आकाशे पानी संकलन : तिर्खा पनि मेटिने, पैसा पनि बच्ने

 जेठ २७, २०७७ मंगलबार ८:१९:११ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ स्वयम्भूकी सानुमैया महर्जनले २२ वर्ष अघिदेखि  आकाशे पानी संकलन गर्दै आउनुभएको छ । यसरी संकलन गरिएको पानी पिउनदेखि घरायसी अन्य कामका लागि समेत प्रयोग भैरहेको छ ।  

वि.सं. २०५५ सालतिर  उहाँले थोरै मात्रामा पानी संकलन गर्नुहुन्थ्यो । संकलित पानी ५-६ महिनाका लागि मात्र हुने गथ्र्यो । तर एक वर्ष अघिदेखि भने उहाँले संकलन गर्नुभएको पानी १० महिनाभन्दा धेरैलाई पुग्ने गरेको छ ।

सानुमायाले वर्षमा ८० देखि ९० हजार लिटर पानी संकलन गर्नुहुन्छ । आफूलाई मात्र होइन घरमा भाडामा बस्ने सबैलाई त्यही पानीले पुग्ने गरेको बताउनुहुन्छ । “आफूलाई मात्र भए धेरै पनि हुन्थ्यो । २-३ वटा फ्याल्टमा बस्नेलाईसमेत त्यही पानी वितरण गर्दा पनि दुई महिनालाई मात्र पिउने पानी किन्नुपरेको छ’ उहाँ भन्नुहुन्छ ।

पानी संकलन गर्नका लागि सबै कुराको व्यवस्थापन गर्न सुरुमा अलि झण्झटिलो हुन्छ । तर एक पटक रिर्जभ ट्याङकी लगायतका सबै व्यवस्था गरेपछि भने त्यति गाह्रो हुँदैन । उहाँसँग पहिला  २८ देखि ३० हजार लिटरको रिजर्भ ट्याङकी थियो भने अघिल्लो वर्षदेखि ८० हजार लिटरभन्दा धेरैको रिजर्भ ट्याङकी छ । 

आकाशबाट परेको पानी सिधै ट्याङ्कीमा जम्मा गर्ने भने होइन ।  आकाशबाट परेपछि त्यसलाई छान्ने, फिल्टर गर्ने क्लोरिन गर्ने गरेपछि मात्रै राख्नुपर्छ । नत्र भने एक, डेढ हप्तामै पानी फोहोर हुने, पहेलो देखिने र गड्यौँला समेत पर्ने सक्ने उहाँ बताउनुहुन्छ ।  

पानी जीवनको लागि निकै महत्वपूर्ण भएको र पानीलाई बचाउनेतर्फ हाम्रो ध्यान जानुपर्ने सानुमाया बताउनुहुन्छ । आकाशको पानी मात्रै होइन सानुमायाले घरायसी कामका लागि प्रयोग गरिसकेपछिका फोहोर पानी पनि संकलन गर्नुहुन्छ । यस्तो पानी करेसाबारीमा प्रयोग गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘कपडा धुँदा, नुहाउँदा पनि धेरै पानी खेर जान्छ । त्यसलाई सदुपयोग गर्न सकिएमा आफैँले उब्जाएको तरकारी पनि खान पाइन्छ, अनि पानीको पनि सदुपयोग हुन्छ ।’ 

महर्जनको माइती बसन्तपुरमा पानीको दुःख थिएन । २०५५ सालमा नै विवाह गरेर स्वयम्भू घरमा जानुभयो । माइतीमा हुँदा मज्जाले पानी प्रयोग गर्ने बानी र प्रशस्त पानी भएकाले  घरमा भएको पानीको अभाव र समस्यामा धेरै दिन रहन सक्नुभएन ।  त्यसपछि श्रीमानको सहयोगमा आकाशको पानी संकलन गर्न थाल्नुभयो । 

काठमाण्डौकै सुनिल शाक्यले पनि गएको वर्षदेखि आकाशको पानी संकलन सुरु गर्नुभएको छ । लाजिम्पाटमा रहेको होटलमा प्रयोग गर्नका लागि उहाँले पानी संकलन सुरु गर्नुभएको हो । उहाँले गएको वर्ष ५० हजार लिटर पानी संकलन गर्नुभयो ।  त्यो पानी उहाँले होटलमा प्रयोग गर्नुहुन्छ । पहिला उहाँले इनारबाट र कहिलेकाहीँ ट्याङकरको पानी प्रयोग गर्दै आउनुभएको थियो ।

जमिनमुनिबाट पानी निकाल्दा एक लिटरबापत २५ पैसा पर्न जान्थ्यो भने ७ हजार लिटरको ट्याङकरबाट ल्याइएको पानीलाई २ हजार जति तिर्नुपथ्यो ।  अहिले उहाँको त्यो सबै पैसा बचेको छ । 

भक्तपुरको वडा नम्बर ८ लिवालीमा भने सामुदायिक स्तरबाट नै आकाशे पानी संकलनको काम भएको छ । २०७३ सालदेखि पानी संकलनको काम सुरु भएको हो । संकलित पानी ६७ परिवारलाई वितरण हुने गरेको लिवाली गणेश ट्याङ्की निर्माण समितिका अध्यक्ष नारायण खाईटुले जानकारी दिनुभयो ।

गुथी सँस्था, भक्तपुर नगरपालिका र खानेपानी बोर्डकोसमेत गरी ४३ लाख रुपैयाँमा  आकाशे पानी संकलनको व्यवस्था गरिएको हो । पहिला लिवालीमा  खानेपानीका  लागि पाइप नभएकाले स्थानीयहरु टाढाटाढा गएर पानी ल्याउन बाध्य थिए । अहिले भने उनीहरुका लागि निक्कै सजिलो भएको खाईटुले बताउनुभयो । 

आकाशे पानी संकलन गर्ने तरिका 

आकाशे पानी संकलन गर्नका लागि ट्याङ्की बनाउनुपर्छ । त्यसका लागि साढे २ देखि ५ मिटर गहिरो र १ दशमलव ५ देखि ३ मिटर चौडाइको खाल्डो खन्नुपर्छ । खाल्लोको फेदमा पानी छान्नका लागि ३० सेन्टिमिटर ढुङगाको टुक्रा र बालुवाको चोक्कर राख्नुपर्छ । खाल्डोको माथि इँटा पनि राख्नुपर्छ । यसमा अरु प्राविधिक वा जानकारको सहयोगमा आवश्यक जानकारी पनि लिन सकिन्छ ।  
                
         


आकाशेपानी संकलन पानीको अभाव टार्ने उत्तम उपाय 

सानुमाया, सुनिल र नारायणले भने जस्तै आकाशे पानीको प्रयोग गर्ने हो भने मेलम्ची कुर्दै तड्पिएर बस्नु नपर्ने खानेपानी विज्ञ प्रकाश अमात्य बताउनुहुन्छ । प्रदुषित पानीको प्रयोगका कारण हजारौँ मानिसको ज्यान जाने तथा विभिन्न रोगको शिकार बन्नुभन्दा आकाशे पानीको सदुपयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

लामो समयदेखि मेलम्चीको पानी आउने आशामा बसेका काठमाण्डौंका नागरिक अहिले निराश छन् । अझै कति समय लाग्छ पानी आउनका लागि त्यो पनि भन्न सकिने अवस्था छैन । तत्काल आइहाले पनि सबैलाई पुग्ने देखिँदैन । 

मेलम्ची खानेपानी आयोजनाले प्रकाशित गरेको तथ्याङ्कअनुसार काठमाण्डौ उपत्यकामा वर्षको १० प्रतिशत पानीको माग बढ्ने गरेको छ । यस्तो अवस्थामा आकाशको पानी संकलन गर्ने हो भने हतास र निराश हुन नपर्ने उहाँको भनाई छ ।  

काठमाण्डौ मात्रै होइन, पानीका श्रोतहरु प्रशस्त नभएका अरु ठाउँहरुमासमेत आकाशे पानीको संकलन निकै उपयोगी भएको अमात्य बताउनुहुन्छ । आकाशेपानीको संकलनको लागि निजी तथा सरकारी निकायहरुलेसमेत पहल गर्नुपर्ने उहाँको सुझाव छ ।  

आर्थिक बचतका लागि आकाशेपानी 

आकाशे पानी संकलनको प्रक्रियालाई व्यापक रुपमा प्रयोग गर्न सकेमा ठूलो मात्रामा आर्थिक बचत हुने देखिन्छ । खानेपानी संस्थानलाई  काठमाण्डौमा मात्रै १ दशमलव ४ अर्ब घनमिटर शुद्ध पानी आपूर्ति गर्नुपर्ने जिम्मेवारी छ । यो सबै पानी जमिन मुनिबाट नै निकाल्ने हो ।

अहिलेको  खानेपानीको महसुल एक हजार लिटरको ४ रुपैयाँको दरले वर्षमा ५ दशमलव ६ अर्ब रुपैया खर्च हुन्छ । अहिले आपूर्ति भइरहेको पानीलाई ५० प्रतिशत आकाशे पानी सकलन गर्ने हो भने २ दशमलव ८ अर्ब रुपैयाँ बचत हुन्छ । यसबाट जमिनमुनिको र जमिनमाथिको पानी केही हदसम्म सदुपयोग हुन्छ ।  

डिप बोरिङभन्दा आकाशे पानी उपयुक्त

काठमाण्डौ उपत्यकामुनिको जलभण्डारबाट मात्रै  दैनिक ७ करोड पानी निकाल्ने गरिएको छ । पछिल्लो समय सामान्य रुपमा गाडिएका बोरिङबाट पानी आउन छोडेको धेरैको गुनासो छ । जमिन मुनीबाट पानी आउन छोडेपछि ट्याङकरको पानी किन्ने क्रम बढेको छ ।

सजिलै पानी आउन छोडेपछि ट्याङकरको पानी ढुवानीकर्ता झन् थप डिप बोरिङतर्फ आकर्षित भएका छन् । यसले गर्दा भूमिगत जलभण्डारमा पानीको मात्रा घट्दै गएको छ । पानीको मात्रा घट्दै गएपछि पानीमा रासायनिक प्रतिक्रियामार्फत् फलामको मात्रा बढ्दै गएको पानी विज्ञहरुले बताउँदै आएका छन् ।

त्यसमाथि अव्यवस्थित शहरीकरणका कारण जथाभावी फोहोर थुपार्ने र ढलको बिना उपचार विसर्जन गर्ने परिपाटीले पानी प्रदुषित बन्दै गएको छ । मानिसमा विभिन्न किसिमका महामारीको जोखिम समेत हुने देखिएको छ । डिप बोरिङबाट निकालिएर प्रयोग गरिएको पानी घातक बन्दै जाने हुनाले विकल्पको रुपमा आकाशे पानीको प्रयोग गर्नुपर्ने देखिन्छ । 

नेपालमा केही अभियन्ता र विज्ञहरुले आकाशे पानीको प्रयोग र प्रवर्द्धन गराउनका लागि ध्यानाकर्षण गराउँदै आए पनि सरकारी तवरबाट प्राथमिकताका साथ योजना बनाएर अगाडि बढेको पाइँदैन ।

आकाशे पानी संकलनलाई सरकारीस्तरबाटै प्रभावकारी बनाउन सके एकातिर बर्सेनि खानेपानी व्यवस्थापनको लागि खर्च भइरहेको अर्बौं रकम बचत हुने देखिन्छ भने अर्कोतिर नागरिकले १ गाग्री पानीका लागि रातभर लाइन लाग्नुपर्ने बाध्यता पनि रहँदैन । 

काठमाण्डौमा मात्रै हरेक वर्ष ९ वटा टुँडिखेल जत्रो क्षेत्रफल अर्थात् तीन हजार रोपनी जग्गामा घर बन्ने गरेको छ ।  यस्तो  अवस्थामा आकाशबाट परेको पानीको सदुपयोग नै सबैभन्दा उत्तम उपाय भएको आकाशे पानी विज्ञ प्रकाश अमात्यको भनाई छ ।

काठमाण्डौमा अहिले प्रयोग भइरहेको सतही पानीको स्रोतबाट १४ करोड लिटर र मेलम्ची खानेपानी आयोजना अरु केही खोलाबाट ल्याइने ५१ करोड लिटर पानी गरी ६५ करोड लिटर पानीले तत्कालको माग समेत धान्न सक्ने अवस्था छैन भने दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने त कुरै भएन ।  

यस्तो अवस्थामा विशेषगरी नेपालको शहरी लगायत केही ग्रामिण क्षेत्रमा देखिएको खानेपानीको समस्या आकाशे पानी संकलन र प्रशोधन समाधान हुनसक्ने देखिन्छ । यसको लागि सरकारी तथा निजी क्षेत्रहरुको पहलकदमी आवश्यक छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया