कोरोना महामारीले सकारात्मक पाठहरु पनि सिकाएको छ

 जेठ २३, २०७७ शुक्रबार १५:२०:५१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - इतिहासका विभिन्न समयमा भयावह र ठूला विपद् हुने गरेका कुरा सानो छँदा घरमा हजुरबुबाले सुनाउनुहुन्थ्यो । समय समयमा  बिफर र हैँजाजस्ता प्रकोपले कसरी मानव समुदायमा महामारीको रुप लिन्थे भन्ने कुराहरु त्यतिबेला सुन्दा कथाजस्तो लाग्थ्यो । तैपनि खुब चासो दिएर सुनिन्थ्यो । हामीलाई कथाजस्तो लाग्ने  विपद् र महामारीका कुरा सुनाउँदै गर्दा त्यतिबेला हजुरबुबाले भन्नुभएको एउटा वाक्य मेरो मनमा लागिरहन्थ्यो । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । विपद्ले पाठ सिकाउँछ । हजुरबुबाले भन्नुभएको तात्पर्य अब खोज्ने, देख्ने र लेख्ने बेला पो भएको हो कि ?

हजुरबुबाले हरेक कालखण्डमा विभिन्न विपद् आउन सक्छन् भन्नुभएको कुरा अहिलेको म र मेरो पुस्ताले भोग्दैछ  । मेरो विचारमा कोरोना प्रकोप मानव समुदायको लागि भयावह र अभूतपूर्व अनुभव हो । जुन स्वयम् म पनि भोग्दैछु । स्वाभाविक रुपमा विपद्ले विनाश निम्त्याउँछ । अहिलेको कोरोना भाइरसको महामारीले पनि विश्वको अर्थतन्त्र डगमगाएको छ । धेरैको रोजीरोटी खोसिएको छ । तर मेरो हजुरबुबाले भन्नुभएजस्तै कालो बादलमा भएको चाँदीको घेरा खोज्ने हो भने कोरोना महामारीले हामीलाई नकारात्मक मात्रै नभई धेरै सकारात्मक कुराहरु पनि सिकाएको छ । 

चीनको वुहानबाट सुरु भएको भाइरस अहिले विश्वभर फैलिएको छ । अमेरिका र युरोपेली देशहरुमा नराम्ररी प्रभाव पारेको छ । नेपालमा पनि सङ्क्रमणको दर बढ्दै गएको छ । सङ्क्रमणको सुरुवातसँगै सहरबाट गाउँ फर्कने मानिसको सङ्ख्या बढेको छ । कोरोनाको कारण मानिसहरुबीच भौतिक दूरी बढेपनि मानिसहरुको भावनात्मक दूरी घटेको देखिन्छ । समाजमा सामाजिक भावनाकोसमेत विकास गरेको छ । 

जो होचो उसैको मुखमा घोचो 

महामारी अथवा प्रकोप प्राकृतिक, सामाजिक, आर्थिक, राजनीतिक पक्षसँग जोडिएर आउने हुन्छ । तर यी सबै पक्षहरुको प्रभाव सिधैँ समाजमा पर्ने गर्छ । मानिस जुन सामाजिक संरचनाभित्र रहन्छ त्यसले पनि संरचनात्मक रुपमा बढी या कम असर गर्ने गर्छ । नेपाली समाजलाई हेर्ने हो भने नेपालमा विभिन्न पेसा व्यवसाय गर्ने मानिसहरु छन् । पेसा, वर्ग र ठाउँका कारण पनि महामारीको असर बढी वा कम पर्ने हुन्छ । नेपाली समाजको कुरा गर्नुपर्दा अहिले कोरोनाको महामारीले धनी, मध्यम र निम्न वर्गीय मानिसहरुमा फरकफरक असर पारेको छ । आर्थिक र सामाजिक रुपमा पहिल्यैदेखि पछाडि रहेका मानिसहरुमा अहिले भोकमरीलगायतका समस्याहरु देखापरेका छन् । अरुको तुलनामा न्यून आर्थिक अवस्था भएका र ज्यालादारी गर्ने मानिसहरुलाई यसले बढी प्रभावित बनाएको छ । 

नेपालीपन फर्किंदै  

त्रिभुवन विश्वविद्यालयअन्तर्गत समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर टीकाराम गौतम कोरोनाको कारण सरकारले लगाएको लकडाउनको कारण मानिसमा धेरै कुराहरु सकारात्मक भएको बताउनुहुन्छ । लकडाउनको कारण मानिस गाउँ फर्किएका छन् । यसले पारिवारिक जमघट बढाएको छ । आवश्यकता पूरा गर्ने नयाँ आयाम थपिएको छ ।

परिवारमा मिलेर बस्ने बाँडीचुँडी खाने, एक अर्कोसँग भावना साटासाट गर्ने, मिलीजुली बस्ने, सीमित स्रोत साधनमा पनि टिक्ने र टिकाउने कुराहरुको विकास भएकोे छ । समाज नेपालीपनमा फर्किएको हो कि भन्ने आभाष भएको छ । संस्कार, संस्कतिका कुराहरु पनि यसमा जोडिएर आएका छन् । यस्तै साबुन पानीले हात धुने र स्वस्थ खाना खानेलगायतका कुराहरु पनि सँगै जोडिएर आएका छन् । 

परिवार र समाज आवश्यक 

कोरोना महामारीको कारण मानिसहरुमा सामाजिक भावनाको विकास भएको छ । समाजमा एकले अर्कोलाई सहयोग गर्ने, भोका नाङ्गालाई सहयोग गर्नेलगायतका सामाजिक भावनाको विकास भएको गौतमको भनाइ छ । अरुको दुःखसुख बुझ्ने, दुःखसुख बाँड्नेलगायतका सामाजिक भावनाकोसमेत विकास भएको पाइन्छ । यस्तै महामारीले अहिले धेरैको घरबाट टाढा वा विदेशमा रहेर परिवारको आवश्यकता पुरा गर्ने कुरालाई अवरोध गर्यो । पहिलेको समाजमा हुने गरेका चलनचल्ती, मूल्य र मान्यताहरुलाई स्थापित गर्नमा सहयोग पुगेको छ । यसबाट अबका दिनमा नयाँ स्वरुप, प्रक्रिया, प्रविधि र उत्पादनको नयाँ तरिका तथा आधुनिक परिपाटीको विकास हुने देखिएको छ । भित्रभित्रै कोरोनाले त्रास फैलाएपनि समाज र परिवार  चाहिने कुरा रहेछ भन्ने एक खालको भोगाइ समेत सिकाएको छ । 

विकल्पको खोजी

कोरोना भाइरसले नेपालजस्तो विकासोन्मुख देश मात्र होइन, युरोपका विकसित देशहरु पनि आक्रान्तमा परेका छन् । भोलि यस्तो अवस्था आउन सक्छ है भनेर पूर्व तयारी गर्नुपर्दो रहेछ भन्ने सबैले महसुस गरेका छन् ।  शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अहिले जे जति प्रभाव पारेको छ यसले लगानीका लागि नयाँ अवसर र नयाँ विकल्प खोज्न सकिने अवस्था पनि सिर्जना भएको छ ।  मानिसहरुले सहरकेन्द्रित मात्र नभई गाउँमै रोजगारीका नयाँ विकल्पहरु पनि सिर्जना गर्नुपर्ने कुराको बोध भएको छ ।  

लकडाउन सुरु भएपछि वातावरणको क्षेत्रमा सुधारका लक्षणहरु देखिएका छन् । हावामा धुलो धुँवाको मात्र घटेको छ । नयाँ नयाँ चराचुरुङ्गी देखिन थालेका छन् । मानिसहरुका क्रियाकलापले गर्दा वातावरणमा कतिसम्म असर परेको रहेछ र वातावरण प्रतिकूलका क्रियाकलापहरु कम गरे वातावरण स्वच्छ रहने रहेछ भन्ने कुरा समेत छर्लङ्ग भएको छ । 

सद्भाव आवश्यक 

कोरोना र लकडाउनको कारण अहिले समाजमा जुन सामाजिक एकता र सद्भाव देखिएको छ । त्यसलाई खलबल्याउन नदिनेतर्फ सचेत हुन समाजशास्त्री सुरेश ढकालको सुझाव छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पारिवारिक मेलमिलाप, सामाजिक एकता र सहयोगको भावनाको विकास र सीमित स्रोत साधनमा पनि बाँच्न सकिने वातावरण सिर्जना भएको छ । तर यसलाई कायम राख्न सबैले ध्यान दिनुपर्छ ।  अहिले देखिएको सामाजिक सद्भावलाई कायम राख्नको लागि गाउँगाउँमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँको तर्क छ  । त्यस्तै काम गुमेकाहरुले पनि नयाँ नयाँ अवसर सिर्जना गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

कृषिलाई प्राथमिकता दिनुपर्नेलगायतका काम गर्नुपर्ने उहाँको भनाइ छ । यदि यसो हुन सकेन र कृषिमा आधुनिकीकरण गर्न सकिएन भने फेरि समाजमा द्वन्द्व, झैझगडा र सामाजिक विचलनको अवस्था सिर्जना हुन सक्ने उहाँले भन्नुभयो । अहिले मानिसहरुमा केही हदसम्म सकारात्मक सोचको विकास भएको छ । यो चेतनामा आएको परिर्वतन नभई बाध्यात्मक परिस्थितिमा आएको परिर्वतन भएकोले भोलि सरकारले गाउँगाउँमा विकासका कामहरु कृषिमा आधुनिकीकरण र युवा रोजगारका कार्यक्रम बढाउनेमा सरकारको विशेष ध्यान जानुपर्दछ ।  

कोरोना भाइरसले हामीलाई धेरै कुरामा परिवर्तन गरायो र अझै परिवर्तित गराउने निश्चितजस्तै छ । कतिपय मानिसहरुले ठट्टा गर्दै धनी देशकाभन्दा गरिब देशका नागरिक बलिया हुन्छन् भन्ने कुरा पनि हो कि जस्तो अनुभूति भएको छ । यस्तै मानिसले चिडियाघरमा बस्ने जनावरको जीवन कस्तो हुँदोरहेछ भन्ने कुराको समेत अनुभव गरेका छन् । यतिमात्र नभई पैसाभन्दा ठूलो केही छैन भन्ने भ्रम पाल्नेहरुका लागि पनि पैसाभन्दा ठूलो कुरा खानेकुरा पो रहेछ भन्ने भावनाको विकास समेत भएको छ । त्यस्तै भविष्यमा यस्ता खतराहरु निम्तिन सक्छन् त्यसैले सधैँ तयार रहनुपर्छ भन्ने पाठ समेत सिकाएको छ । यस्तै मानिसको खानपान प्राकृतिक हुनुपर्ने र सधैँ सरल जीवन हुनुपर्ने कुरालाई पनि यो महामारीले पाठको रुपमा सिकाएको छ । 

अन्तिम अपडेट: असार २१, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया