारण अभिभावकहरु बालबालिका लिएर केन्द्रसम्म पुग्नै समस्या भएको छ । यातायातका साधन नचल्दा पनि समस्या भएको छ । केही ठाउँमा अभिभावकहरुमा खोपको लागि स्वास्थ्य केन्द्र जाँदा कोरोनाको सङ्क्रमण सर्छ भन्ने डरले खोप लगाउन नगएको पाइएको छ ।  यसले बालबालिकामा रोगको जोखिम बढ्दै गएको छ । 

दादुरा देखिन थाल्यो  

दादुराको कारण पुस महिनायता धादिङमा एक बालक र एक बालिकाको ज्यान गइसकेको छ । यस्तै तीन सय छब्बिस जना बालबालिका सङ्क्रमित भइसकेका छन् । ज्यान जानेमा २ देखि ५ वर्षमुनिका बालबालिका रहेको गौतमले जानकारी दिनुभयो । सन् २०१९ मा ४ सय ३१ जनामा दादुराको सङ्क्रमण भेटिएको थियो । यो वर्ष भने पछिल्लो ५ महिनामा मात्रै २ जना बालबालिकाको ज्यान गइसकेको छ भने ३ सय २६ जना सङ्क्रमित भइसकेका छन् ।  

अहिले ललितपुर, सर्लाही, झापा, धादिङ, चितवन, गोर्खा र काठमाण्डौमा दादुराका बिरामी भेटिएका छन् । देशभरका ६ लाख २० हजार बालबालिकालाई निःशुल्क रुपमा खोप लगाइने कार्यक्रम प्रभावित हुँदा बाल मृत्युदर बढ्ने खतरा बढेको छ । नेपालमा यसअघिका भूकम्प र बाढीपहिरोलगायतका असहज परिस्थितिमा खोप सेवा रोकिएको थिएन । त्यसैले अहिले पनि खोपजस्तो आधारभूत सेवा रोक्न नहुने  स्वास्थ्य विज्ञहरुको भनाइ छ । 

स्थानीय प्रशासनको सहयोग  

लकडाउनको कारण थाहा नभएर, यातायातका कारण जान असहज भएर वा खोप सेवा नै सुरु नभएको कारण कतिपय बालबालिकाको खोप छुटेको हुन सक्छ । यस्तो अवस्थामा तत्काल स्थानीय प्रशासनसँग सम्पर्क गर्न गौतमले आग्रह गर्नुभएयो । आफ्नो पालिकामा जुुन ठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ त्यस ठाउँमा गएर बालबालिकाई खोप लगाइहाल्न पनि शाखाले अनुरोध गरेको छ ।

आफूले लगाउँदै आएको खोप केन्द्रमा खोप सेवा सञ्चालन नभएको भए नजिकै कुन ठाउँमा भइरहेको छ त्यहाँ गएर खोप लगाउन पनि महाशाखाले आग्रह गरेको छ । आफ्नो पालिकाका सबै नागरिकलाई खोप कहाँ सञ्चालन भइरहेको छ र कसरी सञ्चालन भइरहेको छ भन्नेबारे जानकारी गराउन स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गौतमले आग्रह गर्नुभएको छ । 

सामाजिक दूरी आवश्यक 

खोप लगाउँदा सामाजिक दूरी कायम गर्न शाखाका खोप प्रमुख गौतमको सुझाब छ । खोप लगाउनका लागि लाइनमा बस्दा दूरी कायम गर्न उहाँले सुझाव दिनुभयो । कोरोना भाइरसको जोखिम भएकोले कसैमा सङ्क्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न उहाँले सुझाव दिनुभयो । यस्तै खोप लगाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ भने अर्को सत्रमा खोप लगाउन पनि उहाँले सुझाब दिनुभयो । 

बालबालिकालाई लगाइने खोपहरु

१) बिसिजी 

यो खोप बच्चा जन्मिने बित्तिकै लगाउने गरिन्छ । यो खोप दायाँ पाखुराको माथिल्लो भागमा लगाउने गरिन्छ । यो एक डोज लगाए पुग्छ । यसले क्षयरोगविरुद्ध काम गर्छ । यस्तै भाइरल ज्वरो, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ । 

२) डि.पि.टी, पिसिभी, रोटा र पोलियो

यो खोप बच्चा जन्मेको ६ हप्तामा लगाइन्छ । यो खोप रोटाको पहिलो मात्रा, पोलियोको पहिलो मात्रा, पिभिसीको पहिलो मात्रा, डिपिटी र हेपाटाइटिस बीविरुद्धको खोप हो । यसविरुद्ध लड्नको लागि बालबालिकालाई २ थोपा खान दिइन्छ भने बायाँ पाखुराको माथिल्लो भाग, दायाँ तिघ्राको बीच भाग र बायाँ तिघ्राको बाहिरी भागमा खोप लगाउने गरिन्छ । यो खोपले रोटा भाइरसका कारण हुने झाडापखाला, पोलियो, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी र हेपाटाइटिस एन्फुएन्जा बी रोग लाग्नबाट बचाउँछ । 

३) पिभिसी, रोटा, पोलियो, डिपिटी, हेपाटाइटिस दोस्रो मात्रा

यो खोप १० हप्तामा दिइन्छ । दुई थोपा खुवाइन्छ भने दायाँ तिघ्राको बाहिरी भाग र बायाँ तिघ्रामा खोप लगाउने गरिन्छ । यो खोपले पनि रोटा भाइरसबाट हुने झाडापखाला, निमोनिया, भ्यागुते, निमोनिया, लहरे खोकी, धनुष्टङ्कार, हेमोफिल्स, एन्फुएन्जा बी रोग लाग्नबाट बचाउँछ । 

४) डिपिटी, पोलियो तेस्रो मात्रा, एफ आइपिभी 

यो खोप जन्मेको १४ हप्तामा दिने गरिन्छ । यो बेला पनि बच्चालाई दुई थोपा खुवाइन्छ । यस्तै पाखुराको माथिल्लो भाग र बाँया तिघ्राको  बाहिरी भागमा खोप लगाउने गरिन्छ । यसबाट बालबालिकालाई भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी र हेमोफिलस एन्फुएन्जा बी रोग लाग्नबाट बचाउँछ । 

५) पिभिसी दोस्रो मात्रा र दादुरा रुबेला पहिलो मात्रा

यो खोप बच्चा जन्मेको ९ महिनामा लगाउने गरिन्छ । यो खोप दायाँ तिघ्राको बीच भाग र बायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ । यसले निमोनिया, दादुरा र रुबेला रोगबाट बचाउँछ । 

६) जापानिज इन्सेफलाइटिस् 

यो खोप बच्चा जन्मेको १२ महिनामा लगाइन्छ ।  दायाँ तिघ्राको माथिल्लो भागमा यो खोप लगाइन्छ । यसले जापानिज इन्सेफलाइटिस् रोग लाग्नबाट बचाउँछ ।
७) दादुरा रुबेला दोस्रो मात्रा 

यो खोप बच्चा जन्मेको १५ महिनामा दिने गरिन्छ । बायाँ पाखुराको माथिल्लो भागमा यो खोप दिने गरिनछ भने यसले दादुरा र रुबेला रोगबाट बालबालिकालाई बचाउँछ । 

सरकारी तथ्याङ्कअनुसार सन् १९९० देखि २०१६ सम्मको अवधिमा प्रति १ हजार जीवित जन्मिएका २८ दिनसम्मका बालबालिकाको मृत्युका घटना ६० प्रतिशतले घटेको देखाएको छ । त्यस्तै १ वर्षसम्मका बालबालिकाको मृत्युदर ६८ प्रतिशत र ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर ७३ प्रतिशतले घटेको देखिएको छ । नियमित रुपमा दिइनुपर्ने खोप प्रभावित हुँदा ओरालो लाग्दै गरेको बाल मृत्युदर बढ्न सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्  । 

स्वास्थ्य क्षेत्रको ठूलो चुनौतीको रुपमा देखा परेको कोरोनाको सामना गर्नु महत्त्वपूर्ण भएजस्तै खोप लगाउनुपर्ने बालबालिकालाई समयमै खोप लगाएर बाल स्वास्थ्यमा निम्तिन सक्ने समस्या रोक्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया