‘कोरोना सङ्क्रमितमा अरु रोगका लक्षण देखिन थाल्यो, पूर्वाधार बढाउनुपर्छ’

 जेठ २३, २०७७ शुक्रबार १३:४८:२० | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण बढ्दा नेपालका धेरै अस्पताल कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भएका छन् । कोरोना सङ्क्रमितलाई बढी प्राथमिकता दिँदा अरु सङ्क्रमण वा रोगका बिरामी समस्यामा परिरहेका छन् । कोरोनाबाहेक अन्य रोगका बिरामीको व्यवस्थापन कसरी भइरहेको छ भन्ने टेकमान शाक्यले ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेसँग कुराकानी गर्नुभएको छ ।

कोरोना सङ्क्रमितलाई मात्रै उपचार केन्द्रित भइरहेको अहिलेको समयमा मौसमी सङ्क्रमणका विषयमा कतिको ध्यान दिन सकिरहेका छौँ ?

निश्चित रुपमा हामी सबै कोरोनाकै उपचारमा लागिरहेको अवस्था हो । अहिले मौसम परिवर्तन भएको छ । अरु रोगका सङ्क्रमण पनि बढ्ने समय भएकोले त्यसलाई पनि हामीले यथोचित ध्यान पुर्याएका छौँ ।

के के विषयमा कसरी ध्यान पुर्याउने काम भएको छ ?

उदाहरणको लागि अहिले डेङ्गी रोग प्रकोपकै रुपमा आएको छ । अहिले डेङ्गीको सङ्क्रमण देशका धेरै ठाउँमा बढ्ने सम्भावना छ । क्वरेण्टीनमा बस्नेहरुलाई पनि डेङ्गीको सङ्क्रमण भएको छ । त्यसको नियन्त्रणको लागि केन्द्रमा एउटा कमिटी बनाई विशेषज्ञहरु राखेर आवश्यक सावधानी र कामबारे छलफल गरिसकेका छौँ । अहिले नेपालमा ७० भन्दा धेरै व्यक्तिमा डेङ्गी लागेको हाम्रो रेकर्डमा छ । 
त्यसैलाई मध्यनजर गरेर हरेक प्रदेश र पालिकामा रोगबारे जानकारी दिने कामहरु पनि गरेका छौँ । त्यसका लागि हामीले ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली व्यवस्थापन गरेका छौँ । 

डेङ्गीबाहेक अन्य रोगको सङ्क्रमणको सम्भावना कतिको छ ?

डेङ्गीबाहेक मलेरियाको पनि डर छ हामीलाई । गएको वर्ष हामीसँग १ हजारको हाराहारीमा मलेरियाका बिरामी थिए भने यो वर्ष ४ सय ५० जनामा यो रोग पत्ता लागेको छ । क्वरेण्टीनमा पनि मलेरिया भएका व्यक्तिहरु भेटेका छौँ । त्यो हिसाबले हामीले हरेक क्वरेण्टीनमा स्थानीय निकाय र हाम्रा कर्मचारीलाई प्रशस्त मात्रामा आरडिटी टेष्ट गर्न भनेका छौँ । क्वरेण्टीनमा रहेकाहरुलाई लामखुट्टेबाट बचाउन विभिन्न उपायहरु अपनाउन भनेका छौँ । झाडापखालालगायत अरु रोगको सङ्क्रमण पनि हुन सक्ने भएकोले त्यसका लागि पनि हामीले आवश्यक तयारी गरेर बसेका छौँ । त्यसैअनुसार प्रबन्ध मिलाएका छौँ ।

कोरोनाको सङ्क्रमण दर तीव्र गतिमा बढिरहेको समयमा कोरोना सङ्क्रमित राख्ने ठाउँको समेत अभाव हुन सक्ने सम्भावना छ । अरु बिरामीको उपचारका लागि कसरी ध्यान दिइरहनुभएको छ ?

कोरोना सङ्क्रमित राख्न विभिन्न तहका अस्पतालको व्यवस्था गरेका छौँ । काठमाण्डौकै कुरा गर्ने हो भने पनि कोरोना सङ्क्रमितहरुलाई शुक्रराज ट्रपिकल अस्पतालमा राखेका छौँ । त्यसबाहेक सर्पदंश र कालाजारलगायतका बिरामीलाई वीर अस्पतालमा उपचारको प्रबन्ध मिलाएका छौँ । अरु जिल्ला र अस्पतालहरुमा पनि त्यही हिसाबले व्यवस्थापन गरेका छौँ । 

कोरोना बाहेकका बिरामीहरुले उपचार नपाएका, दुःख पाएका खबरहरु आएका छन् । त्यस्ता बिरामीले उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्नका लागि के कस्ता प्रयासहरु भएका छन् ?

तपाईंले भन्नुभएजस्तै हामी एकोहोरो रुपमा कोरोनाको विरुद्धमा मात्रै लडिरहेका छौँ । केही ठाउँमा क्वरेण्टीनमै मानिसहरुको ज्यान गइरहेको छ । नेपालगञ्जमा ज्यान गुमाउनुभएका एक व्यक्तिलाई वाक्वाकी र झाडा पखाला भएको थियो । एउटै समयमा अर्को खालको उपचार पुगेन भने समस्या हुने कुरा त्यो घटनाले पनि पुष्टि गरेको छ । क्वरेण्टीन नै रोगको सङ्क्रमण गराउने ठाउँ हुन सक्छ भनेर हामीले पटक पटक भनिरहेका छौँ । सबै निकायले कोरोना मात्रै होइन, अरु सङ्क्रमणका कारण पनि ज्यान जान सक्छ भन्ने कुरा बुझ्नुपर्यो र त्यहीअनुसारको आवश्यक तयारी गर्नुपर्यो । 

क्वरेण्टीनमा बसेका मानिसहरुलाई कोरोनाको डर त छँदैछ । अरु सङ्क्रमणको डर पनि उत्तिकै छ । यसबाट बच्न के गर्ने उसो भए ?

क्वरेन्टीनमा लामखुट्टेको डर छ । सर्पले टोक्ने सम्भावना पनि उत्तिकै छ । विशेष गरेर अहिलेको यो मौसममा डेङ्गी, मलेरिया, स्कप टाइफसलगायत रोगको डर हुने गर्छ । यसका लागि विशेष निगरानी र सचेतनातर्फ हामीले तत्काल लाग्नुपर्ने हुन्छ ।

कोरोनाको आशङ्कामा भाइरल ज्वरो र रुघाखोकीलगायतका बिरामीहरुले तत्काल उपचार नपाउने समस्या बढ्दै गएको सुनिन्छ । यसको व्यवस्थापन कसरी भइरहेको छ ?

ज्वरो आउँदा पनि कतिपय अस्पतालले कोरोनाको आशङ्कामा बिरामी नहेरेको भन्ने पनि छ । अस्पतालले त्यस्ता सेवालाई तत्काल सुरु गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले सुचना जारी गरिसकेको छ । धेरै अस्पतालले त्यस्ता बिरामी हेरेपनि अझैपनि केही अस्पतालले उपचार गर्नबाट पछि हटिरहेको हामीले पाएका छौँ । 
हाम्रोमा भएका कोरोना सङ्क्रमित व्यक्तिहरु बाहिरबाट आएका व्यक्ति भएकाले पहिला के कारणले स्वास्थ्य समस्या भएको हो भनेर पत्ता लगाएर उपचारमा तत्काल तदारुकता देखाउन हामीले भनिरहेका छौँ । स्थानीय स्तरमै बस्ने, बाहिर नगएको र बाहिरबाट आएका व्यक्तिको सम्पर्कमा छैन भने उसको उपचार गर्न कसैले पनि हिचकिचाउनुहुँदैन । विशेष सावधानी अपनाएर उपचारमा संलग्न हुनुपर्छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको सन्दर्भमा उनीहरुका लागि आवश्यक जनशक्ति पनि धेरै लाग्ने भएकोले अरु रोगको उपचारमा चाहिने जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा पनि नजर लगाउनुपर्ने आवश्यकता छ नि हैन ?

कोरोना सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै गयो भने कसरी अघि बढ्ने भन्नेबारेमा व्यवस्थापकीय पक्ष लागेको छ । आइसोलेसन, भेन्टिलेटर र वार्डहरु कति चाहिने हो त्यसका लागि आवश्यक कसरत भइरहेको छ । रोग नियन्त्रण महाशाखाले बिरामीको पहिचान गर्ने, सङ्क्रमितलाई एक ठाउँमा राख्नेलगायतका काम गरिरहेको छ । सरकारले पनि आफ्नो तर्फबाट काम गरिरहेको छ भन्ने मलाई लाग्छ । कोरोना भएका व्यक्तिमा पनि अरु रोगका सङ्क्रमण हामीले पाएका छौँ । त्यसैले हामी सजग छौँ । आवश्यक तयारीमा छौँ ।
 

अन्तिम अपडेट: असार १३, २०७७

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया