ओमानबाट नेपालीको स्वदेश फिर्ती : दुई उडान निश्चित, सरकारले तोकेभन्दा २५ हजार ८ सय सस्तो भाडादर

 जेठ ३०, २०७७ शुक्रबार ११:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले गएको बुधबार विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भाडा दर र उडान तालिका सार्वजनिक गर्‍यो ।

त्यसको अघिल्लो दिन मंगलबार साँझ नै ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको पहिलो उडान असार १ गते सलाम एअरमार्फत हुने भन्दै भाडादर पनि सार्वजनिक गर्‍यो ।

सरकारले ओमानबाट चार्टर्ड जहाजमा नेपालीलाई ल्याउनका लागि ५१० अमेरिकी डलर अर्थात आजको विनिमय दरअनुसार ६२ हजार ३ सय रुपैयाँ तोक्यो ।

अघिल्लो दिन मात्रै दूतावासले जारी गरेको सूचनामा सलाम एअरमार्फत नेपालीको स्वदेश फिर्तीका लागि ११५ ओमानी रियाल अर्थात आजको विनिमय दरअनुसार ३६ हजार ४८६ रुपैयाँ भाडादर तोकिएको छ ।

दूतावासले सालाम एअरमार्फत नै प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीका लागि दोस्रो उडान पनि तय गरेको छ । जुन २१ अर्थात असार ७ गते उडान हुने तय भएको छ ।

यस उडानमार्फत नेपाल फर्कने नेपालीको लागि पनि भाडा भने ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४८६ रुपैयाँ नै तोकिएको छ । यो उडान पनि सलाम एअरले नै भर्नेछ ।

सरकारले ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार ४ र ७ गते उडानको तालिका तय गरेको छ । नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससँगै अन्य विदेशी जहाजमार्फत नेपालीको स्वदेश फिर्ती गराउने सरकारको योजना छ । तर अहिले समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि सरकारले तोकेको भाडादरमा धेरै श्रमिकले असन्तुष्टि जनाइरहेका छन् । यहीबेला ओमानमा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भने सरकारले तोकेको दरभन्दा निकै सस्तोमा भाडादर तय भएको छ । 

स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले आफूलाई पायक पर्ने तोकिएको ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया