‘मृत्युपछि मात्रै कोरोना पुष्टि हुनुका कारणबारे अहिले नै भन्न अलि हतार हुन्छ’

 जेठ २५, २०७७ आइतबार १८:४७:१ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - भारतबाट फर्किएका सुर्खेतका एक युवकको दुई पटकसम्म आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी हिँडेरै घर पुगे । तर उनको ज्यान गयो । ज्यान जानेबित्तिकै स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । नेपालमा कोरोनाको कारण ज्यान गुमाएका धेरैजसोको पीसीआर रिपोर्ट मृत्युपछि मात्रै आएका छन् । उनीहरुमध्ये धेरैजसो व्यक्तिले क्वरेन्टीनमै ज्यान गुमाउनुपरेको छ । उज्यालो सहकर्मी टेकमान शाक्यले यसै विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीसँग कुराकानी गर्नुभएको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमध्ये धेरैको परीक्षण रिपोर्ट मृत्युपछि मात्रै आउने गरेको छ । यस्तो किन भइरहेको छ ?

हामीकहाँ परीक्षणका लागि आएका नमुनाहरुको ‘क्यू’ लामो छ । विदेशबाट आउनेहरुको दर एकदमै धेरै भएकोले पनि परीक्षणका लागि आएका नमुना धेरै हुने भइहाल्यो । क्वरेण्टीनमा पनि धेरै मानिस हुनुहुन्छ । उहाँहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको ‘स्याम्पल’ पनि धेरै लिइरहेका छौँ । त्यसको कारण पनि रिपोर्ट अलि ढिला आएको हो कि भन्ने लागेको छ एउटा पाटोबाट हेर्दा । अर्को कारण भनेको कोरोनाकै कारणले मात्रै भन्दापनि अरु विभिन्न कारणले ज्यान गुमाउनुपरेको अवस्था पनि छ । 

धेरैजसो व्यक्ति अलि धेरै गम्भीर भएपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गरेकाले पनि यस्तो देखिएको हो । उहाँहरु जति ढिलो स्वास्थ्य संस्था पुग्नुहुन्छ, परीक्षण गरेर स्वाब पठाउन त्यति नै ढिलो हुने गर्दछ । हामीले आफ्नो तर्फबाट काम गर्दागर्दै अरु रोगका कारण ज्यान गुमाउनुपरेको अवस्थामा कोरोना रिपोर्ट ज्यान गुमाएपछि मात्रै आएकोजस्तो देखिएको हुन सक्छ ।

ज्यान गुमाउनुअघि आरडिटी परीक्षण गरिएको र मृत्युपछि मात्रै पिसिआर परीक्षण गरेर कोरोना पुष्टि गरिएको देखियो । त्यस्ता सबै व्यक्तिमा सुरुमै पिसिआर परीक्षण गर्ने क्षमता हामीसँग छैन ?

कोरोनाकै कारण मान्छेको ज्यान गएको भनेर पनि नबुझौँ । कोरोनाको सङ्क्रमणभन्दा पहिले पनि मान्छेहरुले ज्यान गुमाएकै थिए । अहिले कोरोनालाई मात्रै मुख्य कारक मान्ने कुरा चाँहि अलि न्यायोचित नहुन सक्छ । केहीमा भने मृत्युपछि कोरोना परीक्षण गरिएको चाहिँ सत्य हो । त्यसलाई हाम्रा प्राविधिक समितिहरुले अनुसन्धान गरेर थप सशक्त ढङ्गले अघि बढ्दै छौँ । हामीसँग भएका नीति निर्देशिकाअनुसार काम गर्ने हो हामीले । उपचार र परीक्षणमा खटिएका साथीहरुको सुझाबका आधारमा परीक्षण गर्ने नीति र निर्देशिकाहरु परिमार्जन गर्दै लगिराखेका छौँ ।

सुर्खेतककै युवाको कुरा गरौँ । भारतबाट नेपाल आएपछि २ पटक आरडिटी परीक्षण भयो र रिपोर्ट नेगेटिभ आयो । हिँडेर घर पुगेका उनको मृत्युपछि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यस्तो किन ? 

त्यस घटनाको विस्तृत विवरण आउन बाँकी भएकोले अहिले बोल्न अलि हतार हुन्छ भन्ने मलाई लाग्छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइको आधारमा मात्रै सबैकुरा भनिहाल्नु हतार हुन्छ । यस विषयमा अध्ययन गरेपछि मात्रै जवाफ दिउँ कि जस्तो लाग्यो ।

ज्यान गुमाएपछि मात्रै पिसिआर परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्ने प्रवृत्ति हेर्दा पहिले नै परीक्षण गर्न हाम्रो क्षमताले धान्न नसकेको हो या हामीले काम गर्ने शैलीलाई परिवर्तन गर्न नसकेको ?

आरडिटी र पिसिआरसँग जोडिएका घटनाहरु खासै धेरै छैनन् । छिटपुट एक दुईवटा घटना छन् । जतिपनि मृत्यु भएका छन्, ती सबैलाई कोरोनासँ जोड्ने कि नजोड्ने भन्ने मुख्य कुरा हो । प्राविधिक पक्षको सुधारका लागि हामीले निर्देशिकाहरु सुधार गर्दैछौँ । त्यसमा हाम्रा प्राविधिक विशेषज्ञहरुले काम गर्दै हुनुहुन्छ । जहाँसम्म मृत्यु भएपछि नमुना लिने र रिपोर्ट सार्वजनिक गर्ने विषयहरु छन्, त्यसलाई गम्भीर ढङ्गले लिएर अघि बढ्नेछौँ ।

गम्भीर प्रकृतिका बिरामीको सुरुमै आरडिटी परीक्षण नगरी पिसिआर परीक्षण गरेर अघि बढ्न केले छेक्छ ?

गम्भीर समस्या हुनेहरुका लागि निर्देशिकाअनुसार परीक्षण गर्छौँ । नगर्ने भन्ने होइन । आरडिटी र पिसिआरले मापन गर्ने फरक हो । पिसिआरले शरीरमा सक्रिय भाइरस छ कि छैन भनेर मापन गर्छ । आरडिटीले भाइरससँग लड्न सक्ने क्षमता विकास भएको छ कि छैन भनेर मापन गर्ने हो । आरडिटीले भाइरस परीक्षण गर्ने होइन । क्वरेण्टीनमा रहेकाहरुको आरडिटी परीक्षण गर्नु भन्नुको अर्थ शरीरमा लड्ने क्षमता विकास भएको छ कि छैन भनेर जाँच गर्नु हो ।

त्यसो भए आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई कसरी विश्वस्त बनाउनुहुन्छ ? त्यसो भए उनीहरुमा कोरोना छैन भन्ने आधार छैन ?

क्वरेण्टीनमा केही दिन बसिसकेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो भने पहिले पनि कोरोना थिएन भनेर बुझ्नुपर्छ । विज्ञानले अहिलेसम्म त्यही बुझाएको छ र हामीले पनि त्यहीअनुसार हिँडेका छौँ । क्वरेण्टीन खाली गर्ने क्रममा त्यो लटमा भएका व्यक्तिहरुमध्ये कसैको आरडिटी रिपोर्ट पोजेटिभ आयो भने त्यो व्यक्तिको सम्पर्कमा को को आएका हुन् भन्ने पहिल्याएर सबैको परीक्षण गर्ने गरेका छौँ । आरडिटी भनेको कोरोना छ कि छैन भन्ने जाँचभन्दा पनि लड्न सक्ने क्षमताको पहिचान गर्ने प्रणाली हो भन्ने बुझौँ ।

आरडिटीले कोरोना परीक्षण नगर्ने हो भने यसको उपलब्धि के भन्ने कुरा पनि आएको छ ? 

यो कुरा हामीले बुझाउन नसकेको पनि हुन सक्छ । किनभने यो प्राविधिक विषय हो । सर्वसाधारणले यस्ता प्राविधिक विषय अलि धेरै नबुझ्न पनि सक्छन् । नेपालमा पहिले पनि आरडिटी परीक्षण हुने गरेको थियो । मलेरियालगायतका रोगमा अहिले पनि हामीले परीक्षण गरिरहेकै छौँ । 
हाम्रो स्रोतसाधन अलिकता कम भएको, भौगोलिक हिसाबले कठिन भएका ठाउँ र गाउँघरमा महँगो मूल्य पर्ने पीसीआर ल्याबहरु पुर्याउन समस्या छ । त्यसमा पनि पिसिआरका लागि आवश्यक पर्ने सामग्रीहरुको अभाव छ । त्यो अलि धेरै महँगो पनि छ । अत्याधुनिक मेसिनहरु सबै ठाउँमा पुर्याउन हामीले धेरै नै सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले आरडिटीमा नै जोड दिएका छौँ । समुदायको अवस्था के छ भनेर नाप्ने काम आरडिटीले गर्ने हो । 

धेरै व्यक्तिले क्वरेण्टीनमै ज्यान गुमाइरहेका छन् । यस्तो किन भइरहेको छ ?

हाम्रो देशमा रहेको कोरोना पुष्टिको तथ्याङ्कलाई राम्रोसँग मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जुन काम हामीले गरिरहेका छौँ र त्यसलाई नजिकैबाट हेरेका छौँ । धेरै विज्ञहरुको सल्लाह पनि लिइरहेका छौँ । देशभित्र कोरोना पुष्टि भएका व्यक्तिहरुमध्ये कति प्रतिशत क्वरेण्टीनमा रहेका छन् भनेर हेर्ने हो भने सबैभन्दा ठूलो सङ्ख्या त्यही नै छ । कोरोनाकै कारणले क्वरेण्टीनमा ज्यान गुमाएको हुन सक्ला । त्यो छानबिनकै विषय हो । तर अरु कारणले पनि मानिसहरुको ज्यान गएको हुन सक्छ । उनीहरुलाई पनि कोरोनासँग जोडिएर हेर्ने गरिएको छ ।

हाम्रा क्वरेण्टीनहरु गुणस्तरीय भएन कि ? त्यसको पूर्वाधार विकासमा अलि ध्यान दिनुपर्ने हो कि ? हामीले यस्ता विषयमा कति ध्यान दिन सकेका छौँ ?

क्वरेण्टीनबारे हामीले विशेष ध्यान दिएका छौँजस्तो लाग्छ । जतिपनि पोजेटिभ ‘केस’ देखिएका छन्, धेरैजसो क्वरेण्टीनमै देखिएका छन् । जति प्रेसर छ, क्वरेण्टीनमै छ । खरिपाटीकै मोडलमा गाउँगाउँमा क्वरेण्टीन बनाउन नसकिएको पक्कै हो । तर त्यसो भन्दैमा सबै क्वरेण्टीन खत्तम छन् भन्ने होइन । 
केही क्वरेण्टीनलाई सुधार गरेर अघि बढ्दैछौँ । क्वरेण्टीन सुधारकै लागि विभिन्न निर्देशिकाहरु पनि बनाइएको छ । त्यहाँ हुनुपर्ने आधारभूत कुराहरु कसरी व्यवस्था गर्ने भन्नेबारे काम गर्दैछौँ । सम्बन्धित ठाउँमा भएका क्वरेण्टीन सुधार गर्न त्यहाँका जनप्रतिनिधि र सबै जना लाग्नुपर्यो । 

ज्यान गुमाएपछि कोरोना पुष्टि हुने, क्वरेण्टीनमा ज्यान जाने र मृत्युपछि पिसिआर परीक्षण हुनेजस्ता घटना अबका दिनमा दोहोरिन नदिन सरकारी तयारी कस्तो छ ?

त्यस्ता समस्या समाधानका लागि हामीले परीक्षणलाई तीव्रता दिने काम गरिरहेका छौँ । परीक्षण ल्याबहरु थप गर्दैछौँ । भएका प्रयोगशालामा नमुनाहरु ‘क्यू’मा नराख्ने हिसाबले काम गरिरहेका छौँ । हामीले धेरै नमुना सङ्कलन गरिरहेका छौँ । यसले पनि ‘क्यू’मा बस्नुपर्दा केही समस्या भएको हुन सक्छ । यसलाई छिट्टै सुधार गर्नेगरी हामी लागिरहेका छौँ ।

सरकारले हामी गरिरहेका छौँ, लागिरहेका छौँ, गर्दैछौँ भन्ने आश्वासन दिएर मात्रै बसिरहेको छ भन्ने आम नागरिकमा आक्रोश छ । यस विषयमा के भन्नुहुन्छ ?

सरकारले लागिरहेका छौँ भन्नेमा मात्रै सिमित भएको भए देशभरमा प्रयोगशालाको सङ्ख्या २० वटा पुग्ने थिएन । पुग नपुग २ लाखको हाराहारीमा परीक्षण पक्कै हुँदैन थियो होला । विभिन्न अस्पतालको सुधार हुँदैन थियो होला । अहिले जतिपनि क्वरेण्टीनहरु बनेका छन्, ती सबै बन्ने थिएन होला । हाम्रै मिहिनेतले अहिले धेरै कुरामा सफलता हासिल गरिरहेका छौँ । कसरत नगरेको भए आज हामी अरु देशकोजस्तै अवस्थामा रहन्थ्यौँ होला । अवस्था भयावह भइसक्थ्यो होला ।

अन्तिम अपडेट: चैत १४, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया