सङ्क्रमणको अवस्था हेरेर लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी

 जेठ २३, २०७७ शुक्रबार ११:४०:५२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याए पनि बजारमा पहिलेभन्दा चहलपहल बढेको छ । प्रहरीले पहिलेजस्तो कडाई गरेको पनि छैन ।

लकडाउन खुकुलो बनाउनुपर्ने माग उठिरहेको छ । तर कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढ्दै जाँदा लकडाउन कसरी खुकुलो बनाउने भन्नेबारे सरकार आफैं अन्योलमा छ । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल भैरहे पनि सरकारले यसबारे निर्णय गरिसकेको छैन ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने गरी मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।

समितिले यसबारे विज्ञसँगको छलफललाई तीव्रता दिएको छ । विज्ञहरुले नेपालमा कोरोनाकाल लामो समयसम्म रहन सक्ने भएकाले स्वास्थ्य सम्बन्धी नियमको पालना गरी आर्थिक गतिबिधि बढाउन सुझाव दिएका छन् । प्राप्त सुझावको आधारमा सङ्क्रमणको अवस्था हेरेर लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल भैरहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सहित गृह र स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न संयन्त्रले गृहकार्य अगाडि बढाएका छन् । अरु देशले अहिले चालेका कदमलाई आधार बनाएर नेपालीपन दिने हिसाबले काम भैरहेको स्रोतले जनाएको छ । 

सबै ठाउँमा एकैपटक लकडाउन खोल्दा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने निश्कर्षसहित विभिन्न चरणमा गरी बिस्तारै खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भैरहेको उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिएका छन् । सङ्क्रमण नदेखिएका र जोखिम कम भएका ठाउँबाट लकडाउन खुकुलो बनाउँदै लैजानेबारे छलफल भैरहेको हो । 

अहिले जस्तो सबै जिल्लामा एउटै ढाँचामा लकडाउन अब नहुने ती सदस्यको भनाई छ । उदाहरणका लागि उदयपुरको भुल्के, बाँकेको नरैनापुरलाई आधार मानेर सिङ्गो जिल्ला र अरु ठाउँमा पनि उस्तै रणनीति अपनाउन नहुने निश्कर्षमा सरकार पुगेको ती सदस्यले बताएका छन् ।

कोरोना सङ्क्रमण देखिएको ठाउँमा जटिलता अध्ययन गरी रातो, पहेँलो र हरियो क्षेत्र कायम गर्ने तयारी छ । जहाँ सङ्क्रमण बढी देखिएको छ, त्यहाँ रातो अर्थात रेड जोन घोषणा गरिनेछ । रेड जोनमा अवस्था फेरिएपछि बिस्तारै पहेँलो र सामान्य भैसकेपछि हरियो क्षेत्र घोषणा हुनेछ । सङ्क्रमण नघटेमा रेड जोन कायमै रहनेछ । सङ्क्रमित घट्दै गए पहेँलो हुँदै हरियो क्षेत्र कायम गरेपछि अरु गतिविधि सुरु हुनेछन् । 

उच्चस्तरीय समितिले आज र भोलि छलफल गरी लकडाउनको नयाँ स्वरुप तयार पार्नेछ । उच्चस्तरीय समितिले कार्ययोजना बुझाएर मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै कार्यान्वयन हुनेछ । 

हिजोको बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावका विभिन्न पक्षमा छलफल भएको थियो । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्नेमा जोेड दिएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया