भारतीय प्रधानमन्त्री मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह– 'पशुपतिनाथको आशिर्वाद लिएर सचिन्नुहोस्'

 जेठ २०, २०७७ मंगलबार १४:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गर्नुभएको छ । 

सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आध्यात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गर्नुभयो । 

अतिक्रमणकारी प्रवृत्तिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल–भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उहाँले मोदीलाई आग्रह गर्नुभयो । 

सत्तारुढ दल नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको बताउनुभयो । तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले उत्तरी छिमेकी चीन असल छिमेकी भए पनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको बताउनुभयो ।

‘चीनले नेपालको सार्वभौमिकता अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति नदेखाएको कारणले हामी सम्मान गर्छाैँ । चीनलाई अनुरोध छ, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जान/अन्जान आँच पुग्ने वा बल पुग्ने काम चीनको तर्फबाट हुनुहुँदैन । सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा भएको सम्झौताको आत्मसमीक्षा गर्न आगह गर्दछु’, उहाँले भन्नुभयो  ।

प्रवक्ता श्रेष्ठले प्रबुद्ध व्यक्तिकाे समूह (ईपीजी) ले सहमतिमा नेपाल–भारत सम्बन्ध, समस्या र समाधानका विषयमा तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति पनि दुःख व्यक्त गर्नुभयो ।

प्रवक्ता श्रेष्ठले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने मागसमेत गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया