महाराष्ट्रमा उत्पात मच्चाएकाे निसर्ग चक्रवात कमजाेर बन्दै

 जेठ २२, २०७७ बिहिबार ९:४:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे महाराष्ट्र राज्यमा उत्पात मच्चाएकाे निसर्ग चक्रवात कमजाेर हुँदै गइरहेकाे छ । भारतीय माैसम विभागका अनुसार याे चक्रवात बिस्तारै–बिस्तारै अझ कमजाेर हुनेछ । 

समाचार एजेन्सी पीटीआईका अनुसार निसर्ग चक्रवात अब उत्तर–पूर्व महाराष्ट्रतर्फ बढिरहेकाे छ । महाराष्ट्रको रायगढ जिल्ला हुँदै नासिक र मध्य प्रदेशतर्फ अघि बढेको हो । अब नासिक, धुले र नंदुरबारमा निरसर्ग चक्रवातकाे प्रभाव पर्ने सम्भावना छ । माैसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रका अनुसार निसर्ग १२० किलाेमिटर प्रतिघण्टाकाे गतिमा उत्पात मच्चाएकाे थियाे । 

महामात्रका अनुसार याे चक्रवातको असर पुनेमाथि केन्द्रित छ । तुफान कमजाेर भएर तुफानी चक्रवातमा परिणत भएकाे छ । अब हावाकाे गति ६५ देखि ७५ किलाेमिटर प्रतिघण्टा भएकाे छ । 

चक्रवातको कारण महाराष्ट्रको रायगढ जिल्लामा एक ५८ वर्षीय पुरुषको ज्यान गएको छ । एजेन्सीका अनुसार तीव्र गतिको हावाको कारण ट्रान्सफर्मर ढलेर लाग्दा उनको ज्यान गएको हो ।

छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आवागमन सुरु भएकाे छ । 

निरर्गले गुजरातकाे दक्षिणी तटमा कुनै ठूलाे क्षति नपुर्‍याएकाे बताइएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार गुजरात सरकारले आठ जिल्लाकाे तटीय क्षेत्रका ६३ हजार सात सयभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा पुर्‍याएकाे थियाे ।

भारतकाे राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडीआरएफ) का १८ टिम र राज्य आपत् प्रतिक्रिया बल (एसडीआरएफ) का ६ टिम उद्धार कार्यकाे लागि तैनाथ गरिएकाे थियाे ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया