आत्महत्या बढ्दै, विज्ञहरु भन्छन् - लकडाउनपछि अवस्था डरलाग्दो हुन्छ

 जेठ २१, २०७७ बुधबार १२:१५:२९ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ - ‘मैले त आत्महत्या गर्ने सोच बनाइसकेकी थिएँ । जब सूर्यविनायक नगरपालिकाले मेरो समस्याको समाधान गरिदियो अनि अलि बिसेक भएको छ । तर, तनाब अहिले पनि छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ की  सोनी मास्केले फोनमा कुरा गर्दै भन्नुभयो । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्न गएको चैत ११ गतेदेखि लकडाउन लगाएसँगै सबै जना घरभित्रै बस्न थाले । तर सोनी, उहाँकी छोरी र छिमेकी लक्ष्मी दुलालको काम रोकिएन । काम झनै थपियो । कहिले बिहान कहिले राति त कहिले दिउँसो । लक्ष्मी र उहाँकी छोरी दुवै स्वास्थ्यकर्मी । सोनीका श्रीमान् पनि अस्पतालमै गार्डको काम गर्नुहुन्छ । 

सोनीको घर लक्ष्मीकोसँग जाडिएको छ । लकडाउनमा सोनी र लक्ष्मीका परिवार काममा जाँदा कोरोना सार्नै भन्दै छिमेकीले घरअगाडि पर्खाल लगाइदिए । सधैँ आवतजावत गर्ने आँगनमा समेत हिँड्न दिइएन । जसले गर्दा ९ दिनसम्म सोनीका श्रीमान र लक्ष्मी र उहाँकी छोरीको बास बाहिर भयो भने सोनी र उहाँको छोराको बास घरभित्रै भयो ।

आफ्नै घरबाट बाहिर निस्कन नपाउँदा सोनीलाई तनाब भयो । सुगरको बिरामी त्यसमाथि भर्खरै पित्तथैलीको अप्रेसन गर्नुभएकी सोनीले औषधी पाउनुभएन । त्यतिमात्रै होइन, पिउने पानीको समेत अभाव भयो । तनाबले सोनीलाई आत्महत्या गर्ने सोचमा पुर्यायो । सोनीले छोरालाई पर्खालबाट बाहिर फाल्ने र आफूलाई मट्टीतेल छर्केर आगो लगाउने योजना बनाउनुभयो । हतार हतार भान्छामा पस्नुभयो तर सलाई भेटाउनुभएन ।  छोराको मुख हेर्दै फेरि रोकिनुभयो । 

चैत २८ गते नगरपालिकाले पर्खाल भत्काउन दिएको पत्रअनुसार छिमेकी हरि रानाभाटले पर्खाल भत्काउनुभयो । तर अहिले पनि राम्रोसँग हिँड्न मिल्ने बाटो छैन । ‘मलाई अहिले पनि तनाब छ । काम गर्न मन लाग्दैन । डर लागिरहन्छ । अहिले तपाईंको फोन आउँदा पनि कसले गर्यो ?  फेरि केही हुने त होइन ? यस्तै सोचिरहन्छु ।’ सोनीले भन्नुभयो । 

दैनिक १७ जनाद्वारा आत्महत्या

सोनीजस्तै आत्महत्या गर्ने मनस्थितिबाट फर्किने मानिस सायदै भेटिन्छन् । पारिवारिक, छिमेकी र व्यक्तिगत कारणले आत्महत्या गर्नेको अवस्था नेपालमा डरलाग्दो हुँदै गएको छ । लकडाउनको कारण आत्महत्याका घटना झनै बढ्दै गएका छन् । लकडाउनको सुरुवातमा आत्महत्या दर १६ जना थियो भने अहिले औसत १७ जनाले दैनिक आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।  

लकडाउन अवधिमा गएको चैत ११ गतेदेखि जेठ १० गतेसम्म देशमा १८ वर्षमुनिका ८६ जना किशोरी तथा बालिकाहरुले आत्महत्या गरेका छन् । लकडाउन सुरु भएको दुई महिनामा आत्महत्या गरेका नौ सय ८२ जनामध्ये ८६ जना किशोरी र  बालिकाले आत्महत्या गरेको प्रहरी प्रवक्ता, डिआइजी निरजबहादुर शाहीले जानकारी दिनुभयो । यस अवधिमा १८ वर्षमुनिका ४४ जना किशोर र बालकले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । लकडाउनको दुई महिनामा आत्महत्या गर्नेमध्ये चार सय ९९ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी प्रदेश पाँचका दुई सय २५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ जना रहेका छन् ।

आत्महत्या डिप्रेसनसँग सम्बन्धित

कोरोना भाइरसको डरसँगै लकडाउनको कारण अरु समस्या बढेर आत्महत्याका घटना बढेका वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले बताउनुभयो । काम गर्न नपाउँदा दैनिकी चलाउने चिन्ता, रोग लाग्दा उपचार नपाउनु तथा हिँडडुल र भेटघाट गर्न नपाउनुलगायतका समस्याका कारण समेत आत्महत्याका घटना  बढेको डा. महतको भनाइ छ । ९० प्रतिशतभन्दा धेरै आत्महत्याका घटना डिप्रेसनसँग सम्बन्धित हुने र अहिले लकडाउनको कारण यो बढेको उहाँले बताउनुभयो । १८ वर्षमुनिका किशोर किशोरी तत्कालै आवेगमा आउने भएकोले अझै समस्या हुने उहाँले बताउनुभयो । आत्महत्याका घटना रोक्नका लागि परिवारका कुनै सदस्यमा मानसिक समस्याको लक्षण देखिए तत्काल समस्या समाधानको प्रयास गर्नुपर्ने डा. महतले भन्नुभयो ।   

गएको आर्थिक वर्ष २०७५/०७६ को माघ, फागुन र चैतमा देशभर ४ सय ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीमा आत्महत्यासम्बन्धी ४ सय ६९ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ७० महिला, २ सय ५९ पुरुष , १८ बालक र २० बालिकाले आत्महत्या गरेका थिए ।
यस्तै चालु आर्थिक वर्षको माघ, फागुन र चैतमा ४ सय ३३ जनाले आत्महत्या गरेका छन् । जसमा १ सय ६३ जना महिला, २ सय २२  पुरुष, २६ बालक र २२ बालिका रहेका छन् । 

डरलाग्दो अवस्था आउनै बाँकी : समाजशास्त्री निर्मला ढकाल

यो अवस्थामा आत्महत्या यसरी रोक्न सकिन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । आत्महत्या गर्नुपछाडि विभिन्न कारण हुन्छन् । त्यसमध्ये धेरैजसो कारण समाजसँग गएर ठोकिन्छन् । यो समयमा कुन उमेर समूहका किशोर, किशोरी, महिला र पुरुषले किन आत्महत्या गर्यो ? भन्ने अनुसन्धान नभईकन यसको रोकथाम यसरी गर्नुपर्छ भन्न सकिँदैन । 

अहिले मानिसहरु सबै कुराबाट वञ्चित भएका छन् । साथीहरुलाई भेट्न पाएका छैनन् । मनोरञ्जन पाएका छैनन् । जागिर छुटेको छ । सधैँ घुमफिर गरिरहनेहरुले घरभित्रै बस्नु परिरहेको छ । त्यसमाथि नयाँ रोगको कारण कतिजना क्वरेण्टीनमा छन् । कतिपय आइसोलेसनमा छन् । यस्ता धेरै कारणहरु छन् । 

तसर्थ, कुन मानिसको व्याकरण के हो ? उसले किन आत्महत्या गर्यो भन्ने अनुसन्धान नहुँदा यसको यसरी रोकथाम गर्नुपर्छ भनेर म भन्न सक्दिनँ ।
अर्को कुरा, आत्महत्यालाई अहिले जस्तो डरलाग्दो अवस्था भनिएको छ, सायद योभन्दा डरलाग्दो अवस्था आउनै बाँकी छ । अहिले मान्छेले काम गर्न पाएका छैनन् । कमाएको पैसा सकिएपछि आत्महत्या गर्नेको सङ्ख्या बढ्ने छ ।

विशेषज्ञको सल्लाह लिनुपर्छ : वरिष्ठ चिकित्सा मनोविद् पशुपति महत 

कोरोना भाइरस र लकडाउनले पारेको असरले मानसिक रोग धेरै बढेको छ । यसबाट केटाकेटी, महिला र पुरुष सिकार भएका छन् । अहिले किशोर किशोरीहरुले पनि आत्महत्या गरिरहेका छन् । यो उमेर भनेको आफ्ना साथीहरुसँग रमाउने उमेर हो । अहिले उनीहरुलाई पढाइ र परीक्षादेखि सबै कुराको चिन्ता छ ।  अब के गर्ने, कसो गर्ने भन्ने दोधारमा छन् । किशोरकिशोरी दोधारेभन्दा जे कुरा पनि स्पष्ट भएको मन पराउँछन् । 

सामान्य रुपमा यस उमेरका केटाकेटी छिटो रिसाउन र छिटै खुसी पनि भइहाल्ने हुन्छन् । रिसको झोकमा कतिपय बेला आफैँलाई हानी गर्ने खालका व्यवहारहरु जस्तै आत्महत्यासम्म गर्ने सोचमा पुग्छन् । यी सबैको मुख्य कारण डिप्रेसन हो । 

व्यक्तिले प्रायः आफ्नो स्वभावमा परिवर्तन हुँदैछ, आफूमा निराशाका भावनाहरु आइरहेका छन्,  भविष्यका योजनाहरु प्रष्ट छैनन्, जिन्दगी बेकार छ, अब केही गर्न सकिँदैन, केही उपाय छैन भन्ने सोचाइ आउँछ भने यसको सबैभन्दा राम्रो उपाय भनेको आफ्नो मन मिल्ने साथीलाई सबैकुरा भन्नुपर्छ । यस्ता कुरा साथीभाइ र आफन्तले राम्रोसँग सुनिदियो भने यस्तो जोखिम छिटो कम हुन्छ । कुुनैपनि व्यक्तिले आफ्नो भावना पहिलेकोभन्दा फरक हुँदैछ भन्ने लाग्छ भने विशेषज्ञहरुको सल्लाह लिनुपर्छ । 

परिवारको भूमिका महत्त्वपूर्ण 

आत्महत्याबाट जोगाउन परिवारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने विज्ञहरु बताउँछन् । चाहे पुरुष, महिला वा केटाकेटी होस्,  आत्महत्या गर्नेहरुको स्वभाव र व्यवहारमा परिवर्तन आउँछ । यसलाई  परिवारले बुझ्न सक्नुपर्छ । आफ्ना सन्तानको व्यवहार फरक हुँदैछ । रिसाउँछ, झोकिँन्छ, निराश हुन्छ भने यसले आत्महत्या गर्न सक्छ भनेर निकै ख्याल गर्नुपर्छ । 

कतिपयले केही गर्न सकिँदैन, जिन्दगी बेकार छ पनि भन्छन् । यस्तो पाइएमा अभिभावकहरुले आफ्ना सन्तानसँग समय बिताउनुपर्छ । उनीहरुका भावना र पीडा सुनिदिने तथा उनीहरुलाई हौसला दिएर सहज बनाइदिने हो भने आत्महत्या गर्नबाट उनीहरुलाई रोक्न सकिन्छ । कतिपय अभिभावकले सन्तानले यस्तो कुरा गर्दा पनि उसले धम्क्याएको मात्र हो, कहाँ मर्छ र भनेको तर पछि मरेका घटनाहरु धेरै सुनिने गरेकाले आत्महत्या हुनबाट बचाउन  परिवारको सबैभन्दा ठूलो भूमिका हुन्छ । 

सरकारसँग कुनै योजना छैन

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालका कार्यक्रम अधिकृत हिमाल गैरे अहिले आत्महत्या बढ्दै गएपनि सरकारले त्यसलाई रोक्न कुनै योजना नबनाउनु दुखद भएको बताउनुहुन्छ । लकडाउनपछि आत्महत्याको अझ डरलाग्दो अवस्था आउन सक्ने अनुमान भएपनि सरकारले त्यसतर्फ चासो दिएको छैन ।

आत्महत्याको मुख्य कारण मानसिक समस्या भएको बताउँदै गैरेले लकडाउनमा धेरैजसोले मानसिक समस्यामा परेर आत्महत्या गरिरहेको बताउनुभयो ।
‘अवस्था डरलाग्दो छ । तर सरकार चुपचाप बसेको छ । न  कुनै योजना बनाएको छ । यस्तै अवस्था रहने हो भने देशको अवस्था भयानक हुने छ,’ गैरेले भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया